काठमाडौं । गत वर्षको जेठमा नै ६३ दिनसम्म माइतीघर मण्डलामा रिले अनशन बसेका सहकारीबाट ठगिएका पीडितहरूले पुनः आन्दोलन गर्न थालेका छन् । गत वर्ष सरकारले आन्दोलन रोक्न गरेको सम्झौता हालसम्म पनि कार्यान्वयनमा नल्याएको भन्दै सहकारी बचतकर्ता संरक्षण राष्ट्रिय अभिययान (महासंघ)को नेतृत्वमा आन्दोलन थालिएको हो ।
शुक्रबार उनीहरूले माइतीघर मण्डलामा प्रदर्शन गरे । उनीहरूले माइतीघरदेखि बिजुली बजारसम्म नारा लगाएर मार्चपास गरेका थिए ।
सबैजसो प्रदर्शनकारी आक्रोशित देखिन्थे । जीवनभर कमाएको पैसा सहकारीका सञ्चालकले हिनामिना गरिदिएपछि उनीहरूको आक्रोश स्वाभाविक थियो । प्रदर्शनका क्रममा उनीहरूले सहकारीका सञ्चालकलाई मात्र गाली गरेनन्, सरकारमा बसेका नेताहरूमाथि पनि आक्रोश पोखे । उनीहरूको एउटै माग थियो– 'जसरी हुन्छ, हाम्रो बचत फिर्ता गर ।'
बर्सौंदेखिको मेहनतको कमाइ सहकारीले गायब पारिदिएपछि उनीहरूले विभिन्न निकाय गुहारे । तर, कतैबाट पनि न्याय नपाएपछि उनीहरू सडकमा ओर्लिएका हुन् ।
उसो त सडक आन्दोलनमा आएको पनि एक वर्ष बितिसकेको छ । यस बीचमा महासंघले नै माइतीघरदेखि तीनकुनेको चौरमा पनि आन्दोलन गरिरह्यो । तर, अहिलेसम्म उनीहरूले सरकारबाट न्याय पाउन सकेका छैनन् ।
कोण सभाको अगाडि स्टेजमा गएर माइकमा बोल्न सक्नेले त आफ्नो मनमा आएको सबै आक्रोश र वेदना पोखे । तर, त्यही भिडमा आफ्नै सहकारीको नामसमेत थाहा नपाउने बचतकर्ताहरू पनि थिए । उनीहरूलाई अप्रत्यक्षरूपमा सोधखोज गर्दा आफ्ना आफन्तले बचत गर्दै आएको सहकारीमा आफूले ब्याज आउने र घरखर्च टार्न सहज हुने आशाले बचत गरेको बताउँथे ।
त्यही हुलमुमा सिन्धुपाल्चोक घर भएकी काठमाडौंको बौद्ध स्तुपा नजिकै बसोबास गर्दै आएकी फुर्बा शेर्पा भेटिइन् । उनले बौद्धमै भएको एक सहकारीमा बचत गर्दै आएकी थिइन् । यो सहकारीको नाम उनलाई स्पष्ट थाहा भएन । उनले यो सहकारीमा १२ लाख रुपैयाँ जम्मा गरेको बताउँछिन् । तर, यसका सञ्चालकले उनको पैसा फिर्ता दिएनन् । अहिले यो सहकारीको न बोर्ड छ, न अफिस नै ।
“त्यहाँको सर गौतम हो । उसको थर श्रेष्ठ त होला । उसकै नामबाट सहकारी खोलेको भन्ने छ । अरू कोही दुई/तीन जना मिलेर खोलेको हुन्छ नि, त्यस्तो छैन,” शेर्पाले भनिन्, “मैले १२ लाख जम्मा गरेकी थेँ । मैले जम्मा गरेको धेरै वर्ष भयो । मेरो माइली बहिनीले २५ हजार दिएर खाता खोलेको । मेरो श्रीमान् छैनन् । बहिनीहरूले र उनीहरूका छोराहरूले ५/१० हजार दिएको पनि यही जम्मा गरेकी थेँ ।”
शेर्पा सडकमा झोला बेच्दै हिँड्छिन् । उनले त्यही व्यवसायबाट कमाएको पैसा सहकारीमा जम्मा गरेकी थिइन् । तर, छोरालाई विदेश पठाउनका लागि पैसा झिक्न जाँदा उनले आफ्नो पैसा पाइनन् । उनलाई अफिसमा पैसा नभएको भनेर ५० हजार दिएर पठाएको उनले बाह्रखरीलाई सुनाइन् ।
“मैले जम्मा गरेको धेरै वर्ष भयो । आफ्नै घरमा अफिस खोलेकाले भाग्दैन भनेर पैसा जम्मा गरेकी थेँ,” उनले भनिन्, “अब उमेर घट्दै गयो । भाडामा बसेकी छु । दुई छोरा र एक छोरी छन् । उनीहरू विदेश जालान् भनेर खर्च जुटाउन सहकारीमा जम्मा गरेकी थेँ ।”
सहकारीमा पैसा जम्मा गर्नेहरूले प्राय: सहकारीको बारेमा बुझेका हुँदैनन् । उनीहरूलाई सहकारीका कर्मचारीले भनेअनुसार नै पैसा जम्मा गरेका हुन्छ । त्यसका साथै सानो बचत गर्नेहरूले अफिस पनि देखेका हुँदैनन् । अफिस पनि पुगेका हुँदैनन् ।
यसरी धेरै बचतकर्ताहरू सहकारीबाट ठगिएका छन् । कर्मचारी त काम छोडेर हिँड्छन् । उनीहरूले काम छोडेपछि कार्यालय नै पत्ता लगाउँन नसकेको कतिपयले त १–२ लाख रुपैयाँको माया नै मार्ने पनि गरेका छन् ।
कुमारी गुरुङ बल्खुमा बस्दै आएकी छिन् । उनले पनि गौतम श्री बहुद्देश्यीय सहकरीमा १० लाख रुपैयाँ जम्मा गरेकी छन् । उनले अलिअलि गरेर ६ लाख रुपैयाँ यो सहकारीमा बचत गरेकी थिइन् भने चार लाख रुपैयाँ श्रीमान्ले कमाएर ल्याएको पैसा पनि यही सहकारीमा जम्मा गरेकी थिइन् ।
श्रीमान् बिरामी परे । श्रीमान्को उपचार गर्न पैसा झिक्न जाँदा पनि आफ्नै पैसा उनले पाइनन् । अहिले उनका श्रीमान् बितिसके । कुमारी बिरामी छिन् । आफूसँग पैसा नभएर अस्पताल पनि जान नसकेको उनको वेदना छ ।
“मेरो श्रीमान् बित्नुभइसक्यो । खाइ नखाइ सहकारीमा जम्मा गरेको पैसा हामीले फिर्ता पाएनौँ,” उनले भनिन्, “आन्दोलनमा आउँदा उल्टै खर्च हुन्छ । म बिरामी हुँदा पनि हस्पिटल जान खर्च पाइनँ । सहकारीमा जम्मा गरेको आफ्नै पैसा पनि पाइएन ।”
गौतमश्री सहकारीबाट नै पीडित यज्ञकुमारी खतिवडाको कथा पनि फरक छैन । आफूले ३० वर्षमा अरूका जुठा भाँडा माझेर कमाएको पाँच लाख गौतमश्री सहकारीले खाइदिएको उनी बताउँछिन् । उनी मृगौँला रोगी हुन् । उनीसँग पैसा नभएर आफ्नो उपचार गर्न पाएकी छैनन् । अहिलेसम्म आन्दोलनमा हिँड्दा सहकारीबाट लिनुभन्दा बढी खर्च भएको उनी बताउँछिन् ।
“हाम्रो पैसा खाएर भाग्यो । अहिले समस्याग्रस्त सहकारी व्यवस्थापन कार्यालयमा गएको रहेछ । हामीले त्यो कार्यालयमा गएर फारम पनि भरिसकेका छौँ,” खतिवडाले भनिन्, “अहिले पनि म बिरामी छु । ६/६ महिनामा हस्पिटल जानुपर्छ । पैसा नभएर मैले मेरो उपचार गर्न पाएकी छैन ।”
फुर्बा शेर्पा, कुमारी गुरुङ र यज्ञकुमारी खतिवडा प्रतिनिधि पात्र हुन् । उनीहरूजस्तै पीडा बोकेर देशका विभिन्न ठाउँका सहकारी पीडित आन्दोलनका लागि अहिले काठमाडौं आएका छन् ।
देशैभरका सर्वसाधारणहरू यसरी नै ठगिएका छन् । आन्दोलनमा सहभागी जो सुकैलाई सोधे पनि उनीहरूको एउटै माग हुन्छ– 'हाम्रो पैसा फिर्ता होस् ।'
उनीहरूले गास काटेर दैनिक ५०–१०० रुपैयाँ जम्मा गरेको पैसा सञ्चालकले जथाभाबी लगानी र खर्च गरेर उडाएका छन् । तर, सरकारले ती सञ्चालकलाई कारबाही गर्न सकेको छैन ।
पछिल्लो समय नेपाली कांग्रेसले सहकारीका बचतकर्ता पीडितको पक्षमा भन्दै संसद्मा आवाज उठाउँदै आएको छ । तर, उनीहरूको गतिविधि हेरिरहेका महासंघका नेताहरू सन्तुष्ट छैनन् ।
“अहिले जसरी कांग्रेसले संसद्मा आवाज उठाएको छ, त्यो आम सर्वसाधारण बचतकर्ताको हितमा नभएर राजनीतिक स्वार्थमा व्यक्ति केन्द्रत कुनै एक दुई सहकारीलाई लक्षित गरिएको छ,” महासंघका उपाध्यक्ष तथा प्रवक्ता पुरुषोत्तम कार्की भन्छन्, “कांग्रेसले सहकारीका आम सर्वसाधारण बचतकर्ताको हितलाई हेरेको छैन ।”
उनले आफूहरूका माग पूरा नभएसम्म आन्दोलन जारी राख्ने पनि बताए । गत वर्ष पनि ६३ दिनसम्म माइतीघरमा आन्दोलन गरेको भन्दै उनले सरकारले आम सर्वसाधारण बचतकर्ताको संरक्षण नगरेसम्म आफूहरूको फेरि रिले अनशन थाल्ने बताए ।