संयुक्त राष्ट्रसंघको मौसम, जलवायु र पानीसम्बन्धी समस्याहरूको लागि जिम्मेवार निकाय 'विश्व मौसम विज्ञान संगठन' (वर्ल्ड मेटेरोलोजिकल अर्गनाइजेसन (डब्लुएमओ) द्वारा अप्रिल २३ मा प्रकाशित प्रतिवेदनअनुसार मौसम, जलवायु र जलजन्य प्रकोपबाट विश्वको सबैभन्दा बढी प्रभावित क्षेत्र एसिया हो । प्राकृतिक प्रकोपको सबैभन्दा बढी जोखिममा रहेको एसिया महादेश चक्रवातबाट पनि सबैभन्दा बढी जोखिममा छ । विज्ञहरूले दुई वर्षअघि ट्रपिकल आँधीको सबैभन्दा तीव्र स्वरूपको 'सुपर साइक्लोन'ले आउँदा वर्षहरूमा दक्षिण एसियामा अझ बढी विनाशकारी प्रभाव पार्ने जोखिम रहेको खुलासा गरेका छन् ।
सन् २०२० को मे महिनाको १६ तारिखमा बंगालको खाडीमा अम्फान नामक चक्रवात सुरु भयो र ६ दिनमा नै त्यो चक्रवात भारतीय उपमहाद्विपमा उच्च कोटीको चक्रवाती तुफान बन्न पुग्यो । यति विध्वंशकारी भए पनि भारत र बंगलादेश सरकारले करिब पचास लाख मानिसलाई सफलतापूर्वक सुरक्षित स्थानमा सारे । उक्त दुःखद प्राकृतिक बिपद्मा मृत्यु हुनेको संख्या पहिलेका चक्रवातहरूको तुलनामा धेरै कम अर्थात् १२६ जनामात्र थियो ।
अम्फान चक्रवातभन्दा पचास वर्षअघि सन् १९७० मा आएको चक्रवातले भारत र बंगलादेशमा करिब तीन लाख व्यक्तिहरूको ज्यान लियो भने अम्फान चक्रवातभन्दा उनन्तीस वर्षअघि सन् १९९१ मा आएको चक्रवातले बंगलादेशमा करिब एक लाख पैंतालीस हजार जनाको ज्यान लियो ।
यी चक्रवातहरूको तुलनामा चार वर्षअघिको अम्फान चक्रवातको कारणले मृत्यु हुनेको संख्या न्यून हुनु र लाखौं व्यक्तिलाई सुरक्षित स्थानमा समयमा नै सफलतापुर्वक स्थानान्तर गर्न सक्नुमा सूचना तथा संचार प्रविधिको प्रयोगको प्रमुख भूमिका थियो । कोविड महामारीका बीच पनि प्रविधिको प्रयोगमार्फत सूचना व्यवस्थापनको सही उपयोग गरेर भारत र बंगलादेश सरकारले गरेको प्राकृतिक प्रकोप व्यवस्थापन उदारहणीय हुन पुग्यो ।
अम्फान चक्रवातको समयमा भारत, बंगलादेशलगायत देशले प्रविधिको प्रचुर प्रयोग गरे । संयुक्त राष्ट्रसंघको विश्व मौसम विज्ञान संस्थाले उच्चकोटीको संख्यात्मक मौसम भविष्यवाणी, बंगालको खाडीमाथि तीनवटा स्याटेलाइटमार्फत चौबीसै घन्टा चक्रवातको वस्तुस्थिति तथा मौसम राडार नेटवर्कमार्फत प्राप्त भएका सूचनाहरू भारत र बंगलादेश सरकारलाई सम्प्रेषण गरेको थियो । उक्त सूचना प्रयोग गरी बंगलादेश सरकारले प्रथमपटक नियमित तूफान वृद्धि पूर्वानुमान जारी गरेको थियो ।
भारतले आन्ध्र प्रदेशस्थित डोप्लर मौसम राडारद्वारा अम्फान चक्रवातको ट्र्याकिङ गरी उडिसा र पश्चिम बङ्गाल प्रदेश सरकारलाई सूचना प्रदान गरेको थियो । उक्त समयमा मौसमी डाटा तथा सुचनाको आधारमा भारतीय मौसम विभागले गरेको अवलोकन, मोडेलिङ्ग, भविष्यवाणी र विशेषज्ञताको प्रदर्शन उत्कृष्ट मानिन्छ ।
सूचना तथा संचार प्रविधि सामान्य प्रविधिमात्र हैन । यस प्रविधिले हामीलाई महाभारत महाकाव्यमा उल्लेख भएको संजय दृष्टि वा ग्रिक पूराकथाका प्यानोपटेस पात्र जस्तै 'दिव्य दृष्ट' (प्यानअपटिकन) क्षमता प्रदान गर्छ । यस प्रविधिले हामीलाई क्षितिजभन्दा पनि परको बस्तुस्तिथि अवलोकन गर्न मद्दत गर्छ । उदाहरणको लागि इन्टरनेट प्रोटोकलमा आधारित सीसीटीभीको मद्दतले हाम्रो सिमानाको प्रत्यक जंगे पिलरहरूको अवस्था केन्द्रस्थित कार्यालयमा नै रहेर हेर्न सक्छौँ ।
बंगालको खाडीबाट उठेको मनसुनी वर्षाको प्रत्येक चरणको अवस्था स्याटेलाइटमार्फत प्राप्त हुने डाटाबाट वर्षण, तापक्रम, हावाको वेग, आर्द्रता, दृश्यता, दबाब आदिको सचित्र विवरणले हामीलाई वस्तुस्तिथि अवगत गराउँछ । यस्ता सूचनाले हामीलाई मौसम परिवर्तनको अवस्थाको जानकारी दिने हो कहाँ कहाँ जमिन भासिन्छ वा कहाँ कहाँ बाढीले क्षति गर्छ भन्ने होइन । त्यसैले मौसमविद्हरूले सम्भावित प्रकोपको सूचना दिने हो । यहाँ पहिरो जान्छ, उहाँ पहिरो जान्छ भन्दैनन् भन्ने नीतिनिर्माताले बुझ्नुपर्छ ।
नेपालमा हालै आएको भीषण वर्षाबाट गएको बाढी र पहिरोले जनधनको क्षति हुनपुग्यो । जल तथा मौसम विज्ञान विभागले पाँच दिनअघि जारी गरेको भारी वर्षाको सम्भावनालाई सम्बन्धित निकायले सही समयमा उचित महत्त्व दिएको देखिएन । विपत् सूचना र तयारी प्रयासबीचको स्पष्ट अन्तर देखियो । यसले गर्दा प्रकोपसम्बन्धी जानकारी प्रभावकारीरूपमा सञ्चार हुनसकेन । त्यसको प्रत्यक्ष असर स्रोत साधनको अभाव खपी रहेको सुरक्षा निकायलगायत सम्बन्धित अन्य निकाय सक्रिय भए पनि सूचना र समन्वयको कमीका कारण प्रभावकारी हुन सकेनन् ।
यस सन्दर्भमा विपत् सूचना व्यवस्थापन प्रभावकारी बनाउन राष्ट्रिय विपत् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणमा दक्ष प्राविधिक र विशेषज्ञसहितको सूचना तथा संचार प्रविधिमा आधारित एकीकृत सूचना प्रणाली स्थापना गर्नुपर्ने देखिन्छ । राष्ट्रिय आपत्कालीन केन्द्रलाई आधुनिक प्रविधिबाट स्तरोन्नति गरी राष्ट्रिय विपत् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणको हाताभित्र उसकै प्रत्यक्ष मातहतमा राखेमा सूचना व्यवस्थापन प्रभावकारी हुन्छ ।
नेपाल प्रहरीको दैनिक इन्सिडेन्ट रिपोर्टलगायत वडा, जिल्लादेखि प्रदेश स्तरमा रहेका आपत्कालीन केन्द्रहरूबाट प्राप्त हुने सूचनालाई एकीकृत गरी दक्ष प्राविधिक र विशेषज्ञद्वारा अन्वेषण गर्न मिल्ने वातावरण बनाई विज्ञहरूबाट प्राप्त हुने मौसमी पूर्वानुमानलाई महत्त्व दिने विपत् प्रतिकार्य योजना बनाउनुपर्ने देखिन्छ ।
राष्ट्रिय विपत् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणको पहलमा जोखिम उच्च रहेका नदीहरूमा प्रारम्भिक चेतावनी प्रणाली, राजमार्ग तथा जोखिम उच्च रहेका स्थानमा समयमै सूचना सम्प्रेषण गर्न जोखिम अलर्ट सम्प्रेषण प्रणाली जडान गरी कुनै पनि प्रकारको जोखिम सूचना तारन्तार प्रारम्भिक चेतावनी प्रणाली, रेडियो, टेलिविजन, टेलिफोन, माइकिङ्ग तथा सामाजिक संजालमार्फत् सम्प्रेषण गर्ने । जोखिम सूचना प्रणालीको अवस्था मूल्यांकन गर्न हरेक महिनाको एक दिन प्रारम्भिक चेतावनी प्रणालीमार्फत अलर्ट जारी गर्ने व्यवस्था गर्न उचित हुन्छ ।
जोखिम युक्त राजमार्गहरूमा सेन्सर नेटवर्क जडान तथा मानवरहित हवाई यान (द्रोण)हरूको प्रयोग गरी राजमार्गहरूको वस्तुस्थिति बुझ्न प्रयोग गर्नु पर्ने देखिन्छ । यसका साथै जोखिमयुक्त राजमार्गहरूमा संचालन हुने सार्वजनिक यातायातका सवारी साधनलाई ट्रयाकिङ प्रणालीमार्फत् निगरानी गर्ने व्यवस्था गर्नुपर्ने देखिन्छ ।
गत असोज १६ गते प्रधानमन्त्री केपी शर्मा ओलीले पत्रकार भेटघाट कार्यक्रममा सरकार यस्तो प्रकारको प्रकोपको तयारीमा नरहेको स्पष्ट पारे । उनको भनाइले प्रस्ट बुझिन्छ - सरकारी संयन्त्रहरूमा प्राकृतिक प्रकोपले आश्चर्य र गैररेखीयताका तत्त्वहरूसहित महत्त्वपूर्ण स्थानकालिक (स्पासियो-टेम्पोरल) सन्दर्भहरू समावेश गर्छन् भन्ने ज्ञान छैन ।
लामो समयदेखि थपिँदै आएको जोखिमहरू कुनै एउटा प्रकोपमा प्रकट हुन पुग्छन् जसले गर्दा जोखिमहरू प्रणालीगत (सिस्टेमिक) हुन्छन् । यस अवस्थामा जोखिमको चरम प्रभाव पर्न सक्छ । उदाहरणको लागि वर्षौंदेखिको आन्तरिक आप्रवासनले काठमाडौंका खोलानालाको किनारमा भएको अतिक्रमणले दैनिक जीविकोपार्जनमा प्रत्यक्ष असर गरेको देखिएको छ । यसैगरी चरम जलवायु घटनाहरूमा अनुमानित वृद्धि र बढ्दो अन्तरनिर्भर खाद्य आपूर्ति प्रणालीले विश्वव्यापी खाद्य सुरक्षाको लागि खतरा खडा गरेको छ । भीषण मौसमी परिवर्तनले कुनै एक अन्न उत्पादन गर्ने क्षेत्रमा असर गर्दा विश्वव्यापी खाद्यान्न बजारमा हलचल ल्याउँछ ।
बाढीपहिरोजस्ता विपत्बाट सुरक्षित रहन 'विपत् संस्कार' एक महत्त्वपूर्ण पक्ष हो । विपत् सूचनालाई राम्रोसँग ग्रहण गरे सुरक्षित भइन्छ भन्ने सोचको विकास गर्नुपर्ने देखिन्छ । नदीको किनारमा घर बनाएपछि बाढीले घर डुबानमा पर्न सक्छ । वर्षाको पानी निकासको व्यवस्था भएन भने कोलोनीमा घर भए पनि डुबानमा पर्न सक्छ भन्ने हेक्का त राख्नुपर्छ नि ! भाग्यको भरोसा भन्दै भारी वर्षा भइरहँदा विज्ञानमा आधारित मौसमसम्बन्धी विवरण हेर्ने हो कि आकाशतिर हेरेर काल्पनिक शक्तिलाई 'हे इन्द्र अब पानी बन्द गर' भन्ने हो ?
सनातनी तथा जड व्यवहार जन्य विपत् प्रतिकार्यले 'मल्टिपल बास्केट' विफलताको प्रभावलाई न्युन गर्न सक्दैन । प्रकोप अनुकूल विपत् प्रतिकार्य आजको आवश्यकता हो जुन आधुनिक प्रविधि र विपत् अन्वेषणमा आधारित सूचना व्यवस्थापनबाट मात्रै सम्भव छ ।
विपद सूचना प्रणालीका चार खम्बा प्रक्रिया, जनशक्ति, डाटा तथा प्रविधिलाई बलियो बनाई सूचना तथा संचार प्रणालीमा आधारित तत्क्षणमा विपत् सूचना प्राप्त हुने प्रणालीमार्फत् सबै सरोकारवालासँग प्रभावकारी सूचना समन्वय नै एकमात्र उपाय हो । सूचना तथा संचार प्रविधिमा आधारित प्रकोप प्रतिकार्य र जोखिम न्यूनीकरणका लागि थप प्रविधि आवश्यक पर्छ। सरकारी तथा स्थानीय निकायहरूलाई प्रविधि प्रयोग गर्न बजेट र दक्ष जनशक्तिको अभाव छ । तसर्थ सम्बन्धित निकायले सूचना प्रविधि रणनीति निर्माण गरी आवश्यक पर्ने स्रोत साधनको व्यवस्था गर्नुपर्छ ।
(हवाई विश्वविद्यालयबाट विपत् सूचना व्यवस्थापनमा विद्यावारिधि तथा नेपाल प्रहरीका पूर्व प्रहरी नायब महानिरीक्षक एवं संचार निर्देशनालयका पूर्वप्रमुख )