काठमाडौं । नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले महासचिव घनश्याम भुसाललाई सोही पदमा रहन प्रस्ताव गरेका छन् ।
अध्यक्षमा दाबी गरिरहेका भुसाललाई महासचिवमा नै दोहोरिन नेपालले प्रस्ताव गरेका हुन् । नेताहरूका अनुसार भुसालले अध्यक्षको दाबीबाट पछि हट्ने संकेत गरिसकेका छन् । नेपालको प्रस्तावमा भुसालले आफू निकटका नेतालाई व्यवस्थापन गर्नुपर्ने माग राखेको एक पदाधिकारीले जानकारी दिए ।
"नेताहरूबीच छलफल चलिरहेको छ । नेपालको प्रस्तावमा भुसालले आफू निकटका नेतालाई व्यवस्थापन गर्नुपर्ने माग राखेको बुझिन्छ," ती पदाधिकारीले भने ।
नेताहरूबीच केन्द्रीय सदस्यलाई समेत सर्वसहमति गर्ने गरी छलफल भरहेको जनाइएको छ ।
असार १६ गते उद्घाटन गरिएको महाधिवेशनमा बुधबार पार्टीको दस्तावेज पारित भइसकेपछि नेतृत्व चयनका लागि छलफल सुरु भएको हो । महाधिवेशनबाट २१ पदाधिकारीसहित २९९ सदस्यीय केन्द्रीय कमिटी चयन हुनेछ ।