बाढी पहिरोको प्रकोपबाट पीडितहरूको आँखा ओभाउन पनि पाएका छैनन् तिनका नाममा राजनीतिक दन्तबझान सुरु भइसक्यो । पिडितहरूको अवस्थाप्रति जनसाधारणमा देखिएजति पनि गम्भीरता कथित राजनीतिक नेताहरूमा देखिएन ।
प्रधानमन्त्री बाढी पहिरोको प्रकोपका बेला नेपालमै भएको भए पनि अवस्थामा खासै फरक हुने थिएन । राज्यका संयन्त्रमात्र होइन तिनका सञ्चालकको मानसिकतामा पनि खिया जो लागेको छ ।
पक्कै पनि सरकारी संयन्त्र चुस्त र संवेदनशील भएको भए उद्धार तीव्र गतिमा हुनसक्थ्यो । तात्कालिक सक्रियताले बाढी त रोकिने थिएन तर त्यसको भयावहता अपेक्षाकृत कम गर्न सकिन्थ्यो ।
राष्ट्रिय शोक नै मनाउनुपर्ने विपत्ति आइलागेका बेलामा पनि राजनीतिक नेतृत्वबीच कटु कटाक्ष र ओँठे जबाफको क्रम भने रोकिएन । प्रधानमन्त्रीले स्वदेशमा पाइला टेक्नै नपाई दोचपेचको सिलसिला सुरु भइसक्यो ।
सरकार अक्षम भयो भन्नेहरू कसैले पनि राज्यले के गर्नुपर्ने थियो र के गरेन भन्ने दुःख भने गरेका छैनन् । पीडितहरूको उद्धार, सहायता र पुनःस्थापनाको खासै चर्चा भएन ।
सम्भवतः तिनको यस्तै स्वभाव र संस्कारका कारण अहिले जनतामा राजनीति गर्नेहरूप्रति चरक वितृष्णा उत्पन्न भएको हो । जति साखुल्ले बने पनि जनताले तिनलाई पराइ नै ठान्छन् । सरकारले जति नै उदारता देखाएर सहायताको घोषणा गरे पनि त्यो पीडितसम्म पुग्दैन । अरू त के २०७२ का भूकम्पपीडितसमेत सबैले अहिलेसम्म पाउनुपर्ने सहायता पाएका छैनन् ।
सरकारले घोषणा गरेको सहयोग कसरी नदिन सकिन्छ भन्ने ध्यानमा राखेर कार्यान्वयनको विधि बनाइन्छ । राजनीतिक नेतृत्वले प्रशासन यन्त्रको बदनियत थाहा पाए पनि वास्ता गर्दैन । यस्ता पीडितहरूलाई साँच्चै नै मर्कामा पार्ने विषयमा भने राजनीति गर्नेहरूले कहिल्यै चासो र चिन्ता प्रकट गरेको सुनिँदैन । तिनले जनताको होइन कार्यकर्ता र कारिन्दाको कुरा सुन्ने गर्छन् ।
यसैले सत्ता वा विपक्षका राजनीतिकर्मीहरूबाट अपेक्षा गर्नु आफैँ मूर्ख हुनुमात्रै हो । हिउँद लाग्नेबित्तिकै यिनीहरू खोलाका किनार खोतल्ने वा डाँडा खोस्रने माफियासँग हातेमालो गर्न तयार हुनेछन् ।
नेताहरूको प्रकृति र प्रवृत्ति हेर्दा विपत्ति नभए यिनैले निम्त्याउलान् जस्तो भान हुने । यस्तो अवस्थामा देश बर्बाद नहोस् पनि किन ? ऊर्दुका सायर शौक बहराइचीले यी पङ्क्तिहरू लाग्छ अहिलेको नेपालकै अवस्था हेरेर लेखेका हुन् -
“बरबाद गुलिस्ताँ करने को एक ही उल्लू काफ़ी था
हर शाख़ पर उल्लू बैठा है, अंजाम-ए- गुलिस्ताँ क्या होगा ?”