site stats
बाह्रखरी :: Baahrakhari
अन्तर्वार्ता
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
९५ प्रतिशत बिचौलिया देउवा, ओली र प्रचण्डका साझा छन्, ती ‘डेल्टा राजनीतिज्ञ’ भइसके  
Sidddhartha Bank Banner AdSidddhartha Bank Banner Ad

राजनीतिक विश्लेषक पुरञ्जन आचार्य राजनीतिमा ‘बिचौलिया प्रवेश’ र तिनको क्रियाकलाप बढ्दो अवस्थामा रहेको निष्कर्ष निकालेका छन् । ‘कोरोना भाइरस म्युटेड’ भएर ‘डेल्टा कोरोना’को रूप लिएझैँ बिचौलियाहरू ‘डेल्टा राजनीतिज्ञ’ भएर पार्टीहरू कब्जा गरिरहेका छन् । 

उनीहरूबाट राजनीतिको स्वाभाविक रूपान्तरण रोकिने र व्ययवस्थामा गम्भीर चुनौती खडा हुने उनको बुझाई छ । 

कांग्रेस–एमाले सरकारले आशातित आशा जगाउन नसक्नुको कारण उनले के देखिरहेका छन् ? बिचौलियाहरूको म्युटेड भर्सन ‘डेल्टा राजनीतिज्ञ’को प्रभावबाट राजनीतिलाई मुक्त राख्न सम्भव छ वा छैन ? नेपालको राजनीति कस्तो अवस्थामा अघि बढ्दैछ ? भन्ने विषयमा बाह्रखरीका रमेश वाग्लेले विश्लेषक आचार्यसँग कुराकानी गरेका छन् । प्रस्तुत छ आचार्यसँगको संवादको सम्पादित अंश :

KFC Island Ad
Dabur Nepal
NIC Asia

–कुनैबेला तपाईंले भन्नुभएको थियो, यो देशका ८५ प्रतिशत ‘बिचौलिया’ शेरबहादुर देउवा, प्रचण्ड र केपी शर्मा ओलीको साझा हुन्, अवस्था फेरियो कि त्यस्तै छ ? 

अब त, ९५ प्रतिशतमा पुगेको छ । अझ हिजोभन्दा अवस्था फरक छ । 

Royal Enfield Island Ad

पहिले बिचौलिया आफैंभित्र अल्झिएका थिए अब उनीहरू राजनीतिको मूलधारमा छन् । कुन बिचौलिया राजनीतिको मूलधारबाट बाहिर छन् र ? कि कांग्रेसमा छन्, कि एमालेमा छन्, माओवादीमा छन् । 

अब त तिनीहरू बिचौलिया बाँकी छैनन् । उनीहरू राजनीतिज्ञ भइसके । खाली उनीहरूले पेशा मात्र नछोडेका हुन् । अझ फराकिलो बनाएका हुन् ।

उनीहरू पार्टीको कोर निर्णय गर्ने ठाउँमा आइसके । 

संसदभित्र प्रवेश गरिसके । अब त उनीहरूलाई बिचौलिया भन्न पनि सुहाउँदैन । यति भन्न सकिन्छ, बिचौलियाहरू जो राजनीतिमा सक्रिय र निर्णायक छन्– उनीहरूले यो पार्टीलाई र देशको अवस्थालाई सजिलै पुनर्निर्माण हुन दिने छैनन् । 

–बिचौलियाहरू राजनीतिमा किन र कुन उद्देश्य पूर्तिका लागि आएका हुन् ? 

उनीहरू व्यवसाय सुरक्षित गर्न आएका हुन् । अझ उनीहरू आफ्ना लाभका निम्ति नीति–कानुन सहयोगी बनाउन सकिन्छ भनी राजनीतिमा आएका छन् । 

संसदीय समितिमा उनीहरू प्रभावशाली रहन्छन् । कर्मचारी प्रशासनले उनीहरूकै लागि अनुकूल भएर काम गरिदिएको छ ।  भोलि आइपर्दा सुरक्षा दिनसक्ने गरी अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा नियुक्ति भएका छन् । 

कथंकदाचित् अख्तियारबाट मुद्दा अघि बढिहाल्यो भने अन्तिम फैसला गर्ने ठाउँमा त्यही किसिमका मानिस नियुक्त गरिएका छन् ।
 
बिचौलियाहरूको एउटा यस्तो ‘इको सिस्टम’ बनेको छ, अब त बिचौलियाहरू ‘म्युटेड’ भएर राजनीतिज्ञ भइसकेका छन् ।  कोरोना भाइरस म्युटेड भएर ‘डेल्टा कोरोना’ भएजस्तो बिचौलिायाहरू म्युटेड भएर ‘डेल्टा राजनीतिज्ञ’ भइसकेका छन् । 

डेल्टा राजनीतिज्ञले आफ्नो छुट्टै ‘इको सिस्टम’ विकास गरेका छन् । तिनीहरूलाईै मूलधारका राजनीतिक पार्टीहरूले उत्तिकै माया र सम्मानसहितको संरक्षण दिएका छन् ।
 
–नेताहरूले उनीहरूलाई किन संरक्षण दिन्छन्, उनीहरूलाई विस्थापन गर्न सक्दैनन् ? 

ओली, प्रचण्ड र देउवाले नजिकका १० जना छान्नुपर्‍यो भने दुई वा तीन नम्बरमा त तिनै कारोबारी बिचौलिया परिहाल्छन् ।  यो डेल्टा राजनीतिले बनाएको ‘इको सिस्टम’ हाम्रो राजनीतिक प्रणालीका लागि खतरनाक छ ।

चाहेर पनि शेरबहादुर, केपी शर्मा ओली र प्रचण्डले आफूबाट उनीहरूलाई टाढा राख्न सक्छन् भन्ने मलाई लाग्दैन । किनभने मान्छेले हात थापेपछि टाउको त निहुराउनुपर्छ ।  पटक–पटक ब्रिफकेस समाउन हात थापिसकेपछि आफ्नो सारा संगठनलाई तिनीहरूको अनुकूलमा परिचालन गरिसकेपछि ‘नो’ भन्न त गाह्रो हुन्छ । 

–बिचौलियाको पञ्जामा राजनीतिको कुन–कुन तह छ ? 

केन्द्रदेखि स्थानीय तहसम्मै बिचौलिया कब्जामा परेको छ, राजनीति ।  राजनीतिक दलको यो प्रभावले सामाजिक प्रभाव विस्तार गरेको छ ।  

अब त युवाहरू मात्र होइन अभिभावकमा समेत गुण्डा बिचौलियाको प्रभाव देखिन थालेको छ । केही समयअघि म मोरङको एउटा गाउँमा पुगेको थिए । त्यहाँका आमाहरूको भनाइले म ‘शक्ड’ भएँ । 

एकजना आमाले भन्नुभयो– अब त केटाकेटीहरूलाई म पढाउदिनँ । ऊ त्यो गुण्डा यहाँको मेयर भएको छ । वडाध्यक्षहरू पनि त्यस्तै छन् । 

जो हिजो हामीकहाँ काम गर्थे । पछि गुण्डागर्दी, चोरी, डकैती गर्थे । तिनीहरू सानका साथ कार चढ्छन् । विराटनगर र काठमाडौंमा पनि घर बनाएका छन् । पढेर हाम्रो छोरो बिग्रियो ।

अभिभावकमा पढाएर भन्दा गुण्डा बनाएर राजनीतिमा छिटो उन्नति हुन्छ भन्ने सोच आउनु कति जोखिम पूर्ण होला ! उनीहरूले दुःख गरेर पढाएको हाम्रो छोरो निकम्मा भएर निस्कियो भन्दैछन् । त्यो ‘मेन्टालिटी’, म मोरङ, झापा र सुनसरी घुम्दा पाए । 

एउटा आमाले आफ्नो छोरा गुण्डा बनोस् भन्दैछ, यो एउटा खतरनाक अवस्था होइन र ? गुण्डा नभएर छोरा निकम्मा भयो भन्ने र आमा नै छोरालाई गुण्डा बनाउन तयार हुने अवस्था कसरी आयो ? 

–अब बिचौलिया नै राजनीतिमा निर्णयक भएपछि शासकीय सुधारको सम्भावना छ ? 

यो सिस्टममा सबैले ‘इन्जोय’ गरिसके । अलिकति राम्रो सचिव कुनै मन्त्रालयमा गयो भने उसले रिफर्म सुरु गर्न सक्छ । कर्मचारीतन्त्र अस्थिर हुनुपर्ने मुख्यकारण ‘डेल्टा राजनीतिज्ञ’ हुन् । 

बिचौलियाहरूबाट यस्तो प्रेसर आउँछ कि हात थापेको नेताले राम्रो सचिवलाई थेग्नै सक्दैनन् । बिचौलियाले भनेपछि ‘नो’ भन्ने सामथ्र्यमा नेताहरू छैनन् । 

यदि सामर्थ्य हुन्थ्यो त शेरबहादुरजीलाई आफू पढेको डडेलधुराका स्कुल राम्रो बनाउने इच्छा छैन होला ?  सार्वजनिक विद्यालय राम्रो भयो भने प्राइभेट स्कुललवालाहरू अप्ठेरासमेतमा पर्छन्, जसले नेताहरूलाई ‘अठ्याएर’ राखेका छन् ।

कोसी अञ्चल अस्पताल वा वीर अस्पतालले राम्ररी ‘डेलिभरी’ दिन थाल्यो भने यत्रा धेरै ‘फाइभ स्टार अस्पताल’ खुलेका छन् र मेडिकल कलेजहरू छन् तिनीहरू थ्रेटमा पर्छन् । त्यो थ्रेट नेताहरूसँग जोडिन्छ । 

मान्छेहरू के भन्छन् भने मेलम्ची बिगारेकै ट्यांकर व्यवसायी र यससँग जोडिएका शक्तिहरूले हो । 

ट्यांकर व्यवसायमा अधिकांश नेपालको ब्युरोक्रेसी जोडिएको छ भनिन्छ । हामी ३०औं वर्षदेखि मेलम्ची भनिरहेका छौं । तर, यसलाई सुधार्न कसले सक्छ ? बिचौलियाको चंगुलमा फसिसकेका नेताहरूले सक्लान् र ? बिचरा  !, तिनीहरूले यो नियन्त्रण गर्न खोजे भने आजको आइटीको जमानामा त्यसै मुक्ति देलान् बिचौलियाले ? 

कैयन कमजोरीहरू मोबाइलमा सेभ होलान्, कैयन् सम्बन्धहरू सार्वजनिक होलान् । त्यसै रातारात पहिलो पार्टीले दोस्रो पार्टीका अध्यक्षलाई प्रधानमन्त्री बनिदिनुस् भने होलान् ? 

puranjananaacharya-1696585856.jpg
 

–त्यसो भए, विरोधीहरूबाट जे–जे आरोप लगाएर वर्तमान सत्ता गठबन्धन बन्यो भनिएको छ त्यसमा आधार छ ? 

सार्वजनिक आरोपहरू सबै सत्य होलान् या नहोलान्, म त्यतातिर गइनँ । तर, जसरी ओलीलाई सत्ता हस्तान्तरण भयो, त्यो हठात् निर्णयले ती आरोपहरूलाई ठाउँ त दियो ।  उहाँले आफ्नो पारिवारिक टेन्सनको निकास ओलीजीमा देख्नुभयो भन्ने शंकालाई आधार प्रदान गर्छ । 

त्यो होइन भनी पुष्टि गर्न मैले शेरबहादुरजीलाई अनुरोध गरेको थिए । 

रमेश लेखकलाई उहाँले गृहमन्त्री नदिएको भए हुन्थ्यो, गृहमन्त्री दिइसकेपछि प्रहरी प्रशासनमा सरुवा नगरेको भए हुन्थ्यो ।  जो आरोप लगाइयो, त्यसको ‘सिक्वेन्सिक’ प्रभाव पनि देखियो नि त ! ओलीजी आएपछि रमेश लेखक

आउने र प्रहरी प्रशासनमा काम गरिरहेकाहरूलाई हटाउने मात्र नभएर कारबाहीको डण्डा चलाउन खोजियो । यसले म्यारिजको तीन ‘सिक्वेन्स’ जस्तो सिक्वेन्स बनाउन खोजेको देखियो । 

–त्यसो भए रास्वपाका नेताहरूले लगाएका आरोपमा आधार देख्नुहुन्छ ? 

ती आरोप निराधार पनि थिए होलान् । किनभने मलाई एकदिन घरैमा रास्वपाका उच्चै तहका नेताहरूले भटेका थिए । 

उनीहरूसँग मेरो ‘डिस्कर्स’ नै भयो । उनीहरूले के भने ‘हामी ‘फ्रेम’ गरेर भए पनि एक दिनका लागि मात्रै भए पनि आरजुलाई ‘जेल’ हाल्छौं । मैले लोकतन्त्रमा त्यसरी ‘टार्गेट’ गर्न पाइँदैन भनेको थिएँ ।
 
होला, कमी कमजोरी मान्छेहरूमा हुन्छन् । इस्यू छन् भने जुनसुकै तहका ब्यक्तिमाथि पनि ‘इन्भेष्टीगेसन’ हुनुपर्छ । तर, मसँग नै ‘टार्गेट’ गरेर तिमीलाई समातेर लगेर ‘ट्रायल’ गर्छु, कठघरामा उभ्याउँछु भन्नु भनेको त ‘टार्गेट’ हो नि । त्यसो गर्न पाइँदैन । राज्य सञ्चालनमा बसेर त्यसो गर्नु गलत हुन्छ भनेर मैले भनेको थिए । त्यसमा गरमागरम छलफल भएको थियो ।
 
मैले भनेको थिए, यो पूर्णतः गलत बाटो हो, यसलाई म स्वीकार गर्न सक्दिन । यो बाटोले तपाईंहरूलाई पतनमा पुर्‍याउँछ । उनीहरू त्यसरी लागेका थिए भन्ने बाहिर पनि आएको थियो, त्यसबेलै ।
 
तर, हठात सत्ता हस्तान्तरणको जुन प्रक्रिया देखियो त्यसमा बिचौलियाहरूको ‘कन्फन्ट्रेसन’को हात छैन भन्न सकिँदैन ।  

–शेरबहादुर देउवा र केपी ओली सहकार्यमा त्यस्तो नकारात्मक पक्ष के छ त ?  

शेरबहादुरजीले निर्वाचनपछि माओवादीलाई दिन्छु भनेको प्रधानमन्त्री पद दिइरहेका थिएनन् । त्यहीकारण प्रचण्ड ओलीकहाँ पुगेर प्रधानमन्त्री बने । अनेक चरणको छलफलबाट प्रचण्डलाई आफ्नो कब्जामा ल्याएर ‘वेटिङ प्राइमिनिस्टर’मा देउवा बसेका थिए । तर प्रचण्ड ओली कब्जामा पुगे । 

फेरि तिनै देउवाले रातारात श्रीमतीलाई मात्र लिएर ओली कहाँ तीन घण्टा बस्नुभयो । देउवाले त्यति लामो समय बिताएको अन्यत्र कहाँ होला र ? यसबाट के देखिन्छ भने उहाँले नितान्त ब्यक्तिगत ‘डिल’ गरेर आउनुभएको छ । 

–तपाईं त नागरिक निराशा चिर्न कांग्रेस–एमाले सरकार बन्नुपर्छ भनेर बहस चलाउने ब्यक्ति होइन र ?

हो । मैले राजनीतिप्रतिको चरम निराशा नयाँ ब्यवस्थाले ‘डेलिभरी’ दिन नसकेर हो र कांग्रेस–एमाले गठबन्धनले त्यो डेलिभरी दिनसक्नुपर्छ भनेर बहस गरेकै हुन् । म त्यो पक्षमा जानुपर्छ भनेर खुलेर भन्ने मध्येकै हो । 

तर, मुख्य दलबीचको त्यो सहकार्य डेलिभरी दिने कुरामा केन्द्रित हुनुपर्छ भन्ने हो । त्यो बहसको निरन्तरतामा स्पष्ट खाकासहित वर्तमान गठबन्धन बन्यो त भन्दा जवाफ ‘एस’ आउँदैन ।  

सरकारका प्रथमिकता निर्धारित देखिँदैनन् । सरकार संचालनका न्युनतम साझा कार्यक्रम दिने भनेर सात बुँदे गरियो । यतिका दिन हुँदा सरकारले नागरिकमा दिने ‘डेलिभरी’ स्पष्ट छैन । सरकारको गन्तव्य अनिश्चित बनाएर खाली नयाँ सरकार दिन कांग्रेस–एमाले सरकार आवश्यक थिनन । 

यो सरकार बनेपछि नागरिकमा आशा जगाउनु परेन ? खोइ जगाउन सकेको ? 

–यो निराशाको निकास के हो ? के हामी अब सुधार्न नसक्ने चरणमा पुगिसक्यौं ?   

चरम नैराश्यता देखिएकै छ । मुलुकमा जस्तो किसिमको ‘क्वालिटि अफ गभर्नेन्स’ छ । जसरी उत्पादन ठप्प जस्तै छ । निर्यातशून्य नजिक उन्मुख हुँदैछ । आयात मात्रै भइरहेको छ । यसले हामीलाई निराशा मात्र बाँडिरहेको छैन, हाम्रो चेत खुल्नुपर्ने ठाउँमा पनि पुर्‍याएको छ । 

तथ्यांकले के देखाउँछ भने झण्डै पाँच खर्बको त नेपालमा कृषि बजार रहेछ नि ! डेढ खर्बबाहेक त सबै हामी आयात नै गर्दा रहेछौँ । 

पाँच खर्बको बजार छ भने एकैपटक सबै नसकिएला । तीन खर्बको उत्पादन यही गर्न थोरै कृषि क्षेत्रमा पुनर्संरचना गर्ने बित्तिकै नेपालले चामल, दाल, तरकारीसहितका आयात त रोक्न सम्भव रहेछ । त्यसका निम्ति सरकारले अलिकति तयारी पनि गर्न सक्छ । 

तर, सरकारको तयारी केहीमा पनि भेटिँदैन । एउटा सरकार बन्यो, अर्को सरकार आयो । 

कहिले होला त यो देशमा आशा लाग्दो अवस्था ? प्रतिब्यक्ति आय मुस्किलले १३ सय बढी छ, १५ सय पुग्न सकेको छैन । दक्षिण एसियामा सबैभन्दा पछाडि हाम्रै इन्कम छ । हामीभन्दा पछाडि देखिएको अफगानिस्तान पाँच दशकभन्दा लामो समयदेखि लडाईंमा छ । 

उस्तै युद्धको चपेटाबाट आएको मुलुक पाकिस्तान हामीभन्दा अगाडि छ । 

यहाँ प्रतिव्यक्ति आय बढ्न सकेको छैन । मुलुकमा उत्पादन हुन सकिरहेको छैन । युवाहरू बस्न चाहिरहेका छैनन् । यहाँ यत्रा धेरै राजनीतिक दल छन् । हरेक क्षेत्रको प्रतिनिधित्व गर्ने यात्रा भातृ संघहरू छन् । 

पार्टीहरूका जम्बो केन्द्रीय समितिमा यति धेरै सदस्यहरू छन् । यत्रा विश्वविद्यालयहरू छन् । कुनै एउटाबाट पनि यो मुलुककै समस्या संबोधन गर्ने छलफल भएको, त्यसमा रिसर्च भएको देखिँदैन ।
 
अन्यत्रका रिसर्चहरू त यहाँको अध्ययनमा आधारित हुँदैनन् नि ! अन्यत्रका अनुभव र निष्कर्षहरू यहाँ लादिन्छन् । केही कन्सल्ट्यान्टहरू राखिन्छन्, त्यो पनि अन्यत्रै पढेका हुन्छन् । उनीहरूलाई यहाँको कृषि उत्पादन कसरी हुन्छ भन्ने कुनै अनुभव छैन । 

सात आठ–वर्षमा १० खर्ब रुपैयाँ कृषि ऋण र अनुदानमा खर्च भयो । 

यसैबीचमा कृषि उत्पादन तीन प्रतिशतबाट खस्केर डेढ प्रतिशतमा झर्‍यो । यसैबीचमा कृषि बस्तुको आयात ह्वात्तै बढेको छ । 

१० खर्ब रुपैयाँको कृषि ऋण र अनुदान कसले लियो आखिर, त्यसलाई पारदर्शी बनाउन सकिँदैन ? राज्यले त्यो दायित्व लिन तयार छ त ? कहाँ गयो त्यो पैसा, के प्रयोजनामा खर्च भइरहेको छ ? पारदर्शी किन हुँदैन भने माथिको पहुँचमा त्यो पैसा परिचालन भएको छ । 

–त्यसो भए, मुलुक असफल भइसक्यो भनेर निस्कर्ष निकाल्ने ? 

मुख्यकुरा सरकारमा बसेका प्रधानमन्त्रीले पार्टीको नेतृत्व गर्ने नेताहरूले मुलुकुको लागि राजनीति गर्ने कि कार्यकर्ताका लागि राजनीति गर्ने ? जबसम्म यो राजनीतिक सोचमा ‘प्याराडायम सिफ्ट’ हुँदैन, तबसम्म यो मूलुक बन्छ भन्ने विश्वास मलाई लाग्दैन । 

यो मुलुक पाँच वर्षमा बन्छ भनी आस गर्न सकिने अवस्था बन्दैन भने मुलुकले ‘क्वान्टम जम्प’ गर्छ भनेर कसरी विश्वास जाग्छ ? 

विश्वास किन लाग्दैन भने पार्टीहरूमा यसपछि नेतृत्वमा को आउँछ भनेर म हेरिरहेको छु । आउनेहरूले नयाँ संस्कार बोकिरहेका छन् वा आफूलाई वर्तमान नेतृत्वको उत्तराधिकारी मात्र बनाइरहेका छन् भनेर पनि हेरिरहेको छु । 

–यत्रा युवा नेताहरू छन्, उनीहरूले आशा जगाउन सक्दैनन् ? 

युवा नेताहरूलाई पनि म हेरिरहेको छु । तिनमा पनि हालका नेताहरूमा भन्दा फरक संस्कार छैन । त्यतिमात्र होइन, संस्कार बनाउनुपर्छ भन्ने सोच नै म उनीहरूमा पाइरहेको छैन । 

हामी त त्यस्तो पुस्ता भयौं । हिजोका नेताहरूलाई पनि हेरेका छौँ । प्रथम जननिर्वाचित प्रधानमन्त्री बीपीलाई पनि देख्यौँ । उहाँले मन्त्रिपरिषद्को पहिलो निर्णयबाट प्रधानमन्त्रीको तलब २५ सयबाट घटाएर १५ सय बनाउनुभयो । 
२५ सय किन चाहियो भन्नुभयो । मन्त्रीहरूको तलब १५ सयबाट घटाएर हजार रुपैयाँ बनाइदिनुभयो । यहाँले घरमा १० किलो दाउरा जान्थ्यो भने घटाएर पाँच किलो गर्नुभयो र घोषणा गर्नुभयो –नेपाल अब म जस्तै मध्यम वर्गीय बनाउँछु ।

–त्यस्तो प्रधानमन्त्री त्यसपछि कोही भएनन् ? 

आजको प्रश्न नै यही हो आज । कुनै पनि प्रधानमन्त्रीले नेपाललाई म जत्तिको परिवारवाला देश बनाउँछु भन्ने हैसियत राख्छन् ? शेरबहादुरजीले अबको १० वर्षमा सारा नेपालीलाई म जस्तै हैसियतमा पु¥याउँछु भन्ने हैसियत राख्नु होला ? उहाँ त समाजवादी हो । 

बीपीको चेला पनि हो । मेरो हैसियतमा पुर्‍याउँछु भनेपछि पहिले त आफ्नो हैसियत देखाउनुपर्ला ! 

केपी ओली आज प्रधानमन्त्री हुनुहुन्छ । अबको १० वा १५ वर्षमा मेरो हैसियतमा आमनेपालीलाई बनाउँछु भन्नुभयो भने त्यो नेपालीको के हुने भयो त भन्दा दमकमा पनि घर हुनेभो, यहाँ काठमाडौंमा पनि घर हुनेभयो । त्यस्तै उहाँको कति शेयर छ त्यो पनि हुनेभो ! 

बीपी कोइरालाले त्यो भनिरहँदा कत्रो आँट थियो होला ? ०१५ सालमा बीपी कोइरालाले भन्दै हुनुहुन्थ्यो, म १० वर्षमा मेरो हैसियतको नेपाली बनाउँछु भनी । आज कुनै प्रधानमन्त्री भएको व्यक्तिले किन त्यसो भन्न सक्दैन ? 
 
–निराश नागरिकमा आशा जगाउने भनेर रवि लामिछाने (रास्वपा), बालेन शाह आएका छन् त ? उनीहरूले सम्हाल्छन् अब राजनीतिको मूलधार ? 

पुराना शक्तिलाई विस्थापन गर्ने र नागरिकलाई गरेर देखाउने भनेर आएका छन्, चाहे रवि लामिछाने हुन् वा बालेन । सत्तामा प्रवेश गर्दागर्दै यिनीहरूको पनि संस्कार देखियो । 

रवि लामिछानेको ‘मलाई थाहा छैन’ भाषा नबुझेको हो कि नेपाली पढ्न नआएको हो ! यही मेरो अगाडि दुईवटा पत्रिका छन्, एउटाले सफाइ पायो भन्दै लेख्छ, अर्काले कारबाही गर्न गृहमन्त्रालयलाई सिफारिस भन्छ । 
दुई वटाविपरीत शीर्षक छन् । समाज यसरी नै बाँडिएको छ ।
 
–बाक्लिँदो असन्तुष्टिले बंगलादेशको अवस्था आउने चेतावनी पनि सार्वजनिक हुँदैछन् तपाईलाई त्यस्तो लाग्छ ? 

बंगलादेशमा जस्तो ‘एउटा ढंगले चुनाव गर्ने, प्रधानमन्त्री भाग्नुपर्ने, अनि टपक्क टिपेर ल्याएर अर्को प्रधानमन्त्री बनाउने’ त्यो अवस्थामा नेपाल पुगिसकेको छैन । किनभने त्यसस्तरको असहिष्णुता नेपालको राजनीतिमा छैन । 

केही ब्यक्तिहरूमा त्यो प्रकट नभएको होइन । केही युवा नेता जो स्वतन्त्र भएर निर्वाचित भएका छन्, उनीहरूमा प्रकट भइरहेको छ । 

कांग्रेसका युवा नेता, एमालेका युवा नेताहरूमा पनि हिजो गिरिजाप्रसादमा जस्तो, मनमोहन अधिकारीमा जस्तो सहिष्णुता देखिँदैन । जति ‘टोलरेन्सी’ शेरबहादुरजीमा छ, त्यो युवा नेताहरूमा छैन । जुन पृष्ठभूमिबाट उनी आएका थिए, त्यसले उनलाई सहिष्णु बनाएको हो ।  मलाई शेरबहादुरजीका कैयन कुरा मन पर्दैनन् । 

शेरबहादुरसँग नेतामा हुने त्यस्तो गुणहरू नै छैनन्– नैतिक धरातल, दृष्टिकोण, वाकपटुता ।  तर, एकचिज जबर्जस्त छ, यहाँ आफ्नो आलोचना जति पनि सुन्न सक्नुहुन्छ । त्यतिले पनि मान्छे नेता हुँदो रहेछ । 

रामचन्द्र पौडेल किन प्रधानमन्त्री भएनन् भने त्यही जेनेरेसनको भएर पनि उनीसँग आलोचना सुन्न सक्ने धैर्यता थिएन । मान्छे झुम्मिन्छ कोसँग भन्दा जोसँग ‘टोलरेन्सी’ छ ।

कांग्रेसमा भोलिका नेता को ? अथवा एमालेको भोलिका नेता को हो भनियो भने जसले आलोचना बरदास्त गर्न सक्छ, आफ्नो आलोचना बढी सुन्न सक्छ, सुधार गर्न सक्छ, कम बोलेर धेरै केही ब्यवस्था पनि गर्न सक्छ । 

–मूलधारका पार्टीको पुनःसंरचना कति असम्भव छ ? 

मूलधारका पार्टीमा ‘व्युरोक्रेसीतन्त्र’मा यसरी जकडिएको छ कि सहज रूपमा त्यहाँ परिवर्तनको सम्भावना रहँदैन ।

एमालेभित्र ओलीको नजिक भएर अन्तराष्ट्रिय ‘बा’ बनाउने गोकुल बाँस्कोटा, महेश बस्नेत आज कहाँ छन् ? धेरैजना त एमाले छाडेर बाहिरिए, केही परिवर्तन भयो ? 

मूलधारका पार्टीबाट केही हुँदै हुँदैन भन्ने निस्कर्षमा म पुगिसकेको छैन ।  वर्तमान नेतृत्वबाट सम्भावना नभए पनि सम्भावना सकिएको भन्ने होइन ।  तर, यो देशलाई माया गर्नेहरूले गरेर देखाउने बेला आएको छ ।
 

NIBLNIBL
प्रकाशित मिति: आइतबार, असोज २०, २०८१  १०:४०
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
The British College Banner adThe British College Banner ad
Everest BankEverest Bank
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
SubisuSubisu
Hamro patroHamro patro