site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
पोखरामा सूर्यदर्शनभन्दा ठूलो घोटाला प्राइम सहकारीमा !

पोखरा । पोखरा महानगरपालिका–४ गैह्रापाटनमा रहेको प्राइम बहुउद्देशीय सहकारीको निक्षेप अपचलन प्रकरणमा कास्की प्रहरीले आठ जनालाई पक्राउ गरेको हो ।

सहकारी रजिस्टारको कार्यालय पोखराले कास्की प्रहरीलाई पत्र लेख्दै यस सहकारीमा भएको हिनामिनाको अनुसन्धान गर्न भनेको थियो । सहकारी रजिस्टारको कार्यालयले प्रहरीलाई ‘सहकारीका सञ्चालक समितिका पदाधिकारीहरूले निक्षेपकर्ताहरूको बचत रकम फिर्ता नगरेको, सहकारीको रकम हिनामिना, अपचलन एवं ठगी गरेको’ बताउँदै पत्र पठाएको थियो ।

कार्यालयले यो सहकारीमा एक अर्ब ५४ करोड १५ लाख रुपैयाँ रकम अपचलन तथा हिनामिना भएको बताएको छ ।

रजिस्टारको कार्यालयबाट पत्र प्राप्त गरेपछि मंगलबार आठ जनालाई पक्राउ गरिएको कास्की प्रहरीका उपरिक्षक मोहनकुमार थापाले जानकारी दिए ।

उनका अनुसार पक्राउ पर्नेमा संस्थामा निवर्तमान अध्यक्षदेखि, वर्तमान अध्यक्ष, व्यवस्थापक, कर्मचारी प्रमुख, कानुनी सल्लाहकारदेखि पूर्व कोषाध्यक्ष, कर्जा अधिकृत र सेयर सदस्यसम्म छन् ।

पोखरा–४ का निदेशप्रसाद कोइराला निवर्तमान उपाध्यक्ष हुन् भने पोखरा–१४ का शंकर कार्की अध्यक्ष हुन् । यस्तै, पोखरा–११ की निरु थापा केसी सहकारीको व्यवस्थापकको भूमिकामा थिइन् । सुरेन्द्रमणि पौडेल कर्मचारी प्रमुख थिए । उनी पोखरा २७ का हुन् ।

पोखरा–१३ आर्वा घर भई वडा नं. १२ को ढिकालेथर बस्ने इन्द्रप्रसाद बराल कानुनी सल्लाहकार हुन् । पोखराका ३० शिशुवाका कुलदीप भट्टराई पूर्व कोषाध्यक्ष हुन् भने सोही ठाउँका सुनिल थापा कर्जा अधिकृत थिए ।

प्रहरीले पोखरा–८ नयाँबजारका मानबहादुर गुरुङलाई पनि पक्राउ गरेको छ । उनी संस्थाका सेयर सदस्य तथा सल्लाहकारको भूमिकामा थिए । उनी मिटरब्याजीको रूपमा समेत चिनिएका थिए ।

यस सहकारीमा सञ्चालकहरूले करोडौँ रुपैयाँ कृत्रिम खाता खोलेर अपचलन गरेका थिए । पोखराका समस्याग्रस्त सहकारीमध्ये यो नै हालसम्मको सबैभन्दा ठूलो रकम अपचलन भएको घटना हो ।

गृहमन्त्री मुछिएको सूर्यदर्शन सहकारीले कास्कीका १८ हजार ७०० बचतकर्ताको एक अर्ब ३५ करोड हिनामिना गरेको प्रतिवेदन सार्वजनिक भएको छ । तर, प्राइम सहकारीमा भने त्यो भन्दा १९ करोड बढी रकम अपचलन भएको खुलेको हो ।

कास्की प्रहरीले प्राइम सहकारीका बचतकर्तालाई उजुरी गर्नका लागि आह्वानसमेत गरेको छ । एक सूचना जारी गर्दै प्रहरीले आउँदो जेठ २० गतेसम्म उजुरी गर्न बचतकर्तालाई आग्रह गरेको हो ।

“...उक्त सहकारी संस्थामा बचतकर्ता रही सहकारीबाट बचत तथा सेयर रकम फिर्ता नपाउनु भएका पीडित व्यक्तिहरूले सहकारीमा रकम जम्मा गरेको आधार देखिने सेयरधनी प्रमाणपत्र, पासबुक, भौचर, स्टेटमेन्ट, मुद्दती प्रमाण पत्रलगायतको प्रमाण र सम्बन्धित पीडित बचतकर्ताको नागरिकता समेतको परिचय खुल्ने कागजसहित कानुनबमोजिम सहकारी ठगी शीर्षकमा जाहेरी दरखास्त लिई यस जिल्ला प्रहरी कार्यालय कास्कीमा सम्पर्क राख्नु हुन सम्पूर्ण बचतकर्ताहरूमा सूचित गरिएको छ,” जिल्ला प्रहरी कार्यालय कास्कीले जारी गरेको सूचनामा भनिएको छ ।

प्रकाशित मिति: मंगलबार, जेठ १, २०८१  २०:१८
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Hamro patroHamro patro