लोकतन्त्रमा विधिको मर्यादा भने समाज र राज्यको सबै अङ्गले राख्नुपर्छ । मर्यादाविहीन लोकतन्त्र नौटङ्कीभन्दा फरक हुँदैन । अनुदार परम्परावादी व्यवस्थामा सजायको तरबार देखाएर मर्यादाको पालन गराइन्छ । उदार लोकतन्त्रमा भने समाजका सबै पक्षले स्वेच्छाले नै आआफ्नो मर्यादा पालन गर्छन् ।
बेलाबखत राज्य वा समाजका कुनै व्यक्ति वा समूहबाट अर्काको मर्यादामा अतिक्रमण नहोस् भनेर कतिपय उपाय र विधि अपनाइएको हुन्छ । संसद्को विशेषाधिकार, न्यायालयको अवहेलना तथा व्यक्ति विशेषको बेइज्जतिलाई यसैकारण दण्डनीय बनाइएको हुनुपर्छ । न्यायपालिका र विधायिकाको मर्यादाको रक्षा त संविधानले नै सुनिश्चित गरेको छ ।
तैपनि नेपालमा बेलाबखत संसद्को विशेषाधिकार वा न्यायालयको अवहेलनाको विषय उठिरहेको देखिन्छ । केही यता संसद्को विशेषाधिकार हननको मामिला उठेको छैन । सम्भवतः नेपालको संसद् अपेक्षाकृत परिपक्व र सहिष्णु हुँदैगएकाले पनि यस्तो विषयमा धेरै चासो नराखिएको होला । न्यायपालिका भने यस्ता विषयमा अपेक्षाकृत बढी संवेदनशील देखिन्छ ।
अहिले पनि सर्वोच्च अदालतको ‘अवहेलना’को एउटा मुद्दा चर्चामा छ । नेपाल बार एसोसियसनका अध्यक्षमाथि नै अवहेलनाको मुद्दा चलाइएकाले पनि यो प्रकरण बढी चर्चित भएको हुनुपर्छ । न्याय परिषद्ले केही साता पहिले न्यायाधीश नियुक्तिको सिफारिस गर्दा रकमको लेनदेन गरेको आरोप बारका अध्यक्षले सार्वजनिकरूपमा लगाएका थिए ।
बारका अध्यक्षको आरोपले न्यायपालिकाको अवहेलना भएको भन्दै मुद्दा चलाइएको छ । अर्कातिर न्याय परिषद्का पदाधिकारीको कामकाजको आलोचना गर्दा अदालतको अवहेलना नहुने जिकिर बारका अध्यक्षले गरेका छन् । मुद्दा सर्वोच्च अदालतमा विचाराधीन छ । आफैँसँग सम्बन्धित भए पनि न्यायाधीशहरूले न्यायिक मन प्रयोग गर्ने विश्वास लिइएको हुन्छ ।
चिन्ताको विषय भने राज्यका अङ्गहरूमा असहिष्णुता बढेको देखिनु हो । यस्तै, समाजका जिम्मेवार व्यक्तिहरूमा आत्मसंयम र अरूको मर्यादाप्रति संवेदनहीनता थप चिन्ताको विषय हो । समाजको लोकतन्त्रीकरणका क्रममा आत्मसंयम र मर्यादाको सम्मान अत्यन्त महत्त्वपूर्ण हुन्छ । मर्यादाका लक्ष्मण रेखा नाघेर लोकतन्त्रको आधार बलियो हुँदैन ।
न्यायालयको अवहेलना, संसद्को विशेषाधिकार हननजस्ता गम्भीर मामिलामा ‘कारबाहीको तरबार’ देखाएर तर्साउनुको साटो मर्यादाको ‘लक्ष्मण रेखा’ ननाघ्ने आत्मसंयममा जोड दिनु बढी प्रभावकारी हुन्छ । यसैले यस मुद्दामा पनि समाजलाई अनुदार सामन्ती संस्कृतितर्फ लैजाने होइन उदार प्रगतिशील मार्यमा अगाडि बढाउनेगरी निर्णय हुने विश्वास छ । नबिर्सौं, डण्डको छेकबारले प्रगतिको बाटामा कहिल्यै भाँजो हाल्न सकिँदैन ।