site stats
बाह्रखरी :: Baahrakhari
देश
सेवाग्राहीको चाप बढेपछि चितवनमा राष्ट्रिय परिचयपत्रको विवरण संकलन बिहानैदेखि

चितवन । राष्ट्रिय परिचयपत्र वितरण तथा विवरण संकलन बिहान ७ बजेदेखि थालिएको छ । जिल्ला प्रशासन कार्यालय चितवनले सोमबारदेखि बिहान ७ बाट साँझ ५ बजेसम्म वितरण तथा विवरण संकलन सुरु गरेको हो ।

कार्यालयका सूचना अधिकारी अन्तिम सिंजालीका अनुसार आगामी असार मसान्तसम्म बिहान ७ बजेबाट विवरण संकलन गर्न लागिएको हो । परिचयपत्रको विवरण संकलन गर्न आउने सेवाग्राहीको चाप बढेपछि एक महिनाका लागि समय थप गरी सेवा दिन लागिएको उनले बताए । 

Argakhachi Cement Island Ad

जिल्लामा चालु आर्थिक वर्षको वैशाखसम्ममा २८ हजार ५६० जनाले राष्ट्रिय परिचयपत्र विवरण संकलन गराएका छन् । उनले भने, “अहिले दैनिक तीनदेखि चार सय सेवाग्राही राष्ट्रिय परिचयपत्र बनाउन आउने गरेका छन् । हाम्रो कोटा दिनमा १७० जनाको मात्र हो ।” 

ज्ञ-1718075148.jpg
 

सोवाग्राहीको चाप बढेसँगै एक महिनाका लागि अभियानका रूपमा बिहानबाट नै सेवा दिन थालिएको जनाउँदै उनले भने,  “भीड कम नभए अभियानलाई निरन्तरता दिइनेछ ।” परिचयपत्र बनाउने सेवाग्राहीको चाप बढेसँगै फोटो खिच्ने ‘स्टेशन’ थप गरिएको उनले बताए । 

पहिला चारवटा मात्रै ‘स्टेशन’बाट सेवा दिइएकामा अहिले थप गरेर पाँचवटा बनाउँदा समेत चाप कम हुन नसकेको उनले बताए । 

सरकारले लागु गरेको सामाजिक सुरक्षा कोषसँगै वैदेशिक प्रयोजन र अन्य कामका लागि परिचयपत्र आवश्यक पर्ने भएपछि सेवाग्राहीको चाप बढेको उनले बताए । परिचयपत्र लिनेको भीडले अन्य सेवामा समेत प्रभाव पारेको भन्दै उनले हरेक पालिकामा शिविरको रूपमा अभियान चलाउने सोचमा प्रशासन रहेको जानकारी दिए । 

यस विषयमा विभागसँग छलफल चलिरहेको जनाउँदै उनले शिविर चलाउन सकेमा भीड कम गर्न सहज हुने बताए । रासस

प्रकाशित मिति: मंगलबार, जेठ २९, २०८१  ०८:५१
प्रतिक्रिया दिनुहोस्