site stats
बाह्रखरी :: Baahrakhari
देश
सर्केगाड गाउँपालिकाका तत्कालीन अध्यक्षसहित नौजनाविरुद्ध भ्रष्टाचार मुद्दा 

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले हुम्लाको सर्केगाड गाउँपालिकाका तत्कालीन अध्यक्ष कृष्ण रोकायसहित नौजनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ । उनीहरूले १९ लाख ५० हजार रुपैयाँ भ्रष्टाचार गरेको ठहर गर्दै अख्तियारले आइतबार विशेष अदालतमा मुद्दा दायर गरेको हो ।

अख्तियारले मुद्दा दायर गरेका अरू व्यक्तिमा सर्केगाड गाउँपालिकाका तत्कालीन उपाध्यक्ष जोसी धामी, निमित्त प्रमुख प्रशासकीय अधिकृत रुद्रबहादुर शाही, इन्जिनियर रामराज शाही, सबओभरसियर पदमबहादुर धामी, लेखापाल पूर्णप्रसाद आचार्य, योजना निर्माण उपभोक्ता समितिका अध्यक्ष हंश रोकाया, सचिव तुलराज रोकाय र कोषाध्यष सेतु रोकाया छन् ।

Argakhachi Cement Island Ad

सर्केगाड गाउँपालिकाका अध्यक्षले आफ्नो मान्छेलाई थारी कोइलिङ पशुपालन उपभोक्ता समितिको अध्यक्ष बनाई एउटै आर्थिक वर्षमा दुईपटक रकम भुक्तानी दिएको र काम नगरेको भन्ने उजुरीपछि अख्तियारले अनुसन्धान थालेको थियो ।

उनीहरूले काम नै नगरी साढे १९ लाख रुपैयाँ भ्रष्टाचार गरेको पाइएको अख्तियारले जनाएको छ । दायर गरिएको मुद्दामा १९ लाख ५० हजार रुपैयाँ बिगो दाबी गरिएको छ ।

प्रकाशित मिति: आइतबार, असार २३, २०८१  १८:४१
प्रतिक्रिया दिनुहोस्