site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Global Ime bankGlobal Ime bank
साउन १ देखि सबै विदेशी नियोगमा अनलाइनबाट वैदेशिक रोजगारी मागपत्र प्रमाणीकरण : श्रममन्त्री

काठमाडौं । श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री डोलप्रसाद अर्यालले आउँदो साउन १ गतेदेखि विदेशी नियोगहरूमा अनलाइनबाट वैदेशिक रोजगारी मागपत्र प्रमाणीकरण गरिने बताएका छन् । आफूले कार्यभार सम्हालेको १०० दिनमा गरेका कामका बारेमा जानकारी दिन आइतबार सिंहदरबारस्थित मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा उनले यस्तो बताएका हुन् ।

उनले प्रमुख श्रम गन्तव्य साउदी अरब, कतार, मलेसिया र खाडीका अरू देशमा अनलाइनबाट उक्त मागपत्र प्रमाणीकरणको सुरुआत गरिने उल्लेख गरे । अहिलेसम्म प्रमुख श्रम गन्तव्यमा अनलाइन प्रणालीको विकास नहुँदा रोजगारदाता कम्पनीले दूतावासमा धाउनुपर्ने, कागजातको आधिकारिकता परीक्षण गर्न कठिनाइ हुने, कार्य प्रक्रिया पारदर्शी नहुने, धेरै समय र लागत लाग्नेजस्ता गुनासा आएको उनले बताए । अनलाइन प्रमाणीकरण गर्ने कार्य दुबईमा सुरुआत गरिएको उनले जानकारी गराए ।

उनले कन्सुलर सेवा विभाग र मन्त्रालयले संयुक्त रूपमा सूचना प्रविधिको उच्चतम प्रयोग गर्दै सरल र सहज सेवा प्रदान गर्नेतर्फ काम भइरहेको बताए । नेपाली कामदारलाई समस्या परेमा मद्दत गर्न सघाउ पुग्ने, सम्पूर्ण प्रक्रिया सरल, सहज र पारदर्शी भई विद्युतीय सुशासन कायम तथा सेवाग्राही लाभान्वित हुने अपेक्षा रहेको उनले सुनाए ।

उनले जापान, कोरिया र इजरायलमा कामदार भिसामा श्रमिक पठाउने विषयमा अध्ययन गरिरहेको बताए । सरकार यस विषयमा छिटो निर्णयमा पुग्ने उनले उल्लेख गरे ।

“डिग्री पास अंग्रेजी भाषामा गरे पनि विदेशमा काम गर्न जाँदा अंग्रेजी भाषा सिकेर ५० नम्बर ल्याएर मात्रै जान पाउने विवादास्पद कार्यविधिलाई हामीले खारेज गरेका छौँ,” उनले भने, “मन्त्रालयको काम माग प्रमाणीकरण गर्ने होइन । मन्त्रालयले पोलिसी बनाउने हो ।”

श्रममन्त्री अर्यालले वैदेशिक रोजगारीमा गएर मृत्यु भएका श्रमिकका परिवारले पाउने क्षतिपूर्ति बढाउने तयारी गरिएको बताए । वैदेशिक रोजगारीमा गएर मृत्यु भएका श्रमिकका परिवारलाई दिइँदै आएको क्षतिपूर्ति रकम सात लाखबाट बढाएर १० लाख रुपैयाँ पुर्‍याउने तयारी गरिएको उनले जानकारी गराए ।

उनले श्रमका निम्ति सकेसम्म नेपाली विदेश जानु नपर्ने देश बनाउनेतर्फ ध्यान दिइने बताए । न्युज एजेन्सी नेपाल

प्रकाशित मिति: आइतबार, असार २, २०८१  १७:३४
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
MPG Admark South Asian UniversityMPG Admark South Asian University
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro