बोलिभिया । दक्षिण अमेरिकी मुलुक बोलिभियामा प्रहरीले ‘कू’को प्रयास गर्ने नेतालाई पक्राउ गरेको छ । राजधानी ला पाजस्थित राष्ट्रपति भवनमा पूर्वसेनाप्रमुखको नेतृत्वमा सेनाले घेराउ गरेको केही घण्टापछि त्यसको नेतृत्व गरिरहेका व्यक्तिलाई प्रहरीले पक्राउ गरेको हो ।
हतियारसहितका गाडी र सेना समेत मुरिलो चोकमा तयारी अवस्थामा राखिएका थिए । जहाँ सरकारका मुख्य कार्यालयहरू छन् । त्यहाँबाट अहिले सेना फिर्ता हुन थालेको छ ।
विद्रोही सैनिक मिलिटरी इन्चार्ज जनरल जुआन जोस जुनिगाले आफूले प्रजातन्त्रको पुनसंरचना गर्न चाहेको बताएका थिए । उनी अहिले पक्राउ परेका छन् ।
राष्ट्रपति लुइस आर्कले ‘कू’ को प्रयासको भर्त्सना गरेका छन् । उनले जनतालाई प्रजातन्त्रको पक्षमा संगठित भएर परिचालन हुन आह्वान गरेका छन् ।
“बोलिभियन जनजीवनलाई फेरि एक पटक ‘कू’ हुनका लागि हामी अनुमति दिन सक्दैनौं”, उनले टेलिभिजनमार्फत दिएको सन्देशमा भनेका छन् । उनी राष्ट्रपति भवन भित्रैबाट टेलिभिजन सन्देश दिइरहेका थिए । उनले एक दिनअघि मात्रै जुनिगालाई सेना प्रमुखबाट हटाएका थिए ।
बोलिभियामा भएको ‘कू’ को प्रयासलाई उसका छिमेकीदेखि समग्र अन्तराष्ट्रिय निकायले निन्दा गरेका छन् । बीबीसी