site stats
बाह्रखरी :: Baahrakhari
Baahrakhari KathaBaahrakhari Katha
कला
Global Ime bankGlobal Ime bank
इगोको लडाइँको व्यापार
SkywellSkywell

काठमाडौं । दसैँको अवसर पारेर फूलपाती (असोज २४) गते तीन नेपाली चलचित्र रिलिज हुँदै छन् । ‘छक्का पञ्जा–५’, ‘१२ गाउँ’ र ‘ज्वाइँ साब’ एकै दिन रिलिज हुन लागेका हुन् ।

यी तीनै चलचित्र मोटो लगानीमा बनेका छन् । दीपकराज गिरी र दीपाश्री निरौला सिनेमा बनाउँदा दिल खोलेर खर्च गर्छन् । चित्त नबुझे पुनः छायांकनमा जान्छन् । यसअघिको ‘छक्का पञ्जा–४’ को ४० प्रतिशत सिन रि–सुट गरेको खबर आएको थियो ।

बिराज भट्टको ‘१२ गाउँ’ एक्सन सिनेमा हो । एक्सन सिनेमा आफैँमा महँगो जानरा हो । ‘ज्वाइँ साब’मा धेरै ठूलो लगानी नभए पनि साह्रै सानो बजेटको चलचित्र होइन ।

KFC Island Ad
NIC Asia

रिकभर हुन कति उठाउनुपर्छ मेकरले ?
निर्माता दीपेश खत्री (म्याक्स) एक करोड रुपैयाँमा बनेको चलचित्रलाई हलबाट लगानी उठाउन दुई करोड ७० लाख रुपैयाँ ग्रस कलेक्सन गर्नुपर्ने बताउँछन् ।

“चार करोड रुपैयाँ बजेटमा बनेको चलचित्रले हलबाट रिकभर गर्न करिब ११ करोड रुपैयाँ उठाउनुपर्छ,” उनी स्पष्ट पार्छन् । गत वर्षदेखि निर्माता र प्रदर्शक (सिनेमा हल)ले ग्रस कलेक्सनको ५०/५० प्रतिशत पाउँछन् ।

हलबाहेकबाट पनि निर्माताले चलचित्रबाट पैसा उठाउँछन् । डिजिटल राइट्स, इन्टरनेसनल राइट्स र स्पोन्सरबाट पनि लगानीको केही हिस्सा उठाउँछन् । यो भने चलचित्रको ब्रान्ड, कलाकारको स्टारडम र सिनेमाको हाइपका आधारमा कुन चलचित्रले कति पाउने भन्ने निर्धारण हुन्छ ।

ठूलो ब्रान्ड भएका चलचित्रलाई लगानी उठाउन सहज भए पनि नयाँलाई कठिन रहेको सिनेकर्मी बताउँछन् । लगानी उठाउन कठिन भए पनि ठूलै लगानीका चलचित्र एकैदिन रिलिज हुन छोडेका छैनन् । 

किन भिड्छन् चलचित्र ?
चलचित्र एकैदिन रिलिज हुनुमा विभिन्न कारण रहेको चलचित्रकर्मी बताउँछन् । यसमा व्यक्तिअनुसारका धारणा र तर्क छन् ।

निर्देशक दीपेन्द्र के खनाल सिनेमा जुध्नुमा मुख्य कारण नै व्यक्तिगत ‘इगो’ रहेको बताउँछन् । वितरक, कलाकार र कलाकारबीचको इगो नै सिनेमा जुध्नुको मुख्य पक्ष भएको उनको बुझाइ छ ।

“सबैभन्दा धेरै त वितरकबीचको इगोले सिनेमा जुधिरहेका छन् । कुन वितरकलाई कोसँग कहिलेको रिस हुन्छ, त्यो रिस साध्नका लागि पनि अरूका चलचित्र वितरकले जुधाइरहेका हुन्छन्,” उनी भन्छन्, “पछिल्लो समय कलाकारको इगोले पनि सिनेमा जुधिरहेको देखिन्छ । अरूको पैसामा चलचित्र बनाउने निर्माताहरूले पनि सिनेमा जुधाइरहेका हुन्छन् ।”

आफ्नै पैसामा चलचित्र बनाउने निर्मातारू भने सकेसम्म सिनेमा जुधाउन खोज्दैनन् । यसको उदाहरणका रूपमा गत वर्षको दसैँलाई हेर्न सकिन्छ ।

फूलपातीको दिन रिलिज हुने भनेर प्रचार गरिएका थिए, ‘पशुपतिप्रसाद–२ : भष्मे डन’ र ‘परदेशी–२’ । तर, यी चलचित्रका निर्माताले आपसमा बसेर छलफल गर्दा ‘परदेशी’ एक हप्ताअगाडि सरेको थियो । अरूको पैसामा चलचित्र बनाउने तर बाहिर देखिँदा अर्कै नाम हुने निर्माताले इगो साध्ने गरेको निर्देशक खनाल बताउँछन् ।

नजुधी सुखै छैन !
निर्माता दीपेश खत्री वर्षमा ५२ हप्ता हुने तर त्योभन्दा बढी चलचित्र निर्माण तथा रिलिज हुँदा एकै हप्ता दुई वा सोभन्दा धेरै सिनेमा रिलिज गर्नैपर्ने बाध्यता रहेको बताउँछन् ।

“सिनेमाको संख्या अधिक हुँदा एकै हप्ता दुई/तीनवटा चलचित्र रिलिज हुन्छन् नै । हामीले अहिले नै एक वर्षपछिको डेट लिएँ भने पनि हाम्रो चलचित्र सोलो रिलिज हुन्छ भन्ने छैन । कुनै न कुनै चलचित्र आउँछ नै,” उनी अगाडि थप्छन्, “जुध्ने नै भएपछि आफूलाई कुन डेटमा आउँदा सहज हुन्छ, त्यो डेटमा मेकरले आफ्नो सिनेमा रिलिज गर्छ ।” 

कुन दिन कसको चलचित्र आउने भनेर निर्धारण मेकर स्वयंले गर्ने भएकाले उसले आफूअनुकूल सिनेमा रिलिज गर्ने उनको भनाइ छ । उसमा बिजनेस माइन्ड भने हुनुपर्ने उनको धारणा छ ।

“नराम्रो चलचित्रले सोलो रिलिज भए पनि बिजनेस गर्दैन । यो हामीले देखिरहेका छौँ । राम्रो चलचित्र दुई/तीनवटा रिलिज भए पनि चल्छन्,” उनी स्पष्ट पार्छन्, “राम्रो चलचित्रको जहिल्यै मार्केट छ । दर्शक स्वतःस्फूर्त रूपमा आएर हेर्ने हो भने बजारको स्कोप छ ।”

एकैदिन चलचित्र रिलिज हुँदा दीपकराज गिरी र केदार घिमिरेसँग बिराज भट्ट र समीर भट्ट तथा जितु नेपालबीच प्रतिस्पर्धा हुनेछ ।

बढे स्क्रिन, छैन चिन्ता ?
घटस्थापनाको दिन रिलिज भएको चलचित्र ‘बेहुली फ्रम मेघौली’ले पहिलो दिन ३३५ भन्दा धेरै शो पायो । अरू चलचित्र पनि सँगै प्रदर्शनरत छन् । योबाहेक नेपाली चलचित्र ‘खुस्मा’ र ‘साम्बाला’ नै प्रदर्शनरत छन् । र पनि एकैदिन यति धेरै शो पायो ।

यसले कम्तीमा दुई चलचित्र कम्फर्ट शोसहित राम्रोसँग चल्ने देखाउँछ । मल्टिप्लेक्स निर्माणको संख्या बढ्दा स्क्रिन थपिएका छन् । सिंगल थिएटर बन्द हुने र मल्टिप्लेक्सको संख्या थपिने क्रम बढ्दा स्क्रिन संख्या पनि बढ्दै गएको छ ।

चलचित्र विकास बोर्डको तथ्यांकानुसार, हाल नेपालमा १६९ सिनेमा हल सञ्चालनमा छन् । नेपालभरका हलमा स्क्रिन संख्या कति छ त्यो बोर्डसँग पनि यकिन तथ्यांक छैन । तर, गुण सिनेमामा तीन स्क्रिन रहेकामा हल वान, हल टु र हल थ्रि भनेर रहेको तथ्यांक बोर्डसँग छ ।

हालसम्म लाइसेन्स लिएका, सञ्चालनमा आएर बन्द भइसकेका र चलिरहेका गरी नेपालमा ४४७ सिनेमा हलले लाइसेन्स लिएको बोर्डको तथ्यांकमा उल्लेख छ ।

१६९ हल हुँदा एकैपटक दुई वा तीन सिनेमा रिलिज गरिँदा पनि चलचित्रले पाउने शो संख्या खासै कम हुँदैन । फुल अकुपेन्सीमा सिनेमा चल्ने हो भने दैनिक ठूलो परिमाणमा ग्रस कलेक्सन गर्न सक्छन् ।

चलचित्र विकास बोर्डमा रहेको बक्सअफिस सर्भरमा ‘महाजात्रा’ सिनेमा एकैपटक १२८ स्क्रिनमा चलेको रिपोर्ट आएको थियो । बक्सअफिसको तथ्यांकानुसार, ‘बोक्सीको घर’ ११३ हलमा एकैपटक चलेको छ ।

बोर्डका अनुसार, शो पाएर क्यान्सिल भएका र बक्सफिसको सर्भरमा नजोडिएका स्क्रिनको तथ्यांक माथि उल्लेख स्क्रिन संख्याभन्दा बाहिर हुन्छ । मल्टिप्लेक्स भए पनि बक्सअफिसमा जडान नभएका हलको संख्या ठूलै छ ।

यसबाहेक सिंगल थिएटरको संख्या पनि उच्च छ । सिंगल थिएटरको र स्क्रिनको तथ्यांक छुट्टै छ ।

रमिते निर्माता संघ
ठूलो बजेटका तीन सिनेमा एकैदिन रिलिज हुन्छन् । तीबाहेक सँगै हिन्दी र अंग्रेजी ठूला ब्रान्डका चलचित्र पनि आउँछन् । जति धेरै चलचित्र एकैदिन रिलिज हुन्छन्, त्यति नै स्क्रिन र शो बाँडिन्छन् । शो जति कम हुन्छ, त्यति नै ग्रस कलेक्सन न्यून हुने सम्भावना उच्च हुन्छ । शो कम पाउनु भनेको लगानीको जोखिम बढ्नु हो ।

लगानी नै जोखिममा पर्ने अवस्थामा सिनेमा निर्माताको संस्था चलचित्र निर्माता संघले सहजीकरण गर्न सक्छ । निर्माताको हकहितका निम्ति भन्दै गठन भएको संस्थाले यसको पहलकदमी लिनु पनि पर्छ ।

यसमा निर्माता संघले काम गरको छैन ? “इगोको लडाइँमा रहेकाहरूले पहल गर्दा पनि मान्दैनन्,” चलचित्र निर्माता संघका उपाध्यक्ष समेत रहेका दीपेन्द्र के खनाल भन्छन्, “टेबल टकमा बस्दा कति कुरा मिल्छ । तर, जसको उद्देश्य नै फलानो चलचित्र वा कलाकार अथवा वितरकसँग जुधाउने हुन्छ, ऊसँग सहमति नै हुँदैन । सहमतिका लागि बस्नै मान्दैनन् ।”

गत वर्ष एकैदिन रिलिजमा आएका थिए, ‘छक्का पञ्जा–४’ र ‘छड्के–२’ । यी चलचित्रको गजबको हाइप थियो । तर, दुईवटै आफ्नो निर्णयबाट पछि हट्न मानेनन् ।

“संघले त छुट्टाछुट्टै समयमा आउन आग्रह गर्‍यो नै, क्यूएफएक्सले पनि शो बाँडिन्छ, एकैदिन आउँदा हामीलाई पनि कठिन हुन्छ भनेर पटक–पटक आग्रह गरेको थियो,” उनी भन्छन्, “तर, न हाम्रो आग्रह सुनियो न प्रदर्शकको नै ।”

एकाध पहल संघले गरे पनि हस्तक्षेपकारी भूमिका निर्वाह गर्न नसकेको चलचित्रकर्मीले नै टिप्पणी गर्दै आएका छन् । आफ्नो चलचित्र कहिले रिलिज गर्ने अन्तिम निर्णयकर्ता निर्माता स्वयं भए पनि उनीहरूलाई फाइदा वा सहयोग पुग्ने गरी हस्तक्षेपकारी नियम बनाएर लागु गर्न सक्नुपर्नेमा चलचित्रकर्मी जोड दिन्छन् ।

एक्लै भिड्दै जितु 
असोज २४ गते ‘छक्का पञ्जा–५’, ‘१२ गाउँ’ र ‘ज्वाइँ साब’ एकैदिन रिलिज हुँदा बक्सअफिसमा को अब्बल देखिनेछ, त्यो त असोज २४ पछि नै निश्चित हुनेछ ।

दीपकराज गिरी तथा दीपाश्री निरौला र बिराजसँगै जितु भने एक्लै भिड्नेछन् । दीपक–दीपासँग नेपालकै सबैभन्दा सफल सिनेमा ब्रान्ड छ, ‘छक्का पञ्जा’ । लगातार तीन सफल चलचित्र निर्देशन गरेकी दीपाश्रीले नै ‘छक्का पञ्जा ५’ निर्देशन गरेकी छन् । लोभलाग्दो क्रेज भएका दीपक र केदार घिमिरे कलाकार छन् । यो टिम लगानी उठाएर केही फाइदा होला कि भनेर चलचित्र बनाउनेभन्दा पनि बक्सअफिसमा रेकर्ड ब्रेक गर्ने सिनेमा बनाउँछ ।

बिराज भट्ट आफैँमा एक्सन हिरोको ब्रान्ड हुन् । उनी छोरा समीरलाई ‘१२ गाउँ’मार्फत चलचित्र उद्योगमा लन्च गर्दै छन् । उनले राम्रो टिम बनाएर काम गरिरहेका छन् ।

यता, ‘ज्वाइँ साब’मा जितु नेपाल मुख्य भूमिकामा छन् । सिनेमा उनकै काँधमा छ – जो ‘छक्का पञ्जा’को टिमबाट बाहिरिएका कलाकार हुन् । उनी सामाजिक सञ्जालदेखि मिडियाबाट ‘छक्का पञ्जा’ टिमसँग एक्लै भिडिरहेका छन् ।

केही दिनअगाडि एउटा अन्तर्वार्तामा जितुले दीपकराज गिरीका कमजोरी औँल्याएका थिए । फेसबुकका स्टाटसजस्तै व्यवहार पनि भइदिए कति राम्रो हुने थियो भनेका थिए ।

नाम उल्लेख नगरी दीपकले जितुको अप्रत्यक्ष जवाफ दिँदै भनेका थिए– हामी सबैसँग कमजोरीहरू छन्, बुझ्नेले आफूलाई सुधार्नतिर लाग्छ । नबुझ्नेले अरूको कमजोरी औँल्याउन थाल्छ ।

‘छक्का पञ्जा–३’ सम्म सँगै रहेका कलाकार र एक्सनका लिजेन्ड्रीका चलचित्र एकैदिन रिलिज हुँदा समीक्षासँगै बक्सअफिस रिपोर्टमा पनि धेरैको चासो देखिनेछ ।

NIBLNIBL
प्रकाशित मिति: शनिबार, असोज १९, २०८१  ०८:१४
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
Dish homeDish home
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
City Express Money TransferCity Express Money Transfer
सम्पादकीय
किन नहोस् त देश बर्बाद !
किन नहोस् त देश बर्बाद !
SubisuSubisu
Hamro patroHamro patro