site stats
बाह्रखरी :: Baahrakhari
खेल
Global Ime bankGlobal Ime bank
१२औँ फाइनलमा बंगलादेशविरुद्ध खेल्दै नेपाल, तोड्ला ३८ वर्षदेखिको उपाधि खडेरी ?

काठमाडौं । सन् १९८६ यता अन्तर्राष्ट्रिय प्रतियोगितामा सहभागिता जनाउँदै आएको नेपालले बुधबार १२औँ फाइनलको रूपमा साफ महिला च्याम्पियनसिपको उपाधिका निम्ति बंगलादेशविरुद्ध खेल्दै छ । ३८ वर्षको यो अवधिमा नेपालले ११ फाइनल खेले पनि अझै उपाधि जित्न सकेको छैन । नेपालको सिनियर महिला टिमले फाइनलको ‘डेडलक’ तोड्न नसक्दा अझैसम्म उपाधिविहीन छ ।

बुधबार (आज) नेपाललाई यो खराब इतिहास मेटाउने सुन्दर अवसर छ । साफका पछिल्ला तीन संस्करण आयोजना गरेको नेपालले यी तीनै संस्करणमा फाइनलसम्मको यात्रा तय गरेको । गत संस्करण र यस संस्करणमा नेपालले सेमिफाइनलमा साफकै सबैभन्दा बलियो टिम मानिने भारतको चुनौती पन्छाएको छ । 

यसअघिको फाइनलमा नेपाल १५ हजार ७०० घरेलु समर्थकमाझ बंगलादेशसँग ३–१ ले पराजित भएको थियो । यसपटक सोही मैदानमा उत्तिकै संख्याका घरेलु समर्थकमाझ बंगाली टिमलाई हराएर उपाधि जित्ने अवसर छ । 

Dabur Nepal
NIC Asia

फाइनलअघि नेपाली टिमकी कप्तान एन्जिला तुम्बाप्पो सुब्बा आफ्नो टोली उपाधिका निम्ति चुनौती प्रस्तुत गर्न तयार रहेको बताइन् ।

“हामी गत संस्करणमा पनि फाइनलमा बंगलादेशसँग पराजित भएका थियौँ । तर, यसलाई हामीले बदला लिनेभन्दा पनि च्याम्पियन बन्ने अवसरको रूपमा लिएका छौँ,” कप्तान एन्जिलाले भनिन् ।

एन्जिलाले भनेझै जारी संस्करणमा नेपाली टिमको प्रदर्शन असाधारण छ । समूह चरणको पहिलो खेलमा भुटानविरुद्ध गोलरहित बराबरीमा रोकिए पनि नेपालले दोस्रो खेलमा माल्दिभ्सविरुद्ध ११–० र तेस्रो खेलमा श्रीलंकाविरुद्ध ६–० ले पराजित गरेको थियो ।

सेमिफाइनलमा प्रतियोगिताकै सबैभन्दा सफल टोली भारतविरुद्ध १० खेलाडीमा सीमित हुँदा पनि निकालेको जितले नेपाली टिम उपाधिका निम्ति योग्य रहेको सन्देश दिन्छ । तर, फुटबलमा एउटा चर्चित पंक्ति छ, ‘च्याम्पियन बन्न उपाधि जित्नैपर्छ, कुन टोली योग्य छ भन्ने कुराले अर्थ राख्दैन ।’

यसपटक पनि उपाधि जित्न नसके के हुन्छ ? फाइनलअघिको यो प्रश्नमा कप्तान एन्जिलाले भनिन्, “यसपटक टिम भावना निक्कै राम्रो छ । सम्भवतः अहिलेसम्मकै सबैभन्दा राम्रो । यसकारण पनि हामी सक्छौँ, हामी गर्छौँभन्ने हाम्रो नारालाई प्रमाणित गर्छौँ भन्ने विश्वासमा छौँ । बुधबार पनि जित्न सकेनौँ भने उपाधिका लागि नेपालले अझै ५ वा १० वर्षभन्दा पनि धेरै समय फर्किनु पर्नेहुन्छ,” उनले भनिन् ।

नेपालले अहिलेसम्म खेलेका ११ फाइनल 
नेपालले सन् १९८६ को डिसेम्बरमा पहिलो अन्तर्राष्ट्रिय फुटबल खेलेको थियो । हङकङविरुद्ध पहिलोपटक अन्तर्राष्ट्रिय खेलको अनुभव लिएको नेपालले त्यसयता महिला फुटबलमा उल्लेखनीय प्रगति गर्न सकेको छैन ।

सन् २०२२ मा अस्ट्रेलियामा सम्पन्न फिफा महिला विश्वकपको उपाधि जितेको स्पेन र नेपाल १९८० को दशकबाट नै अन्तर्राष्ट्रिय फुटबलमा प्रवेश गरेका हुन् । तर, पछिल्लो चार दशकमा स्पेनले विश्वकप च्याम्पियन बन्ने गरी प्रगति गर्दा नेपाल त्यो मञ्चमा कहिले उक्लिन्छ भन्ने अड्कल काट्न सकिने अवस्था अझै छैन । 

नेपालले यसअघि पाँचपटक साफ महिला च्याम्पियनसिप, तीनपटक साग गेम्सअन्तर्गतको महिला फुटबल, एकपटक हिरो कप र एकपटक नादेज्दा कपको फाइनल खेलेका थिए । ती सबैमा हार व्यहोरेको छ । ११ फाइनल खेल्दा नेपालले सातपटक भारतसँग हार व्यहोरेको छ । यसबाहेक, बंगलादेश, म्यानमार, ताजकिस्तान र जोर्डनसँग नेपालले समान एकपटक फाइनलमा हार व्यहोरेको छ ।

सन् २०१० मा नेपालले दुई प्रतियोगिताको फाइनल गुमायो । नेपालले २०१० को जनवरीमा दक्षिण एसियाली खेलकुद (साग) अन्तर्गत महिला फुटबलको फाइनलमा भारतसँग ३–१ को हार बेहोर्यो । सोही वर्षको डिसेम्बरमा भएको साफ च्याम्पियनसिपमा नेपाल पुनः भारतसँग १–० ले पराजित भयो ।

त्यसपछि नेपालले सन् २०१२ र २०१४ को साफ च्याम्पियनसिपको फाइनलमा भारतसँग क्रमशः ३–१ र ६–० को हार व्यहोर्यो । सन् २०१६ मा साग गेम्सअन्तर्गत महिला फुटबलको फाइनलमा पुनः भारतसँग ४–० को हार बेहोर्यो । 

सन् २०१९ नेपाली महिला टिमका लागि सबैभन्दा पीडादायी वर्षको रूपमा रह्यो । यो वर्ष नेपालले चार फाइनल खेले पनि चारै प्रतियोगितामा उपाधि विमुख भयो । २०१९ को फेब्रुअरीमा नेपालले हिरो गोल्डकपको फाइनलमा म्यानमारसँग ३–१ को हार बेहोर्यो । यसपछि नेपालले मार्चमा साफ महिला च्याम्पियनसिपको फाइनल भारतसँग पुनः ३–१ को नै हारको सामना गर्यो ।  सेप्टेम्बर १२ मा नादेज्दा कपको फाइनलमा ताजिकिस्तानसँग ३–२ को हार व्यहोरेको नेपालले डिसेम्बरमा भएको सागअन्तर्गत स्वर्ण पदकका लागि भएको महिला फुटबलको फाइनलमा भारतसँग २–० ले पराजित भयो । 

सन् २०२२ को सेप्टेम्बरमा नेपालमै सम्पन्न साफ महिला च्याम्पिनयसिपको फाइनलमा पुनः नेपालले हार व्यहोर्यो । दशरथ रंगशालामा भएको फाइनलमा नेपाल बंगलादेशसँग ३–१ ले पराजित भयो । गएको फेब्रुअरीमा भएको वाफ महिला च्याम्पियनसिप नेपालले खेलेको ११औँ फाइनलको रूपमा रह्यो । उक्त फाइनलमा नेपालले जोर्डनसँग पेनाल्टी सुटआउटमा हार व्यहोरेको थियो ।

हामीसँग एसियाकै उत्कृष्ट फरवार्ड छः प्रशिक्षक 
नेपाली टिमकी फरवार्ड सावित्रा भण्डारी (साम्बा)ले साफ महिला च्याम्पियनसिपमा हालसम्म २१ गोल गरिसकेकी छन् । आजको खेलमा एक गोल गरे सावित्रा नेपालबाट साफमा सबैभन्दा धेरै गोल गर्ने खेलाडी बन्नेछिन् । हालसम्म अनु लामा र सावित्रा भण्डारी समान २१ गोलसहित संयुक्त रूपमा यो सूचीको पहिलो स्थानमा छन् ।

फाइनलअघि नेपाली टिमका मुख्य प्रशिक्षक राजेन्द्र तामाङले आफूहरूसँग एसियाकै उत्कृष्ट फरवार्डमध्येकी एक रहेकाले फाइनलमा यसको फाइदा उठाउने बताए ।

“हामीसँग नेपाल, दक्षिण एसिया र एसियाकै उत्कृष्ट फरवार्डमध्येकी एक साम्बा छिन् । उनी हाल युरोपमा खेल्छिन् । उनले यसअघि विभिन्न अन्तर्राष्ट्रिय लिग खेलिसकेकी छन्,” उनले भने, “उनीसँग प्रशस्त अनुभव छ । साम्बासहित हामी जित्छौँ भनेर आत्मसाथसहित खेल्नेछौँ ।”
 

NIBLNIBL
प्रकाशित मिति: बुधबार, कात्तिक १४, २०८१  ०८:०७
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Everest BankEverest Bank
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
SubisuSubisu
Hamro patroHamro patro