काठमाडौं । सिंगापुरमा लामो समयदेखि प्रधानमन्त्रीको रूपमा कार्यरत ७२ वर्षका ली हसियन लुङ् २० वर्षपछि आजदेखि उक्त पदबाट बिदा हुँदै छन् । यसलाई सिंगापुरमा एउटा लामो राजनीतिक युगको समापनका रूपमा समेत हेरिएको छ ।
२० वर्षसम्मको शासनपछि बुधबार राति लीले प्रधानमन्त्री पद ५१ वर्षिय उपप्रधान तथा अर्थमन्त्री लरेन्स वोङ्लाई हस्तान्तरण गर्दै छन् । सन् १९६५मा सिंगापुर स्वतन्त्र भएपछि अहिलेसम्म तीनजना प्रधानमन्त्री भएका छन् । आजबाट चौथो प्रधानमन्त्री हुन लागेका छन् । ती सबै सत्तारुढ पिपुल्स एक्सन पार्टी (पीएपी)बाट रहेका छन् ।
पहिलो प्रधानमनत्री लीका पिता लि क्वान यु थिए जसलाई आधुनिक सिंगापुरको संस्थापक मानिन्छ । उनले २५ वर्षसम्म देशलाई नेतृत्व गरेका थिए । त्यसैले अहिले हुन लागेको सत्ता परिवर्तनलाई ली परिवारबाट राजनीतिक नेतृत्व बाहिर गएको रूपमा पनि विश्लेषकहरूले हेरेका छन् । यद्यपि, ली अझै पनि मन्त्रिपरिषद्मा बरिष्ठ मन्त्रीको रूपमा रहने जनाइएको छ ।
उनले गएको हप्ताको अन्त्यमा प्रधानमन्त्रीको रूपमा आफ्नो अन्तिम अन्तर्वार्ता स्थानीय मिडियामा दिँदै आफूलाई सहयोग गरेकोमा सिंगापुरवासीलाई धन्यवाद दिएका थिए । “मैले अरुभन्दा छिटो कुद्न खोजिनँ । मैले हरेकलाई म सँगै कुद्नका लागि ल्याउन प्रयास गरेँ,” उनले भनेका थिए, “मलाई लाग्छ यसमा हामीले केही सफलता हासिल गरेका छौँ ।”
उनले आफूले आफ्नो बाबु र त्यसपछिका प्रधानमन्त्री गो चोक टोङभन्दा छुट्टै हिसाबले काम गर्न खोजेको समेत बताएका छन् । ली १९८४मा राजनीतिमा प्रवेश गरेका थिए । जतिबेला उनका बाबु शक्तिमा थिए । उनले सिंगापुरको दोस्रो प्रधानमन्त्री गोह चोक टोङको पालामा राजनीतिमा आफूलाई अघि बढाउँदै लगे । २००४ मा सिंगापुरको तेस्रो प्रधानमन्त्री भएका थिए ।
सुरुमा उनलाई नातावादबाट आएको प्रधानमन्त्री भन्दै धेरैले टिकाटिप्पणी गर्ने गरे पनि पछिल्लो समयमा उनको कामले आरोपहरू छायामा परेका थिए । उनको पालामा सिंगापुरको अर्थतन्त्र विविधतामा गयो र देशलाई अन्तर्राष्ट्रिय आर्थिक पावरहाउसका रूपमा हेर्न थालियो । यस्तै, सिंगापुरलाई ‘टप टुरिस्ट डेस्टिनेसन’ बनाउन पनि उनको भूमिका मानिन्छ । त्यस्तै पछिल्लो २० वर्षमा सिंगापुरको कुल गार्हस्थ उत्पादन दोब्बर भएको छ ।
कोभिड–१९, विश्वव्यापी आर्थिकमन्दीलगायतको अप्ठेरो समयमा पनि देशलाई राम्रोसँग चलाउन सकेको जस लीलाई दिइएको छ । विदेश मामिलामा पनि लीले अमेरिका र चीनसँगको सम्बन्धलाई सन्तुलित ढंगले अघि बढाएको मानिने गरेको छ । पछिल्ला सर्भेहरूमा पनि ली सिंगापुरका मनपराइने व्यक्तिका रूपमा माथिल्लो पंक्तिमा पर्दै आएका छन् । तर, २००० को दशकमा कामदारको अभाव पूरा गर्न ठूलो संख्यामा आप्रवासीलाई सिंगापुर प्रवेश गर्न दिएकाले समस्या उत्पन्न भएको भनेर उनको आलोचना पनि हुने गरेको छ । बीबीसी