काठमाडौं । सहकारीको बचत अपचलनको विषयमा सत्तारूढ दलहरू संसदीय छानबिन समिति बनाउन लचक देखिएका छन् ।
बिहीबार बिहान प्रधानमन्त्री निवास बालुवाटारमा बसेको प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड, एमाले अध्यक्ष केपी शर्मा ओली र गृहमन्त्री समेत रहेका रास्वपा सभापति रवि लामिछानेबीच समिति बनाउने विषयमा सकारात्मक संवाद भएको स्रोतले जानकारी दिएको छ ।
बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसले समिति बनाउनुपर्ने माग राखेर सदन चल्न नदिएको उल्लेख गरेका थिए ।
उनले सदनको गतिरोध र सिङ्गो राजनीतिक माहोलको सुधार गर्न समिति बनाएर जानुपर्ने धारणा राखेको स्रोतले जानकारी दियो ।
बैठकमा गृहमन्त्री लामिछानेले पनि समिति बनाउने भए पनि त्यसअघि आफूले सदनमा बोल्न पाउनुपर्ने बताएका थिए ।
उनले आफूले सदनलाई सम्बोधन गरेर आफ्नो कुरा राख्ने र त्यसपछि समिति बनाउन सकिने कुरा राखेको स्रोतले बतायो ।
सत्तारूढ दलका एक नेताले बाह्रखरीलाई दिएको जानकारी अनुसार सहमति खोज्न प्रधानमन्त्री प्रचण्डले संसद् बैठकको समय सार्न सभामुखसँग अनुरोध गरेका हुन् ।
अहिले प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेससँग यही विषयमा अनौपचारिक छलफल संवाद भइरहेको ती नेताले बताए । “लगभग समिति गठनउन्मुख छलफल भएको छ । त्यसैले संसद् बैठकको समय सारियो । कांग्रेससँग पनि अहिले संवाद भइरहेको छ,” उनले भने ।
प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसका एक शिर्ष नेताले पनि प्रधानमन्त्री समिति बनाउनु पर्ने पक्षमा उभिएको जानकारी आफूहरूलाई आएको बताए । समिति बन्ने ग्यारेन्टी भए आजको संसद बैठक अघि बढ्ने भनाइ उनको छ ।