site stats
बाह्रखरी :: Baahrakhari
देश
मनसुन के कारण छिटो भित्रिएको थियो नेपाल ?
फाइल तस्बिर ।

काठमाडौं । मनसुन यसपालि सरदर मितिभन्दा १५ दिन छिटो नेपाल प्रवेश गर्‍यो । र, त्यो हालसम्म कोसी प्रदेशमा छ ।

मनसुनमा पछिल्ला दिन थप प्रगति भएको छैन । जेठ १५ गते राति नेपाल प्रवेश गरेको मनसुन नौ दिन बितिसक्दा समेत कोसीबाट अघि बढ्न सकेको छैन । अर्थात्, मनसुनमा ‘ब्रेक’ लागेको मौसमविद् बताउँछन् ।

नेपालमा तथ्यांक राख्न थालिएयता ५७ वर्षको इतिहासमै यसपालि मनसुन छिटो भित्रिएको थियो । मनसुन छिटो भित्रनुमा विभिन्न कारण रहेको जलवायुविज्ञ डा. धर्मराज उप्रेतीले उल्लेख गरेका छन् ।

Argakhachi Cement Island Ad

“बंगालको खाडीमा र अरबसागरमा जेष्ठ महिनाको दोस्रो हप्ताको तापक्रम, वायुको चाप र समुद्रको सतहको तापक्रम आदिले तत्कालीन  अवस्थामा मनसुनलाई चाँडो धकेल्यो र भारतको दक्षिणी भाग, बंगालको खाडी हुँदै नेपालको कोसी प्रदेशसम्म पुगायो,” उनले शनिबार (जेठ २४) राति सामाजिक सञ्जाल फेसबुकमा लेखेका छन् ।

यति बेला अवस्था फेरिएको छ । उनले लेखेका छन्, “परिवर्तित  अवस्थाले अहिले मनसुनमा प्रगति हुन सकेको छैन, ब्रेक लाग्यो ।”

उद्गमविन्दुमै मनसुन यसपालि छिटो उत्पत्ति भएको उनले यसअघि बाह्रखरीसित बताएका थिए । “मनसुनको उद्गम भनेको माल्दिभ्सको तटीय क्षेत्र, श्रीलंकाको तटीय क्षेत्र, हिन्द महासागरमा जहाँ यसको उत्पत्ति हुन्छ, त्यहाँ नौ दिनअगाडि उत्पत्ति भयो,” उनले भनेका थिए ।

उनका अनुसार, उद्गमविन्दुमा मनसुन उत्पत्ति हुने औसत मिति मे २३ तारिख हो । यो वर्ष त्यहाँ मे १३ मै मनसुन उत्पत्ति भएको थियो । भारतका पनि कतिपय भूभागमा मनसुन छिटो प्रवेश गरेको थियो ।

उनले हालको अवस्थालाई मनसुन नौ दिनदेखि कोसी प्रदेशमा अड्किएको भनेका छन् । “नौ दिनदेखि कोसीमा अड्केको मनसुन अझै कम्तीमा ३–५ दिन खासै प्रगति गर्दैन कि जस्तो छ,” उनले लेखेका छन् ।

उनका अनुसार, जेठ २५ देखि २८ गतेसम्म विशेष गरी तराईमा गर्मी बढ्ने सम्भावना छ । त्यो सम्भावना पश्चिम तराईमा अझ बढी रहेको उनले औँल्याएका छन् ।

त्यसपछि मनसुनमा प्रगति हुनसक्छ । विज्ञ उप्रेतीले लेखेका छन्, “जेष्ठको २८– २९ गतेपछि मनसुनमा प्रगति हुँदै असारको ४ देखि ६ गतेतिर सुदूरपश्चिममा पुग्ने पूर्वानुमान गर्न सकिन्छ ।”

रोपाइँको तयारीलगायत अरू कृषि कार्य असार १ गतेपछि मात्र अनुकूल हुने उनको भनाइ छ ।

प्रकाशित मिति: शनिबार, जेठ २४, २०८२  २२:४३
प्रतिक्रिया दिनुहोस्