site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
सबै नन ग्रेडेडलाई पूरक परीक्षामा सहभागी गराउँदा नतिजा सुधार हुन्छ ?

काठमाडौं । माध्यमिक शिक्षा परीक्षा (एसईई) २०८० को अनपेक्षित नतिजा आएपछि ‘नन ग्रेडेड’ सबैलाई समेट्नेगरी पूरक परीक्षा गरिँदैछ । 

साउन २३ देखि ३१ गतेसम्म परीक्षा सञ्चालन गर्नेगरी राष्ट्रिय परीक्षा बोर्डले तयारी अघि बढाएको छ । तर, सबै नन ग्रेडेड विद्यार्थीलाई पूरक परीक्षा लिएर ग्रेडवृद्धिको अवसर दिए नजिता सुधार हुनेमा आशंका गरिएको छ । 

पूरक परीक्षामा सहभागी ३५ प्रतिशत बढी विद्यार्थी पास हुँदैनन् 

Dabur Nepal
NIC Asia

यस वर्ष एसईईको नतिजामा ठूलो संख्यामा विद्यार्थी नन ग्रेडेड हुनु नौलो विषय नभएको उच्च शिक्षालय तथा माध्यमिक विद्यालय संघ नेपाल (हिसान)को बुझाइ छ । गएका वर्षहरूमा पनि नतिजाको गुणस्तर यस्तै रहेको उने बताए । यस वर्ष नयाँ लेटर ग्रेडिङ पद्धतिअनुसार मूल्यांकन गर्दा यस्तो परिणाम देखिएको हिसानका अध्यक्ष रमेश सिलवाल बताउँछन् ।  

नराम्रो नतिजा भएका विद्यालयका शिक्षकलाई कारबाही हुनुपर्ने, स्थानीय सरकारदेखि संघसम्मले यसको जिम्मा लिनुपर्ने र शिक्षाको गुणस्तर सुधार गर्नुपर्ने उनको भनाइ छ । 

ग्रेडवृद्धिमा सबैलाई सहभागी गराउने निर्णय विद्यार्थीका निम्ति सकारात्मक रहेको हिसानको धारणा छ । “अहिलेकै स्तरअनुसार दुई विषयसम्म नन ग्रेडेड ७० देखि ८० प्रतिशत र त्योभन्दा बढी विषयका पाँच हजारभन्दा बढी विद्यार्थी पास हुन्छन् भन्ने मलाई लाग्दैन”, सिलवाल भन्छन् । समग्र नतिजा सुधारका निम्ति गहन समीक्षा गर्नुपर्नेमा उनले जोड दिए । 

मूल्यांकन पद्धति स्पष्ट नभएसम्म नतिजा सुधार हुँदैन 

ठूलो संख्यामा विद्यार्थी नन ग्रेडेड भएकाले एकपटकलाई सबैलाई मौका परीक्षामा सहभागी गराउने निर्णय सकारात्मक भएको निजी तथा आवसीय विद्यालयहरूको छाता संगठन प्याब्सनको धारणा छ । तर, मूल्यांकन पद्धति स्पष्ट नभएसम्म नतिजा सुधार नहुने प्याब्सनका अध्यक्ष डीके ढुंगाना बताउँछन् । नयाँ लेटर ग्रेडिङ पद्धति फेलियर भइसक्दा पनि एसईईको मूल्यांकन पद्धतिबारे सरकार स्पष्ट नरहेको उनको आरोप छ । 

बिनातयारी नयाँ लेटर ग्रेडिङ पद्धतिअनुसार मूल्यांकन गर्दा ठूलो संख्यामा विद्यार्थी नन ग्रेडेड भएको उनको बुझाइ छ । “यही मूल्यांकनलाई अन्तिम मान्नु हुँदैन, मूल्यांकनका आधार र सिकाइको अवस्था सबैलाई मिलाएर स्पष्ट मूल्यांकन पद्धति लिनुपर्छ, एसईईलाई हाउगुजी बनाउनु जरुरी छैन,” उनले भने । 

परीक्षा बोर्डले दुई लाख ४२ हजार नन ग्रेडेड विद्यार्थीको पूरक परीक्षा लिई नतिजा निकाल्न झन्डै तीन महिना लाग्ने जनाएको छ । तीन महिनासम्म ११ कक्षाको पढाइ धेरै अगाडि बढिसकेको हुनेछ । 

मूल्यांकन प्रणाली परिवर्तन नगरे मात्रै नतिजा सुधार हुन्छ 

एसईईको मूल्यांकनमा पटक–पटक प्रणाली परिवर्तन गर्न नहुने अभिभावकहरू बताउँछन् । यसअघिका वर्षमा पुरानै ग्रेडिङ प्रणालीअनुसार मूल्यांकन गरिँदा विद्यार्थीमा ‘पास भइहालिन्छ नि’ भनेर लापरबाहीको प्रवृत्ति बढेको नेपाल राष्ट्रिय अभिभावक संघ काठमाडौंका अध्यक्ष रामकाजी बस्नेत बताउँछन् । 

आन्तरिक मूल्यांकनको तरिका परिवर्तन गरी स्पष्ट मूल्यांकन प्रणाली लाग्र गर्नुपर्ने उनको जोड छ । “जुन उद्देश्यले नयाँ लेटर ग्रेडिङ प्रणाली लागु भयो, त्यसको वास्तविक अभ्यास यसपटक भएको छैन, आगामी वर्षमा यसलाई क्वालिटी बेसमा लागु गरे नतिजा सुधार हुनसक्छ,” बस्नेतले भने ।  

समग्रमा यस वर्षको एसईईको नतिजा गएको वर्षभन्दा सुधार भएको राष्ट्रिय परीक्षा बोर्डको निष्कर्ष छ । बोर्ड अध्यक्ष महाश्रम शर्मा माथिल्लो जीपीए ल्याउनेको संख्या बढेसँगै नतिजा सुधार भएको दाबी गर्छन् । नन ग्रेडेड हुने विद्यार्थीको संख्या बढे पनि धेरैवटा विषयमा अनुत्तीर्ण हुनेको संख्या घटेको उनको भनाइ छ ।

सबैलाई पूरक परीक्षामा सहभागी गराउन निर्देशिका संशोधन गर्नुपर्छ 

बोर्डले आगामी साउन २३ देखि परीक्षा सञ्चालन गर्नेगरी तयारी अघि बढाएको हो । वर्ष २०८० को एसईईमा नन ग्रेडेड भएका सबै विद्यार्थी सो परीक्षामा सहभागी हुन पाउनेछन् । बोर्ड अध्यक्ष शर्माका अनुसार नन ग्रेडेड भएका सबै विद्यार्थीलाई परीक्षामा सहभागी गराउन लेटर ग्रेडिङ निर्देशिका २०७८ संशोधन गर्दै छ । “परीक्षाअघि पाठ्यक्रम विकास केन्द्रले निर्देशिका संशोधन गर्छ, जसले सबै विद्यार्थीलाई परीक्षामा सहभागी गराउन बाटो खुल्छ,” शर्माले भने । 

लेटर ग्रेडिङ निर्देशिका २०७८ मा सबै विषयमा आन्तरिकतर्फ कम्तीमा ‘सी’ र सैद्धान्तिकतर्फ ‘डी’ ग्रेड प्राप्त नगर्ने विद्यार्थीलाई नन ग्रेडेड गरिने व्यवस्था छ । 

दुई विषयमा नन ग्रेडेड विद्यार्थीले तीनपटकसम्म ग्रेडवृद्धि परीक्षामा सहभागी हुन पाउने व्यवस्था छ । नयाँ निर्देशिकाअनुसार यसवर्ष पहिलोपटक नतिजा प्रकाशन गरिएको हो । तर, वर्ष २०८० को एसईईमा ठूलो संख्यामा विद्यार्थी नन ग्रेडेड भएपछि शिक्षामन्त्री सुमना श्रेष्ठले एकपटकलाई सबै विद्यार्थीलाई ग्रेडवृद्धि परीक्षामा सहभागी गराउन निर्देशन दिएकी हुन् । 

राष्ट्रिय परीक्षा बोर्ड नियमावली २०७६ मा एसईईसम्बन्धी विषयमा प्रदेश परीक्षा सञ्चालन तथा व्यवस्थापन समितिलाई आवश्यकताअनुसार निर्देशन दिनसक्ने व्यवस्था छ । 

शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयका प्रवक्ता केशवप्रसाद दाहाल एसईईको पूरक परीक्षाबारे सम्पूर्ण अधिकार बोर्डमा निहित रहेको बताउँछन् । सबै विषयमा नन ग्रेडेड भएका विद्यार्थीलाई ग्रेडवृद्धि परीक्षामा सहभागी गराउन शिक्षामन्त्रीले निर्देशनको माध्यमबाट सहजीकरण गरेको उनको भनाइ छ । मन्त्रालयले एकपटकका निम्ति मात्रै यस्तो निर्णय गरिएको जनाएको छ । 

२०८० को एसईईमा सहभागी चार लाख ६४ हजार ७८५ विद्यार्थीमध्ये दुई लाख ४२ हजार ३१३ जना नन ग्रेडेड भएका छन् । तीमध्ये एक विषयमा मात्रै अनुत्तीर्ण हुनेको संख्या ६७ हजार ७९६ छ । ४८ हजार ३८ विद्यार्थी दुई विषयमा अनुत्तीर्ण भएका छन् ।एक लाख २६ हजार २९७ विद्यार्थी दुईभन्दा बढी विषयमा नन ग्रेडेड भएका छन् । 

यसअघि बोर्डले दुई विषयसम्म नन ग्रेडेड भएका एक लाख १५ हजार ८३४ विद्यार्थीका निम्ति साउन १८ र १९ गते ग्रेडवृद्धि परीक्षा मिति तय गरेको थियो । तर, थप एक लाख २६ हजार २९७ विद्यार्थीको समेत परीक्षा लिनुपर्ने भएपछि परीक्षा मिति केही धकेलिएको हो ।  

Laminar Tiles Banner adLaminar Tiles Banner ad
NIBLNIBL
प्रकाशित मिति: बुधबार, असार १९, २०८१  ०७:००
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
Hamro patroHamro patro