काठमाडौं । संसदीय छानबिन समितिको माग राख्दै आएको नेपाली कांग्रेसले आज पनि संसद् बैठक अवरुद्ध गरेको छ । राष्ट्रपति रामचन्द्र पौडेललाई नीति तथा कार्यक्रम प्रस्तुत गर्न दिएको कांग्रेसले संसद्का बाँकी कार्यसूचीमा प्रवेश गर्न दिएन ।
आजै बसेको दोस्रो बैठकमा सभामुख देवराज घिमिरेले बैठक सुरु भएको घोषणा गरेलगत्तै कांग्रेसका सांसदहरूले वेल घेराउ गरेर नाराबाजी गरेका थिए ।
सभामुखले नाराबाजीबै बीचमा गृहमन्त्री रवि लामिछानेले समय मागेको बताएका थिए । तर, कांग्रेसले नाराबाजी गरिरह्यो ।
कांग्रेसको नाराबाजीपछि सभामुख घिमिरेले संसद् बैठक स्थगित गरेका छन् । सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गरेकोमा राष्ट्रपतिलाई धन्यवाद दिने प्रस्तावसहितका सबै कार्यसूची हटाएर उनले बैठक स्थगित गरेका हुन् ।
अर्को बैठक बिहीबार बिहान ११ बजेका लागि बोलाइएको छ ।