काठमाडौं । जीवनको पाँच दशक पार गरेकी मलेसियाकी माला भेल्लो सन् २०१२ मार्च २४ मा त्रिभुवन विमानस्थल ओर्लिइन् ।
क्वालालम्पुरको एक होटलमा सामान्य क्लिनर काम गर्ने ‘ए’ २५६६५४६७ नम्बरको पासपोर्ट बोकेकी मालाले भिजिट भिषामा नेपाल प्रवेश पाएकी थिइन् ।
आवरण भिजिट भिषा भए पनि उनी नेपाल आउनुको उद्देश्य भने नयाँ जीवन सुरु गर्नु थियो । त्रिभुवन विमानस्थल ओर्लिँदा उनको साथमा नेपाली युवा बाराका विश्वेश्वर महरा पनि साथमै थिए ।
रोजगारीका लागि मलेसिया पुगेका महराको मायाजालमा परेर आफ्नो पुरानो घर छोडेर माला नयाँ जीवन सुरु गर्न नेपाली आउन राजी भएकी थिइन् ।
नेपालमा पीडा भोगेकी ती मलेसियन महिला, जसको बदला जीबी हस्तान्तरण नगरेर लिँदैछ मलेसिया !
मालाको पहिलो श्रीमान्बाट एक छोरी थिइन् । तर जोडिएको घर र छोरीको मायाले भन्दा महराको प्रेमले नेपाल डोर्यायो । महरा पनि माला भेल्लोले काम गर्ने होटलमै रोजगारीका लागि पुगेका थिए ।
उनीहरुबीच काम गर्दागर्दै झाङ्गिएको प्रेमले विवाह गर्ने निर्णयसम्मै पुर्यायो । महराले गर्ने मायामा कहीँ शंका गर्ने ठाउँ देखिनन् मालाले । मलेसियामा हुँदा गरेको प्रेमले महरालाई छाड्न नसक्ने अवस्थामा पुगेपछि नेपालको बारासम्मै पुगेकी हुन् ।
मालाले मलेसिया छाडेर नेपाल पुगेकी छोरी उमालाई समेत पत्तो थिएन । न महरालाई उनकी छोरीहरुले मलेसियामा हुँदा कहिले भेटेका नै थिए । मलेसियादेखि बारा पुगेकी मालालाई केही समय नयाँ ठाउँ बस्न सकसपूर्ण नै भयो ।
तर, प्रेम गरेर मलेसिया छाडेकी उनलाई सकसपूर्ण परिवेसलाई सामान्य बनाएर बस्नुबाहेक अर्को विकल्प पनि थिएन । करिब दुई वर्षसम्म महरा मालासँगै बसे । मालाको पासपोर्ट महरा आफैँले राखेका थिए । दिनहरु बित्दै गए ।
महराको व्यवहार परिवर्तन हुँदै गयो । महराको फेरिएको व्यवहार मालालाई थाहा नहुने कुरा थिएन । तर, मलेसिया फर्किने अवस्था पनि थिएन । त्यहीबीच महरा पुनः वैदेशिक रोजगारीका लागि दुवई उडे । माला बारामा एक्कै बसिन् । महराको साथबिनाको बसाइँ उनका लागि पीडादायक थियो नै त्यसमा परिवारका अन्य सदस्यले पनि राम्रो व्यवहार नगरेको गृह मन्त्रालयले गरेको पछिल्लो अनुसन्धानले देखाएको छ ।
दुवई पुगेका महरा फेरि केही समयमा नेपाल फर्किए । महरा फर्किपछि समय राम्रो होला कि भन्ने आशामा थिइन् माला । तर, सम्बन्ध झन् झन् बिग्रिँदै गयो । माला महराको घर छोड्न बाध्य भइन् ।
बाच्नकै लागि उनी बारादेखि काठमाडौंका गल्ली र विभिन्न चर्चसमेत धाउन थालिन् । तर, जीवन चलाउन कठिन भएपछि भने मलेसियामा रहेकी छोरी ३७ वर्षीया उमालाई आफ्नो पीडा सुनाइन् । छोरी त्यसपछि मात्रै खङ्ग्रङ्गै भइन् ।
उमाले आफ्नी आमाको फिर्ताका लागि विभिन्न प्रयास थालिन् । आमाको मलेसिया फिर्तीको लागि सहज गर्दिन भन्दै महरालाई रकमसमेत पठाइन् । तर, उमाले सोचेको जस्तो मालाको मलेसिया फिर्ती सम्भव भएन ।
महराले नै मालाले नेपाल छोड्न खोजे पक्राउ गराउनेदेखि सामूहिक बलात्कार गराउने भन्दै त्रास देखाउन थाले ।
...अनि कानुनी झमेलामा फसिन्
मलेसियामा रहेकी छोरी उमामार्फत फर्किन प्रयास गरेकी माला फर्किन सम्भव नदेखिएपछि आफैँ अध्यागमनको शरणमा पुगिन् । नेपाल प्रवेशको दश वर्षपछि सन् २०२२ मार्च ९ मा । अध्यागमन अधिकारीसँग आफू विवाह गर्ने उद्देश्यले महरासँग नेपाल आएको र विवाह दर्ता नगरी आफूमाथि हिंसा भएको र मानवबेचबिखनमा परेको भन्दै फर्काइदिन आग्रह गरिन् ।
मालाले अध्यागमन विभागमा दिएको निवेदनमा लेखिएको छ, “म आफैँ नेपाल खुसीले आएको होइन । नेपाली युवाको प्रेममा परेर विवाह गर्ने उद्देश्यले आएकी हुँ । मलाई चरम यौन शोषण र हिंसा भएका कारणले मलेसिया फिर्ता हुन खोजेकी हुँ । मलाई मलेसिया फर्काइदिन अनुरोध गर्छु ।”
तर, कानुनीरुपमा मालाको बसाइँ अवैध ठहर गर्दै अध्यागमन विभागले भने गैरकानुनी रुपमा नेपाल बसाइँ, विलम्ब शुल्कगरी २०७८ फागुन २५ गतेको राष्ट्र बैंकको विदेशी विनियम दर बमोजिम २६ लाख ३८ हजार ५१७ जरिबाना गर्यो ।
तर, मालाले शूल्क तिर्न नसक्ने जवाफ अध्यागमनलाई दिइन् । अध्यागमनलाई शुल्क नबुझाएपछि त्यही दिन अध्यामगनले उक्त रकम बराबरको दैनिक तीन सयका दरले कैद कट्टी हुने गरी सातवर्ष जेल सजाय तोक्यो ।
त्यही दिनदेखि उनी सुन्धारास्थित जगन्नाथदेवल कारागार चलान भइन् ।
मलेसिया सरकारको प्रयास असफल
नेपालबाट मलेसिया फर्काउन प्रयास गरिरहेकी छोरी उमा आमाले नेपालमा भोगेको पीडादायिक १० वर्षपछि पनि फेरि सातवर्षको कैद सजाय तोकिएको खबरले विक्षिप्त भइन् । आमाको नेपालको साथी महरालाई आफूले रकम पठाउँदासमेत फिर्ती सम्भव नभएको भन्दै उनले नेपालस्थित मलेसियन दूतावासको सहयोग मागिन् ।
मलेसियाको दूतावासले समेत मालाको फिर्तीका लागि गृह मन्त्रालयदेखि परराष्ट्र मन्त्रालयसम्म औपचारिक अनौपचारिक दुवै प्रयास गर्यो । दूतावासमार्फत् मालालाई आफ्नो देश फर्काउने प्रयास सफल नभएपछि मलेसियन दूतावासले परराष्ट्र मन्त्रालय हुँदै थुनामा रहेकी मालालाई मलेसिया फर्काइदिन आग्रह गर्दै दुईपटक कूटनीतिक पत्र नै पठायो ।
तर, सरकारले त्यसको कुनै जवाफ नै फर्काउन आवश्यक ठानेन । माला कैद जीवन भोग्न बाध्य भइन् ।
आफ्नो व्यक्तिगत, दूतावास र सरकारकै प्रयास असफल भएपछि भने मालाकी छोरी उमा बाध्य भएर मलेसियामा मानब वेचबिखन सम्बन्धि काम गरिरहेकी गैरसरकारी सस्था ‘मलेसिया चीन’ नाम गरेको संस्थाको शरणमा पुगिन् ।
त्यही संस्थाले माइती नेपालको इमेलमा सन् २०२४ जुन ७ मा मालाको मलेसिया फिर्तीको सहयोगको आग्रहसहित एउटा मेल पठायो ।
माइती नेपालमा आएको मेलमा लेखिएको थियो– प्रिय माइती नेपाल, हामी हाल मानव बेचबिखनको सिकार भएर पनि नेपालमा थुनामा रहेकी मलेसियाली नागरिक माला भेल्लोको परिवारसँग मिलेर काम गरिरहेका छौं । मालाले नेपालमा १० वर्ष जबरजस्ती श्रम सहनुपर्यो । उनी भागेपछि दुर्भाग्यवस मलेसिया फर्किनुको साटो ओभरस्टेका लागि जेल परिन् । हामी मालाको सुरक्षित स्वदेश फिर्तीका लागि तपाईंको सहयोग खोज्न पुगेका छौं ।”
मलेसियाबाट आएको त्यही मेलका आधारमा माइती नेपालका अध्यक्ष विश्व खड्काले मालाको फिर्तीका लागि आवश्यक कानुनी प्रक्रिया अघि बढाए ।
खड्का भन्छन्, “मालाको ओभर स्टे थिएन । कानुनी झमेलामा पर्दा उनी जेलसम्म परेकी हुन् । मालाकी छोरी र मलेसियाको संस्थाको इमेल पछि म आफैँले सुन्धाराको जेलरसँग समन्यव गरेर कानुनी प्रक्रिया अघि बढाएका हौं ।”
नेपाली युवाकै कारण उनी १२ वर्ष नेपालमा बस्न बाध्य भइन् माला । त्यसमाथि पनि नारकीय जीवन काट्न बाध्य भइन् । माइती नेपालले नै मालाको कानुनी प्रक्रियाका लागि चारजना कानुन व्यवसायी राखेर सर्वोच्चमा कानुनी लडाइँका लागि पुगेको थियो ।
माइती नेपालको करिब तीन महिना लामो कानुनी प्रयासपछि सर्वोच्च अदालतका न्यायाधीशद्वय सपना प्रधान मल्ल र बालकृष्ण ढकालको इजलासले गएको भदौ २ गते उनको ओभर–स्टे बापतको रकम मिनाहा गर्न आदेश गरेको हो । अदालतको आदेशपछि मात्र सरकारले उनको जरिवाना मिनाहा गरेको देखिन्छ ।
सुन्धारा कारागारका जेलर कृष्णबहादुर कटुवालले अदालतको आदेशपछि उनलाई भदौ ७ गते थुनामुक्त गरिएको बताए । उनी मलेसिया फर्किनुअघि एकदिन माइती नेपालको कार्यालयसमेत पुगेकी थिइन् ।
माइती नेपालका अध्यक्ष खड्का भन्छन्, “हाम्रो निकै लामो प्रसायपछि उनी थुनामुक्त भएकी हुन् । थुनामुक्त पछि हाम्रो अफिसमा पनि आएकी थिइन्, आफूले भोगेको पीडा व्यक्त गर्नै सकेकी थिइनन् । निकै भावुक थिइन् । उनका कतिपय दुःखका कहानी सुन्नै नसकिने खालका थिए ।”
जीबी राईलाई आश्रय दिएर बदला लिइरहेको छ मलेसिया
पोखराको सूर्यदर्शन सहकारीसहित आधा दर्जन सहकारी ठगी प्रकरणका मुख्य आरोपी गितेन्द्रबाबु राई (जीबी) नेपाल छोडर मलेसियामा छन् । जब गृह मन्त्रालय जीबीलाई नेपाल पठाउन अनुरोध गरिरहेको थियो त्यसबेला मलेसियाले सिधा जवाफ दियो– कल्पना पनि नगर्नू ।
मलेसियाले मालाका विषयमा नेपाल सरकारसँग पटक पटक अनुरोध गर्दासमेत नपठाएकोमा आक्रोश व्यक्त गरेको थियो ।
सूर्यदर्शन सहकारी ठगीको आरोपमा जिल्ला अदालत कास्कीले २०८० साउन २४ गते वारेन्ट जारी गर्नासाथ जीबी राई भागेर मलेसिया पुगेको खुले पनि उनलाई नेपाल झिकाउन नसक्नुको प्रमुख कारण माला भेल्लोले नेपालमा भागेको यातनासँग जोडिएको गृह मन्त्रालयका उच्च अधिकारी नै बताउँछन् ।
जीबीलाई पक्राउ गर्न प्रहरीले अन्तर्राष्ट्रिय अपराध संगठन (इन्टरपोल) मार्फत रेड नोटिससमेत जारी गर्दा मलेसिया प्रहरीले जीबीलाई नेपाल डिपोर्ट गर्न अस्वीकार गरिरहेको छ । मलेसिया इन्टरपोलको सदस्य राष्ट्र पनि हो ।
मालाको यातनालाई मलेसियन सरकारले इगोको रुपमा लिएको देखिएको गृह मन्त्रालय स्रोत बताउँछ । जीबी बारेको सूचना लिन केही समयअघि मलेसिया पुगेको प्रहरी टोलीलाईसमेत त्यहाँको सरकारले मालाको विषयबारे चासो राखेको खुलेको छ ।
उच्च प्रहरी स्रोतले पनि मलेसिया सरकारले माला भेल्लोको घटनालाई कारण बनाएको जानकारी दियो ।
ती अधिकारीले भने, “भेल्लोको घटना नै एकमात्रै कारण त होइन । मलेसिया मेक माइ सेकेन्ड होम भन्ने त्यहाँको सुविधा पनि कारण हो । त्योसँगै त्यहाँको सरकारले भेल्लोको घटनाबारे पनि चासो चाहिँ निकै राखेका छन् ।”
गृह मन्त्रालयका प्रवक्ता सहसचिव ऋषिराम तिवारीले जीबीलाई नेपाल ल्याउने बारे आवश्यक प्रक्रिया अघि बढाइएको बताए । नेपाल प्रहरीका प्रवक्ता डीआईजी दानबहादुर कार्कीले पनि जीबीलाई नेपाल ल्याउनेबारे आवश्यक कानुनी र कूटनीतिक पहल जारी राखिएको बताए ।