site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
स्वास्थ्यमा ३३ वर्षदेखि थपिएन जनशक्ति, मन्त्रालयसँग छैन कर्मचारीको यकिन तथ्यांक

काठमाडौं । नेपालको सरकारी स्वास्थ्य सेवा ३३ वर्ष अगाडिको जनशक्तिको भरमा चलिरहेको छ । प्रत्येक नयाँ स्वास्थ्यमन्त्री बनेर आउने नेताले आफ्नो प्राथमिकता 'जनशक्ति थप र चुस्त दुरुस्त स्वास्थ्य सेवा' भनेर भाषण गरिरहन्छन् । तर, आफ्नो वाचा पूरा गर्न नपाउँदै बाहिरिन्छन् ।

बढ्दो जनसंख्या र सीमित जनशक्तिले स्वास्थ्य सेवा चुस्त दुरुस्त होइन, झनै खुम्च्याउँदै लगेको छ ।

दक्ष जनशक्ति बजारमा छ, सेवामा छैन

सरकारी सेवामा २०४८ सालयता स्वास्थ्यका जनशक्ति थप गरिएको छैन । बजारमा चिकित्सक र नर्सको उत्पादन बढे पनि खपत भने नबढेको आर्थिक सर्वेक्षणले देखाएको छ । आर्थिक वर्ष २०७९/०८० को सर्वेक्षणले प्रति एकहजार जनसंख्याका लागि १.१५ चिकित्सक उत्पादन भइरहेको देखाएको छ । त्यस्तै, एक हजार जनसंख्याका लागि २.५४ प्रतिशत नर्स रहेको सर्वेक्षणमा उल्लेख छ ।

यो तथ्यांक विश्व स्वास्थ्य संगठनको मापदण्डभन्दा बढी हो । संगठनको मापदण्डमा प्रति एक हजार जनसंख्याका लागि न्यूनतम एकजना चिकित्सक हुनुपर्ने उल्लेख छ । तर, नेपालमा उत्पादित जनशक्ति देशमै खपत नहुनु, उत्पादित जनशक्तिको समान वितरण नहुनु र सिप मिश्रित जनशक्तिको न्यून उत्पादन हुनुले पर्याप्त खपत नभइरहेको सर्वेक्षणमा उल्लेख छ ।

नेपाल मेडिकल काउन्सिलको तथ्यांकमा ३४ हजार ९१० चिकित्सक र १० हजार ५८८ विशेषज्ञ चिकित्सक दर्ता भएका छन् । यस्तै, नर्सिङ काउन्सिलमा ८२ हजार ४७१ नर्स, एक हजार ५०७ स्पेसल नर्स, ३७ हजार ४२० अनमी, ८४९ विदेशी नर्स र ६६ जना मिडवाइफ दर्ता भएका छन् । 

सरकारी सेवामा एक लाख दुई हजार जनशक्ति चिकित्सक ६ हजारमात्रै

आर्थिक वर्ष २०७९/०८० को आर्थिक सर्वेक्षणले सरकारी सेवामा ६ हजार १३८ जना मात्रै चिकित्सक रहेको देखाएको छ । जम्मा एक लाख दुई हजार ५०७ जना रहेको र त्यसमा चिकित्सक ६ हजार १३८ मात्रै रहेको देखाएको हो ।

सरकारी सेवामा सबैभन्दा धेरै नर्स/अनमी २७ हजार ६८३ जना र सबैभन्दा कम कविराज ६७४ जना रहेको देखाएको छ । त्यस्तै, वैद्य ६९३, स्वास्थ्य सहायक १५ हजार ८९६ र महिला स्वास्थ्य स्वयंसेविका ५१ हजार ४२३ जना रहेको देखाएको छ । त्यस्तै, देशभर स्वास्थ्य संस्थाको संख्या सात हजार ८५८ रहेको सर्वेक्षणमा उल्लेख छ ।

"दश हजार जनशक्ति संघ सरकारलाई मात्रै आवश्यक हुन्छ । नयाँ बनेका आधारभूत अस्पताल कुन जनशक्तिबाट चलाउने हो यसबारे म भन्न सक्दिनँ," स्वास्थ्य सचिव डा. रोशन पोख्रेल भन्छन् ।

कहाँ कति कर्मचारी ? छैन मन्त्रालयसँग यकिन तथ्यांक

भर्खरै बहाल भएका स्वास्थ्यमन्त्री प्रदीप यादवले आफ्नो पहिलो निर्णय सरकारी अस्पतालहरूमा जनशक्ति थप गर्ने विषयमा गरेका छन् । पूर्व स्वास्थ्यमन्त्री मोहनबहादुर बस्नेतले पनि आफ्नो कार्यकालमा १० हजार जनशक्ति थप गरेरै छोड्ने प्रतिबद्धता पटकपटक दोहोर्‍याएका थिए ।

तर, मन्त्रालयले गरेको ओएनएम सर्भे अनुसारको जनशक्ति थप गर्ने प्रस्ताव अर्थ मन्त्रालयबाट अस्वीकृत भएर आयो । चालु आर्थिक वर्ष २०८०/०८१ को बजेटमा नै नयाँ जनशक्ति थप नगर्ने नीति उल्लेख थियो । यसबीचमा पुरानै ओएनएममार्फत २९५ नर्सबाहेक अन्य कुनै सेवामा जनशक्ति थप भएको छैन । 

संघीयतापछि त झन मन्त्रालयसँग कुन निकाय कति कर्मचारीबाट चलिरहेको भन्ने यकिन तथ्यांकसमेत छैन । स्वास्थ्य सेवामा झन्डै ३१ हजार कर्मचारी रहेको मन्त्रालयको तथ्यांक छ । जसमध्ये २६ हजार ७१७ कर्मचारी समायोजन गरिएको थियो । हाल दुई हजार ६०६ जना संघअन्तरगत, करिब पाँच हजार प्रदेश र बाँकी स्थानीय तहमा कार्यरत रहेको मन्त्रालयका सूचना अधिकारी रविकान्त मिश्र बताउँछन् ।

तर, स्थानीय तहले कनि कर्मचारी थप गरेको वा करारमा भर्ना गरेका छन् भन्नेबारे मन्त्रालयसँग तथ्यांक नरहेको मिश्रको भनाइ छ । 

मन्त्रालयका सहसचिव जयबहादुर भण्डारीका अनुसार संघ अन्तरगतका १६ वटा अस्पतालमा जनशक्ति थप गर्नेगरी ओएनएम सर्भे भएको तर टुंगो लागिसकेको छैन ।  समायोजनपछि पनि कति जनशक्ति विदेशियो भन्ने तथ्यांक कुनै निकायसँग छैन ।

Laminar Tiles Banner adLaminar Tiles Banner ad
प्रकाशित मिति: बिहीबार, जेठ ३, २०८१  ०६:२०
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Kitchen Concept AdvertisementKitchen Concept Advertisement
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
Hamro patroHamro patro