
काठमाडौं । सोचेभन्दा धेरै मानिसको भीड जमेपछि गत फागुनमा २५ गते राजावादीहरू उत्साहित भएका थिए । पूर्वराजा ज्ञानेन्द्र शाहलाई विमानस्थलबाट सोझै नारायणहिटी गद्दीमा राख्ने ‘प्रोपोगाण्डा’ भएसँगै मानिस सडकमा निस्किएका थिए ।
त्रिभुवन विमानस्थलदेखि निर्मल निवाससम्म पूर्वराजा ज्ञानेन्द्रलाई स्वागतका लागि मानिसहरू भरिभराउ भएपछि राजतन्त्र पुनर्स्थापनाको आन्दोलन चर्काउने निस्कर्ष निकालिएको थियो । संयुक्त जनआन्दोलन परिचालन समिति गठनका विषयमा राजावादी अखडादेखि निर्मल निवासभित्रै रणनीति कोर्ने छलफल चल्यो ।
तर, कुन नेताको नेतृत्वमा समिति गठन गर्ने भन्नेमा सहमति जुट्न मुस्किल भयो । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङदेनको नेतृत्वमा सामेल हुन राप्रपा नेपालका अध्यक्ष कमल थापा र केशरबहादुर विष्टसहितले नमान्ने देखियो ।
थापा नेतृत्वमा राजेन्द्र लिङदेनले मान्ने कुरै थिएन । त्यसपछि खोज्दै जाँदा संयोजकमा ‘पूर्व पञ्च’ नवराज सुवेदीलाई बनाउने निर्णय भएको समितिका एक सदस्य बताउँछन् । सुवेदी पञ्चायतको उत्तरार्धमा राष्ट्रिय पञ्चायत तथा पञ्चायत नीति तथा जाँचबुझ समितिका अध्यक्ष हुन् । २०४६ को जनआन्दोलन दबाउने प्रमुख पात्रमध्येका एक हुन् ।
तिनै ‘पञ्च’ सुवेदीको नेतृत्वमा पूर्वपञ्च सम्मिलित संयुक्त जनआन्दोलन परिचालन समिति गठन हुँदा पनि सबै सदस्यहरूसँग परामर्श भएको थिएन । त्यसरी नाम राख्दा लिङदेनलाई मर्यादामा निकै तल राखिएको थियो ।
संकटमा लिङ्देन
आन्दोलन सुरु भएपछि नवराज सुवेदी आन्दोलनमा सहभागी दलका अध्यक्षहरूका पनि अध्यक्ष भएका छन् ।
उनकै निर्णयमा राप्रपा, राप्रपा नेपाल, राष्ट्रिय शक्तिसहितका पार्टी आन्दोलनमा सहभागी भएका छन् । आन्दोलनमा नगए पार्टी विभाजित हुने देखेपछि लिङदेन पनि ‘लतारिँदै सहभागी’ भएको राप्रपाकै एक नेता बताउँछन् ।
“जेठ १५ को रत्नपार्क आन्दोलनमा सबैभन्दा ढिला लिङदेन पुग्नुभएको थियो । त्यहाँ अध्यक्षहरूको टिमका तर्फबाट कमल थापाले झण्डा दिनुभएको थियो । उहाँले लिनु नै भएन,” राप्रपा नेता भन्छन्, “पछि कमल थापाले सबैभन्दा ठूलो पार्टीको अध्यक्ष भएका नाताले लिङ्देन भाइले नै नेतृत्व लिनुपर्छ भन्दै झण्डा दिनुभयो । त्यसपछि मात्र उहाँले समाउनुभयो ।”
पार्टीको उपस्थिति देखिने गरी झण्डा प्र्रदर्शन गर्न नपाउने र राप्रपालाई पनि ४४ स–साना समूह बराबरको हैसियतमा राखेपछि लिङ्देन असन्तुष्ट बनेका हुन् । झन् राजावादीहरूले आन्दोलनप्रति लिङ्देनको लगाव र निष्ठामा प्रश्न उठाएका छन् ।
लिङदेन ‘हीन भावना’सहित आन्दोलनमा घस्रिदै जानुपरेको उनकै पार्टीका नेताहरूको बुझाइ छ । आफ्नै पार्टीको आन्तरिक बैठकमा समेत नवराज सुवेदी नेतृत्वको समितिका निर्णय हाबी हुँदा उनलाई समस्या परेको छ ।
“आइतबार कमल थापा पक्राउ गरेपछि आ–आफ्ना पार्टीको बैठक राख्ने र थप आन्दोलनका विषयमा निर्णय गर्ने भन्ने भएको थियो । लिङ्देनले पनि पार्टी कार्यालयमा बैठक राख्ने तयारी गर्दागर्दै नवराज सुवेदीले आफ्नै निवासमा बैठक डाक्नुभयो,” राप्रपाका ती नेता भन्छन्, “संयुक्त जनआन्दोलन परिचालन समितिको संयोजक भएकाले धवलशमशेर बैठकमा जानुभयो । उहाँ राप्रपा बैठकमा बस्नुभएन ।”
लिङदेनले भन्न नसके पनि राजावादी आन्दोलनमा सबैभन्दा ठूलो पार्टीको हैसियतमा आफूले नेतृत्व गर्न पाउनुपर्ने सोच राखेका छन् । राप्रपाकै नेताहरूका अनुसार, मुख फोरेर नभन्ने र अरुले पनि प्रस्ताव नगरिदिँदा उनी समस्यामा छन् ।
“सबैभन्दा ठूलो पार्टी भएका नाताले उहाँले नेतृत्व दाबी गर्न खोजेको कुरा प्रष्ट छ । तर, मुख फोरेर भन्न सक्नुभएको छैन,” राप्रपाका ती नेता भन्छन्, “राजावादीबाहेकका पार्टीबाट पनि मान्छे आउने ठाउँ होस् भनी राप्रपाको झण्डा निषेध गरिएको छ । त्यसले पनि लिङ्देनलाई समस्यामा पारेको छ ।”
न त उनलाई पार्टीभित्रको साथ छ न त राप्रपाको राजनीतिमा शक्ति केन्द्रको रुपमा काम गरिरहेको ज्ञानेन्द्र शाहको इच्छामा गठन भएको संयुक्त जनआन्दोलन परिचालन समितिले नै उनलाई साथ दिएको छ । यसैले लिङदेन राजनीतिक संकटमा छन् ।
संयुक्त जनआन्दोलन परिचालन समिति गठन भएपछि लिङदेनले कार्यसम्पादन समितिको बैठकमा गोलमटोल प्रस्ताव राखेका थिए ।
तर, उनको पार्टीका बहुमत सदस्यले पार्टीले नाम तोक्नुपर्ने भनेपछि प्रस्ताव सच्याउन बाध्य भए ।
“राजतन्त्रका पक्षमा हुने सबै आन्दोलन र आन्दोलनकारी समूहलाई समर्थन गर्ने भन्ने प्रस्ताव राख्नुभएको थियो । सानो समूहले त ताली पनि बजाइसकेको थियो,” राप्रपाका एक नेताले बाह्रखरीसँग भने, “त्यसपछि छलफल गर्ने भनियो । छलफलमा अधिकांशले नवराज सुवेदी नेतृत्वको संयुक्त जनआन्दोलन परिचालन समितिलाई सहयोग गर्ने भनेपछि नाम तोकेरै प्रस्ताव पारित भयो ।”
त्यसबाहेक संयुक्त जनआन्दोलन परिचालन समितिको सचिवालय कहाँ राख्ने भन्ने बहस हुँदा राप्रपाको चावहिलस्थित कार्यालय छनोटमा पर्यो । केही विभागबाहेक खाली रहेको कार्यालयमा सचिवालय राख्ने तयारीबाट ‘संयुक्त जनआन्दोलन परिचालन समिति’ एकाएक पछि हट्यो ।
लिङ्देन नै आन्दोलनका लागि पूर्णरुपमा तयार नभएको निस्कर्षसहित समितिको सचिवालय कमल थापाको पार्टी कार्यालयमा राखियो । यसले राजावादी आन्दोलनमा लिङदेनभन्दा कमल थापाको प्रभाव ज्यादा रहेको सन्देश दियो ।
“चाबहिल कार्यालयमा पानी चुहिन्छ भनेको सुनियो, वास्तवमा त्यस्तो होइन,” राप्रपाका ती सदस्य भन्छन्, “लिङदेन आफैँ दोधारमा रहेको भनी कमल थापाको कार्यालयमा लगिएको हो ।”
कमल थापाले भने आफूलाई राजावादीहरूको मूल नेताका रुपमा उभ्याउन मेहनत गरिरहेको उनी बताउँछन् ।
आइतबारको आन्दोलनका क्रममा कमल थापा पक्राउ परेपछि नवराज सुवेदी नेतृत्वको समितिले उपत्यका बन्द आह्वान गर्यो ।
राति थापासहित सांसद दीपक सिंहलाई पनि प्रहरीले रिहा गर्यो । लिङदेनले राति ढिला गरी फेसबुकमा लेखेर उपत्यका बन्दमा राप्रपा सहभागी नहुने घोषणा गरे । उक्त घोषणामा लिङदेनले आफूलाई संयुक्त जनआन्दोलन परिचालन समितिले भाऊ नदिएको र सल्लाह नगरे आन्दोलन अघि नबढ्ने भाषा प्रयोग गरेको विश्लेषण भएको छ ।
लिङदेनले स्टाटसमा भनेका छन्, “..भोलि हुने भनिएको उपत्यका बन्दको कार्यक्रममा राप्रपाको सहभागिता नरहने जानकारी गराउँछु । आन्दोलनका अन्य नियमित कार्यक्रममा सल्लाहबाट निर्णय भएपश्चात हाम्रो सक्रिय सहभागिता रहनेछ ।”
लिङ्देनले सल्लाह नगरेमा पार्टी सहभागी नहुने संकेत गरेको बुझाइ आन्दोलन पक्षधरहरूको छ । राप्रपामा राजावादी आन्दोलनका पक्षको नेतृत्व महामन्त्री धवलशमशेर जवराले गरिरहेका छन् ।
पार्टीको जनआन्दोलन परिचालनको जिम्मा पनि उनैले लिएका छन् ।
उनैले राखेको प्रस्तावमा राजावादी आन्दोलन बलियो पार्न राप्रपा नेपाल र राष्ट्रिय शक्तिसहितका राजावादी पार्टी र अन्य समूहसँग सहकार्य गर्ने प्रस्ताव गत माघमै केन्द्रीय समितिबाट पारित भइसकेको छ ।
संयुक्त जनआन्दोलन परिचालन समितिबाट पनि जनआन्दोलन परिचालन समितिको नेतृत्व धवलशमशेरलाई मिलेको छ । राप्रपाको आसन्न महाधिवेशनले धवल शमशेरलाई नेतृत्वमा पुर्याउने चिन्ता लिङदेनमा छ ।
“उहाँहरू त आन्दोलन सकेर गएपछि पनि आन्दोलन कसरी सफल बनाउनेभन्दा महाधिवेशनको छलफल गर्न थालिसक्नुभएछ,” राप्रपाका ती नेता भन्छन्, “अबको महाधिवेशनबाट पनि लिङदेन निर्वाचित हुनुभयो भने आन्दोलन अघि बढ्छ भन्ने विश्वास राप्रपामा छैन ।”