नयाँ दिल्ली । विगत केही दिनदेखि भारतको उत्तरी क्षेत्रमा तापक्रम ५० डिग्री सेल्सियसको हाराहारीमा पुगेको छ । गर्मीसँगै उष्ण लहर प्रवाहित हुन थालेपछि दिल्लीसँग जोडिएको गुरुग्राम सहरका विद्यालयहरू आउँदा पाँच दिनका निम्ति बन्द गरिएको छ ।
भारतीय मौसम विज्ञान विभाग (आईएमडी)का अनुसार दिल्ली, हरियाणा, पञ्जाब, राजस्थान र उत्तर प्रदेशको पश्चिमी भागमा व्यापक उष्ण लहर चलिरहेको छ । यो अत्यधिक तातो हावा प्रवाहित हुने क्रम आउँदा केही दिनसम्म जारी रहने अनुमान गरिएको छ ।
प्रतिकूल मौसमबाट बालबालिकालाई बचाउनका निम्ति दिल्लीसँग जोडिएको हरियाणा राज्यको एक भाग गुरुग्राममा कक्षा–८ सम्मका विद्यालयहरू बन्द गरिएको छ ।
उष्ण लहरसँगै गर्मीका कारण हुने विविध स्वास्थ्य समस्यापछि खासगरी सहरी क्षेत्रमा अधिकारीहरूले अतिआवश्यकबाहेकको अवस्थामा घरबाहिर ननिस्कन र छहारीमा बस्न नागरिकलाई आग्रह गरेका छन् । रासस/सिन्ह्वा