पनामा सिटी । पनामाको एक अदालतले ‘पनामा पेपर्स’ अन्तर्राष्ट्रिय करछलीकाण्डको केन्द्रविन्दु रहेको कानुनी संस्था (ल फर्म) मोसाक फोन्सेकामा सम्पत्ति शुद्धीकरण (मनी लाउन्ड्रिङ)का आरोपित २८ जनालाई शुक्रबार सफाइ दिएको छ ।
सफाइ पाउनेमा कम्पनीका संस्थापक जर्गेन मोसाक र रेमन फोन्सेका पनि छन् । पनामाको एक अस्पतालमा मे महिनामा रेमनको मृत्यु भइसकेको छ । गएको अप्रिलमा पनामा सिटीमा भएको सुनुवाइका क्रममा अभियोजन पक्षले यी दुवैलाई १२ वर्षको जेल सजाय माग गरेको थियो ।
तर, न्यायाधीश बालोइसा माक्र्विनेजले कानुनी ल फर्मको सर्भरबाट लिइएको प्रमाण प्रक्रियाअनुसार संकलन नगरिएको पाइएपछि उक्त जोडी र अरू २६ जनालाई सफाइ दिएका छन् ।
‘बाँकी प्रमाणहरू प्रतिवादीको आपराधिक जिम्मेवारी निर्धारण गर्न पर्याप्त र निर्णायक नभएको’ फैसला न्यायाधीशबाट भएको अदालतद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।
सन् २०१६ मा मोसाक फोन्सेकाबाट चुहावट भएका कागजातले विश्वका कति धनाढ्यले अफसोर कम्पनीमा सम्पत्ति लुकाएका थिए भन्ने खुलासा गरेको थियो ।
बेलायतका पूर्वप्रधानमन्त्री डेभिड क्यामरुन, रुसी राष्ट्रपति भ्लादिमिर पुटिन, फुटबल स्टार लियोनल मेस्सी, अर्जेन्टिनाका तत्कालीन राष्ट्रपति माउरिसियो म्याँक्री, स्पेनी फिल्म निर्माता पेड्रो अल्मोडोभरलगायत व्यक्तिविरुद्ध मुद्दा पनि चलाइएको थियो ।
पनामाका अभियोजकले मोसाक र फोन्सेकाले अपारदर्शी कम्पनीहरू सिर्जना गर्न मद्दत गरेको आरोप लगाएका थिए ।
मोसाक र अरू प्रतिवादीका वकिल गुइलेर्मिना म्याकडोनाल्डले एएफपीसँग भने, “न्याय भएको छ । हामी न्यायाधीशको फैसलाबाट अत्यन्त सन्तुष्ट छौँ ।”
उनले अगाडि भने, “तर, हामी अलि दुःखी छौँ । सुनुवाइका क्रममा हामीले रेमन फोन्सेकालाई गुमाएका छौँ र उहाँले यो नतिजा देख्न सक्नु भएन । यसप्रति हामी दुःखी छौँ ।”
इन्टरनेसनल कन्सोर्टियम अफ इन्भेस्टिगेटिभ जर्नलिस्ट्स (आईसीआईजे)ले सन् २०१६ अप्रिल ३ मा ‘पनामा पेपर्स’ प्रकाशन थालेको आठ वर्षपछि यो मुद्दाको सुनुवाइ भएको हो । मोसेक फोन्सेकाबाट एक करोड १५ लाख भएका कागजातमा आधारित यो अनुसन्धानले विश्वभरका व्यक्तिहरूले कर छल्न वा सम्पत्ति शुद्धीकरण गर्न सम्पत्ति, कम्पनी, सम्पत्ति र मुनाफा कसरी लुकाएको छन् भन्ने खुलासा गरेको छ । अनुसन्धानानुसार, यसका निम्ति उनीहरूले केही अवस्थामा अवैध गतिविधिबाट आएको फर्ममार्फत कम्पनी सिर्जना गरेकोे, बैंक खाता खोलेको र पैसा लुकाउन धेरै देशमा उपशाखा (फाउन्डेसन)हरू सिर्जना गरेको देखिएको छ ।
यो काण्डले मोसाक फोन्सेकालाई बन्द गरायो र पनामाको अन्तर्राष्ट्रिय छविलाई अपतटीय करछलीका रूपमा व्याख्या गरिएको थियो ।
अपतटीय कम्पनीहरू आफैँमा अवैध छैनन् । तिनीहरूलाई प्रयोग गर्न धेरै वैध कारण छन् । तर, तिनीहरूलाई आपराधिक गतिविधिबाट प्राप्त आयलाई शुद्धीकरण गर्न वा दुरुपयोग वा राजनीतिक रूपमा असुविधाजनक सम्पत्ति लुकाउन पनि प्रयोग गर्न सकिन्छ ।
“वास्तवमा त्यहाँ ठूलो अन्याय भएको छ,” मोसाकले सुनवाइको समापनपछि भने ।
“मेरो साथी र मसँग काम गर्ने सबै व्यक्ति गम्भीर, इमानदार र सही थिए,” उनले अगाडि भने । रासस/एएफपी