site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
काठमाडौंमा अहिलेको गर्मी सामान्य हो ? योभन्दा बढी हुने सम्भावना छ ?
फाइल तस्बिर ।
SkywellSkywell

काठमाडौं । तराईका समथर भू–भागसहित देशका अधिकांश स्थानको तापक्रम बढेको छ । तापक्रमसँगै गर्मी पनि बढ्दै गएको छ । तराईका केही जिल्लामा अधिकतम तापक्रम ४० डिग्री सेल्सियसभन्दा माथि मापन गरिएको छ । काठमाडौं उपत्यकामा पनि गर्मी बढेको छ ।

बिहीबार (हिजो) काठमाडौंको अधिकतम तापक्रम ३४.४ डिग्री सेल्सियस पुगेको थियो । बुधबार काठमाडौंको अधिकतम तापक्रम ३३.२ डिग्री सेल्सियस मापन गरिएको जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।

विभागले यो वर्ष अहिलेसम्म काठमाडौंको सबैभन्दा बढी तापक्रम बिहीबार (जेठ १७) र जेठ ११ मा समान ३४.४ मापन गरेको छ । यो वर्ष काठमाडौंमा ३४.४ डिग्री सेल्सियसभन्दा माथि तापक्रम पुग्ने सम्भावना कम रहेको मौसमविद् सरोज पुडासैनी बताउँछन् । “अहिलेको मौसमी प्रणाली अध्ययन गर्दा यो वर्ष काठमाडौंमा अब ३४.४ डिग्रीभन्दा माथि तापक्रम पुग्ने सम्भावना न्यून नै छ,” उनले बाह्रखरीसँग भने ।

KFC Island Ad
NIC Asia

बदली (आकाशमा बादल) र वर्षा भइरहने सम्भावना उच्च रहेकाले तापक्रम धेरै बढ्ने सम्भावना न्यून रहेको उनको भनाइ छ । सम्भावनालाई नकार्न नै भने नसकिने मौसमविद् पुडासैनी स्पष्ट पार्छन् ।

काठमाडौंमा हालसम्मकै उच्च तापक्रम सन् १९८९ मे ७ मा मापन गरिएको थियो । विभागले त्यस दिन काठमाडौंको अधिकतम तापक्रम ३६.६ डिग्री सेल्सियस मापन गरेको थियो ।

Royal Enfield Island Ad

विभागका अनुसार, १९८९ पछि काठमाडौंमा सबैभन्दा धेरै गर्मी २०१५ जुलाई २८ मा भएको थियो । त्यस दिन काठमाडौंको अधिकतम तापक्रम ३४.६ डिग्री सेल्सियस मापन गरिएको थियो । उक्त वर्ष नेपालमा जुन १३ मा मनसुन भित्रिएको थियो ।

“यो मनसुन सुरु भइसकेपछिको तापक्रम थियो । त्यसैले प्रिमनसुनभन्दा पनि मनसुनमा उच्च तापक्रमको रेकर्ड भएकाले अब योभन्दा माथि काठमाडौंको तापक्रम जाँदैन नै भनेर त भन्न सकिने भएन,” उनी थप्छन्, “तर, अहिलेको प्रणाली अध्ययन गर्दा काठमाडौंमा ३४.४ भन्दा धेरै तापक्रम हुँदैन कि भन्ने हो ।”

नेपालमा मार्च, अप्रिल र मे सबैभन्दा धेरै गर्मी हुने अवधि हो । यो प्रिमनसुनको समय हो । यी तीन महिनाको अवधिमा नेपालमा सबैभन्दा धेरै गर्मी हुने गरेको छ । तर, कहिलेकाहीँ जुन र जुलाईमा पनि अथवा मनसुन सुरु भइसकेपछि पनि प्रिमनसुनको भन्दा धेरै गर्मी भएको रेकर्ड छ ।

कसरी हुन्छ यस्तो ?
मनसुन सक्रिय भएका बेला तापक्रम घट्ने तर मनसुनी गतिविधि ‘ब्रेक’ भएको समयमा पुनः गर्मी बढ्ने उनी बताउँछन् । “मनसुनमा ब्रेक फेज पनि हुन्छ । मनसुनमा ब्रेक फेज भनेको पानी नपर्ने र सुक्खा हुने हो,” मौसमविद् पुडासैनी भन्छन्, “ब्रेक फेजको समयमा तापक्रम बढ्ने सम्भावना हुन्छ ।” जुलाईमा काठमाडौंको तापक्रम ३४.६ पुग्दा सम्भवतः मनसुनको ‘ब्रेक फेज’ रहेको हुन सक्ने उनको भनाइ छ । 

काठमाडौंमा ३३/३४ डिग्री तापक्रम सामान्य
काठमाडौंमा ३३/३४ डिग्री सेल्सियस तापक्रम हुनु सामान्य रहेको मौसमविद् बताउँछन् । हरेक वर्ष यसकै सेरोफेरोमा तापक्रम रहने गरेको मौसमविद् विभूति पोखरेल सुनाउँछिन् । “अहिले गर्मी हुने बेला नै हो । यो मौसमका लागि गर्मी सामान्य प्रक्रिया हो,” विभागकी सूचना अधिकारी समेत रहेकी पोखरेल भन्छिन्, “गर्मी बढ्दै गएर मनसुन ल्याउने एक्टिभिटी बढाउने हो ।”

मनसुन भित्रिन औसतमा करिब दुई हप्ता बाँकी रहेकाले तापक्रम अझै बढ्न सक्ने उनी बताउँछिन् । तर, बढ्छ नै भनेर यकिन गर्न नसकिने उनी स्पष्ट पार्छिन् ।

विगतका झैँ समग्रमा यो वर्ष पनि तापक्रम बढ्ने अनुमान गरिएको पोखरेलको भनाइ छ । गत वर्ष पनि तापक्रम बढेको थियो । उनी भन्छिन्, “गत वर्ष अघिल्ला वर्षहरूको तुलनामा तातो वर्ष भएको थियो । यो वर्ष गत वर्षभन्दा पनि तातो हुने हाम्रो पूर्वानुमान छ ।”

प्रिमनसुनमा कसरी हुन्छ गर्मी ? 
सूर्य उत्तरायण भएपछि उत्तरी गोलार्धमा तापक्रम बढ्ने गरेको मौसमविद्को भनाइ छ । यसरी बढ्ने तापक्रम मनसुन सुरु नहुँदासम्म गर्मी बढ्ने मौसमविद् प्रतिभा मानन्धर बताउँछिन् । “मनसुन सुरु नभएसम्म निरन्तर तापक्रम बढ्ने हुन्छ । यद्यपि, बीचबीचमा बदली र कुनै प्रणालीले वर्षा गरायो भने केही घट्ने पनि हुन्छ,” उनी भन्छिन्, “स्थानीय वायुको प्रभावका कारण वर्षा हुने सम्भावना रहन्छ । तर, जुन ठाउँमा स्थानीय वायुको प्रभाव परेको हुन्छ । त्यसले बादल बनाउन नसक्ने र वर्षा गराउन नसक्दा तापक्रम बढ्दै जान्छ ।” 

पहाडी भू–भागमा तापक्रम बढे पनि बादल बन्ने र घाम छेक्ने सम्भावना भएकाले धेरै गर्मी हुँदैन । त्यसैले तराईका क्षेत्रमा जति गर्मी काठमाडौं वा अन्य पहाडी क्षेत्रमा नहुने गरेको उनको भनाइ छ । 

समथर भू–भाग तराईमा तापक्रम बढेपछि बादल पनि नलाग्ने र घाम नछेकिने भएकाले तापक्रम बढ्ने उनी बताउँछिन् ।

तातो हावा कसरी चल्छ ?
स्थानीयस्तरमा चलिरहेको हावा नै उच्च तापक्रमका कारण तातो हुने मौसमविद् मानन्धरको भनाइ छ । “कुन स्थान र कताबाट आएको हावा हो त्यसमा पनि भर पर्छ । अहिले हाम्रोमा पश्चिमी वायुको प्रभाव रहेको छ,” उनी भन्छिन्, “पूर्वी नेपालमा बंगलादेश आसपासको न्यूनचापीय प्रणालीको प्रभाव परिरहेको छ । तर, यसको धेरै प्रभाव नरहेका कारण गर्मी बढिरहेको छ ।” 

अरू मौसममा जस्तै निरन्तर चलिरहने हावा नै तातो भएको उनको भनाइ छ । जुनसुकै स्थानबाट बहेर हावा आए पनि सूर्यको किरण परेर तातो हुने उनले जानकारी दिइन् । 

“हावा तातो हुनुमा सबैभन्दा ठूलो प्रभाव स्थान विशेषमा आइपुगेपछि सूर्यको किरणको तातो नै हो,” उनले भनिन् ।

मनसुन सुरु नहुँदासम्म गर्मी
नेपालमा मार्च, अप्रिल र मेलाई प्रिमनसुनको अवधि मानिन्छ । यो समय सबैभन्दा धेरै गर्मी हुने अवधि हो । यी तीन महिना तातो हावाको लहर सबैभन्दा धेरै चल्ने सम्भावना उच्च हुन्छ । 

“मनसुन सुरु हुनुभन्दा अगाडिसम्म तातो हावाको लहर रहने सम्भावना रहिरहन्छ । बीचमा केही समय स्थानीय र पश्चिमी वायुले बादल बनाएर पानी पर्‍यो भने त्यो छुट्टै कुरा भयो । स्थानीय वायुले एकै पटक देशभर बादल बनाउने र वर्षा गराउने सम्भावना हुँदैन,” उनी भन्छिन्, “प्रिमनसुन जुन १३ सम्म मात्रै हो । त्यसपछि मनसुन अवधि सुरु हुन्छ ।” जुन १३ नेपालमा मनसुन प्रवेश गर्ने औसत मिति हो ।

हालसम्मकै गर्मीको रेकर्ड 
नेपालमा हालसम्मकै उच्च तापक्रम सन् १९९५ मा मापन गरिएको थियो । १९९५ जुन ५ मा धनगढीमा मापन गरिएको तापक्रम नै अहिलेसम्म नेपालमा सबैभन्दा धेरै हो ।

त्यस दिन धनगढीको अधिकतम तापक्रम ४६.४ डिग्री सेल्सियस मापन गरिएको थियो । त्यसयता त्यति धेरै तापक्रम नेपालमा मापन गरिएको छैन ।

सन् १९९५ मा नेपालगन्ज र भैरहवामा तापक्रम ४५ डिग्री सेल्सियससम्म पुगेको थियो । त्यसयता ती क्षेत्रमा पनि त्यति तापक्रम पुगेको छैन ।

NIBLNIBL
प्रकाशित मिति: शुक्रबार, जेठ १८, २०८१  १०:३७
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
Nepatop (PlastNepal)Nepatop (PlastNepal)
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
कोप-२९ ले दिएको अवसर खेर नफाल 
कोप-२९ ले दिएको अवसर खेर नफाल 
SubisuSubisu
Hamro patroHamro patro