सिड्नी । वैदेशिक शिक्षाको व्यापार अपार हुँदै जाँदा यसका गुण र अवगुणको फरकखाले व्याख्या हुन थालेका छन् ।
नेपालबाट अनेक सपना बोकेर उच्च अध्ययन गर्न आएका विद्यार्थीहरूका संघर्षका कथा व्यथाहरू छन्, अस्ट्रेलियामा । “भिसा लाग्दा भोज गर्नेहरू अनेक सपना देखियो, तर यहाँ अर्कै संसार रहेछ,” अष्ट्रेलियामा अध्ययनरत विद्यार्थीहरूको धारणा यस्तै रहन्छ ।
समुद्रका मनमोहक दृश्य र गगनचुम्बी भवनसँगै खिचेका तस्बिर देखेर विदेशिन रहर गर्नेहरू अष्ट्रेलियामा पीडा पोख्दै गरेको दृश्य पनि धेरै देखिन्छन् । हाल करिब ८० हजार नेपाली विद्यार्थी अष्ट्रेलियामा अध्ययनरत छन् ।
अष्ट्रेलिया आएका नेपालीमा ‘डिप्रेसन’को ठूलो समस्या देखिन थालेको छ ।
सन् २०१५ देखि २०२३ भित्र करिब चारदर्जन नेपालीले अष्ट्रेलियामा ज्यान गुमाएको नेपाली राजदूतावास क्यानबेराको तथ्यांकले देखाउँछ । त्यसमध्ये आधाभन्दा बढी संख्या आत्महत्याकै रहेको छ ।
केही जीवनबाट बिरक्तिएर त केही विकृति–विसंगतिमा परेर आत्महत्या गरेको देखिन्छ । कतै लागू पर्दाथको शिकार हुने त कहीँ ट्रेनको लिकमा हिँड्ने त कतै गगनचुम्बी भवनबाट हामफालेका घटना देखा परेका छन् ।
अध्ययनसँगै रोजगारीका समस्या अनि व्यस्त जीवन र एक्लोपन अनि अभावका अनेकन पाटाले निराश बनाएको हुन्छ । आत्महत्या क्षणिक आवेग हुन सक्ला, तर सामान्यतयाः यो विरक्तताको शृङ्खलाको उच्च बिन्दु हो ।
एनआरएन केन्द्रीय सचिव डा. ज्ञानेन्द्र रेग्मी भन्छन्, “हुन सक्छ एक्लो जीवन, भिसासम्बन्धी अनिश्चय, आर्थिक बोझ जस्ता कारणले हदैसम्म नैराश्यतामा धकेलेको पनि हुन सक्छ ।”
उनी थप्छन्, “कति अवस्थामा ‘डिप्रेसन’ पनि जिम्मेवार हुन्छ । फेरि ‘डिप्रेसन’ तनावले गर्दा नै हुन्छ पनि भन्न मिल्दैन । तनाव नभएको व्यक्तिलाई पनि ‘डिप्रेसन’ भएको हुन्छ । आत्महत्याका अन्य कारण पनि हुन्छन् । व्यक्ति व्यक्ति पिच्छे फरक–फरक कारण हुन सक्छ ।”
विदेश पठाउँदैमा अभिभावकको दायित्व सकिने र विदेश आउँदैमा छोरा–छोरीले पढाइ र पैसा कमाउने सोचले गाजेका कारण उतारचढावमा पर्ने गर्छन् । एनआरएन अस्ट्रेलियाका कोषाध्यक्ष अर्जुन गौतम तनाव, नैराश्यता र खिन्नता सम्बोधन गर्न नसक्दा युवा पिँढी मानसिक रोगको शिकार हुने बताउँछन् ।
फरक भौगोलिक सामाजिक परिवेश र अध्ययन अनि अध्यागमनको नीति–नियमका साथै स्थायी बसोबासका उच्च महत्वकांक्षाले चिन्ता र तनाव बढाउने गरेको पाइएको गौतमले बताए ।
उता एनआरएन न्युसाउथवेल्सका सचिव कल्याण खड्का भन्छन्, “के हामीले हाम्रा विदेशिएका आफन्तहरूसँग स्नेहपूर्ण वार्तालाप गरेका छौं ? उनीहरूको विदेश बसाइँ कस्तो छ, कतै उनीहरू त्यो भाग–दौडबाट थाकेका पो छन् कि ! आपसी समन्वय र सद्भावले पनि जिउने शक्तिमा धेरै ऊर्जा भर्न सक्छ ।”
उनको भनाइमा ‘निरन्तर सम्पर्क, सहानुभूति, हौसला अनि मार्गदर्शन र आत्मीय बोली वचनले पनि अप्रिय घटना हुनबाट जोगाउन सकिन्छ । के हामी आफैँ विदेशमा छौं, अनि विरक्तिएका छौं भने आफन्त नत्र साथीभाइसँग समस्याका विषयमा विचार विमर्श गरौं । जीवनबाट हरेस खाने कुरालाई मनबाट निकालौं ।’