site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
मन्त्री महासेठले गरे निर्माणाधीन मुग्लिन–पोखरा सडक अनुगमन

तनहुँ । उपप्रधान एवं भौतिक पूर्वाधार तथा यातायातमन्त्री रघुवीर महासेठले निर्माणाधीन मुग्लिन–पोखरा सडकखण्डको शनिबार अनुगमन गरेका छन् । महासेठले मुग्लिन–पोखरा सडक योजना (पूर्वी खण्ड)अन्तर्गत तनहुँको आँबुखैरेनीदेखि बन्दीपुर गाउँपालिका–१, डुम्रेसम्म अनुगमन गरेका हुन् ।

त्यसक्रममा उनले आयोजनाको प्रगतिबारे चासो राख्दै बाँकी कामलाई तीव्रता दिन निर्देशन दिए । उनले पूर्वी खण्डको म्याद सकिएर पुनः थपिएको र त्यसभित्रै काम सम्पन्न गर्न ठेकेदार कम्पनीलाई सुझाव दिए ।

मुग्लिन–पोखरा सडक योजना (पूर्वी खण्ड)का इन्जिनियर विष्णुप्रसाद पौडेलले आँबुखैरेनीदेखि जामुनेसम्म ६२ प्रतिशत प्रगति भएको जानकारी गराए । पूर्वी खण्डमा ०७७ माघ १७ मा सम्झौता भई ०७८ वैशाख २ गतेदेखि काम थालिएको थियो । पूर्वी खण्डको ठेक्का चाइना कम्युनिकेसन कन्स्ट्रक्सनले पाएको छ ।

आँबुखैरेनीदेखि जामुनेसम्म २२.५ किलोमिटर चार लेन र ७.५ किलोमिटर दुई लेनमा कालोपत्र सकिएको छ ।

०२६ मा रेखांकन गरिएको सडकमा सवारीको चाप बढ्दै गएपछि एसियाली विकास बैंक (एडीबी)को ऋण सहयोगमा चार लेनको बनाउन लागिएको हो । पूर्वी खण्डको ठेक्का ६ अर्ब २१ करोड ३१ लाख १३ हजार र पश्चिम खण्डको सात अर्ब ४० करोड ४६ लाख रुपैयाँमा ठेक्का लागेको छ । रासस

प्रकाशित मिति: शनिबार, असार ८, २०८१  १८:५२
प्रतिक्रिया दिनुहोस्