काठमाडौं । माध्यामिक शिक्षा परीक्षा (एसईई) २०८० को असामान्य नतिजालाई लिएर विज्ञहरूले फरक फरक विश्लेषण गरेका छन् । चार लाख ६४ हजार ७८५ परीक्षार्थीमध्ये ४७.८७ प्रतिशत मात्रै ग्रेडेड हुनुलाई विज्ञहरूले शिक्षा नीति, प्रणाली, शिक्षकहरूको योग्यता र दक्षतासँग जोडेर प्रश्न उठाइरहेको छ ।
५२ प्रतिशत विद्यार्थी नन ग्रेडेड हुनु ‘विद्यार्थी नभई शिक्षक अनुत्तीर्ण भएको’ विज्ञहरूको विश्लेषण छ ।
त्रिभुवन विश्वविद्यालयका सह–प्राध्यापक डा. विष्णुप्रसाद पोखरेल ४७ प्रतिशत विद्यार्थी मात्रै ग्रेडेड हुनु भनेको शिक्षाको अवस्था राम्रो नभएको बताउँछन् । सरकारले सामुदायिक विद्यालयमा शिक्षण सिकाइ प्रक्रियामा लगानी नै नगरेको उनको आरोप छ । सरकारले भौतिक संरचनातिर मात्रै ध्यान दिएको, शिक्षकको पेसागत वृत्तिविकास र तालिमतर्फ ध्यान नदिएको उनको भनाइ छ ।
राजनीतिक दलहरूले विद्यालय र विश्वविद्यालयलाई भर्ती केन्द्र बनाउँदासम्म शिक्षा क्षेत्रमा सुधार नहुने विज्ञहरूको ठहर छ । “मुख्य तीनवटा राजनीतिक दलले शिक्षा क्षेत्र र विश्वविद्यालयलाई भर्ती केन्द्र बनाउन जुनदिनसम्म रोकिँदैन, तबसम्म नेपालको शिक्षा यस्तै हुन्छ,” प्रा.डा.नन्दबहादुर सिंह भन्छन् ।
सामुदायिक विद्यालयका अधिकांश शिक्षक र प्रधानाध्यापकहरूमा राजनीति हाबी हुँदाको असर एसईईको नतिजामा देखिएको उनको बुझाइ छ ।
उच्च माध्यामिक विद्यालय संघ (हिसान)का अध्यक्ष रमेश सिलवाल समग्रमा नेपालको शिक्षा गुणस्तरीय नरहेको धारणा राख्छन् । वाग्मतीको शिक्षामा निजी क्षेत्रका विद्यालयहरूको धेरै योगदान रहेकाले ६६.१ प्रतिशत रिजल्ट आएको उनको दाबी छ । तर, ठूलो संख्यामा विद्यार्थी नन ग्रेडेड हुनु सामुदायिक विद्यालयमा पढाउने शिक्षकहरूको कमजोरी रहेको उनको भनाइ छ । “विद्यार्थी फेल भयो, विद्यार्थी दोस्रो हो । अभिभावक तेस्रो हो, पहिलो त्यो टिचर असक्षम हो,” सिलवाल भन्छन् ।
शिक्षकहरू विद्यार्थीउन्मुख नभइ राजनीतिक दलको झन्डाउन्मुख भएकै कारण यस्तो नतिजा आएको उनको आरोप छ । “शिक्षकले आफ्नो ड्युटी निर्वाह नगरेको नतिजाबाट हुन्छ”, सिलवालले थपे । उनले विद्यालयको भौतिक पूर्वाधार मात्रै नभइ, विषयगत शिक्षक लगायतका विषय पनि सरकारले ध्यान दिनुपर्ने सिलवालको सुझाव छ ।
अभिभावक संघका अध्यक्ष सुप्रभात भण्डारी अहिलेको नतिजा ठीकै भए पनि नयाँ ग्रेडिङ प्रणाली गलत भएको बताउँछन् । ग्रेडिङ नीति बनाउँदा त्रुटि भएको उनको भनाइ छ । ग्रेडिङको मापदण्ड कडाइँ गरेर राज्यले नै विद्यार्थीलाई हतोत्साहित गरेको उनको आरोप छ । “कतिपय विद्यालयमा विषयगत शिक्षक नभएको, घरमा पढ्ने वातावरण नभएको कारण पनि राम्रो रिजल्ट नआएको हो”, भण्डारी भन्छन् ।
एसईईको नतिजा नराम्रो हुनुको पछाडि विद्यालयमा विषयगत शिक्षक नहुनु, व्यवस्थापन राम्रो नहुनु, राज्यले शिक्षामा राम्रो लगानी नगर्नुलगायत रहेको एन–व्याब्सनका सचिव विष्णु पराजुलीको विश्लेषण छ ।
वर्ष २०८० को एसईईमा सहभागी चार लाख ६४ हजार ७८५ विद्यार्थीमध्ये दुई लाख ४२ हजार ३१३ जना १.६ भन्दा कम जीपीए ल्याएर नन ग्रेडेड भएका छन् । गएको वर्ष ०.८ सम्म ल्याउने विद्यार्थीलाई राष्ट्रिय परीक्षा बोर्डले ‘इ’ ग्रेडमा राखेर उत्तीर्ण गराएको थियो ।
यस वर्ष अघिल्ला वर्षहरूझैँ गणित विषयमा सबैभन्दा धेरै एक लाख ७७ हजार ९८५ जना विद्यार्थी नन ग्रेडेड भएका छन् । अंग्रेजीमा एक लाख एक हजार ३८३, विज्ञानमा एक लाख २६ हजार ९३३, सामाजिकमा ७३ हजार ८७७ र अर्थशास्त्रमा ६९ हजार ४१६ जना विद्यार्थी नन ग्रेडेड भएका छन् ।
दुई वटासम्म विषयमा नन ग्रेडेन हुने विद्यार्थीले साउनमा हुने ग्रेडवृद्धि परीक्षामा सामेल हुन पाउँछन् । यीबाहेक एक लाख २६ हजार २९७ विद्यार्थीले भने दुईभन्दा बढी विषयमा नन ग्रेडेड भएर फेरि कक्षा १० दोहोर्याउनुपर्ने भएको छ । नन ग्रेडेड हुने विद्यार्थीको संख्या बढे पनि धेरैवटा विषयमा अनुत्तीर्ण हुनेको संख्या घटेको राष्ट्रिय परीक्षा बोर्डका अध्यक्ष महाश्रम शर्मा बताउँछन् ।