काठमाडौं । सुरुआती अग्रता बनाए पनि त्यसलाई जोगाउन नसक्दा अन्तर्राष्ट्रिय मैत्रीपूर्ण फुटबलमा नर्दन आयरल्यान्डले स्पेनसँग ५–१ को निराशजनक हार बेहोरेको छ ।
शनिबार राति मायोर्कास्थित सन मोइक्समा भएको खेलमा ड्यानियल बालार्डले ७० सेकेन्डमा गोल गर्दै पाहुना टिम नर्दन आयरल्यान्डलाई अग्रतामा राखेका थिए । तर, नर्दन आयरल्यान्डको यो अग्रता लामो समय टिक्न भने सकेन । १२औँ मिनेटमा पेड्रीले गोल गर्दै घरेलु समर्थकमाझ स्पेनलाई खेलमा फर्काएका थिए । त्यसको ६ मिनेटपछि नै अल्भारो मोराटाले गोल गर्दै स्पेनलाई २–१ को अग्रतामा राखे ।
२९औँ मिनेटमा पेड्रीले दोस्रो गोल गर्दा स्पेनले ३–१ को अग्रता बनाएको थियो । ३५औँ मिनेटमा फाबियन रुइजले गोल गरेपछि स्पेनले पहिलो हाफमै ४–१ को अग्रता बनाएको हो ।
६०औँ मिनेटमा मिकेल ओयारजाबाईले गोल गर्दै स्पेनलाई ५–१ को अग्रतामा राखेका थिए । यसपछि थप गोल नहुँदा स्पेनले युरो–२०२४ अघि सानदार जित दर्ता गरेको हो ।
जुन १५ देखि सुरू हुने युरोपियन च्याम्पियनसिपमा स्पेन समूह ‘बी’ मा छ । यो समूहमा स्पेनसँगै क्रोएसिया, इटाली र अल्बानिया छन् ।