site stats
बाह्रखरी :: Baahrakhari
देश
पाेखरामा बसाइ लम्ब्याउन भ्यू फेवा, राउन्ड फेवा पदमार्ग
फाइल तस्बिर

गण्डकी । पर्यटकीय राजधानी पोखरामा पर्यटकको बसाइ लम्ब्याउने उद्देश्यका साथ गण्डकी प्रदेश सरकारको सहयोगमा फेवाताल किनारामा भ्यू फेवा, राउन्ड फेवा पदमार्गको काम अघि बढेको छ । फेवा ड्याम साइडस्थित वनस्पति पार्कबाट रानीवन हुँदै अनदुसम्मका लागि पदमार्ग बनाउन सरकारले ५० लाख  रुपैयाँ बजेट छुट्ट्याएर काम सुरू गरेको उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालय गण्डकी प्रदेशका सचिव कुमानसिंह गुरुङले जानकारी दिए । 

यस आर्थिक वर्षमा करिब तीन किलोमिटर दुरीको पदमार्ग तयार हुने जानकारी दिँदै उनले उक्त मार्गका १० स्थानमा काठेपुल राख्नुपर्ने देखिएको बताउनुुभयो । हालसम्म लगभग दुई किलोमिटर पदमार्ग तयार भइसकेको उनले जानकारी दिए । 

Argakhachi Cement Island Ad

यसैबीच, निर्माणाधीन पदमार्गको साेमबार मन्त्रालयका प्रतिनिधि एवम् पर्यटन व्यवसायीले स्थलगत अवलोकन गरेका छन् । गण्डकी प्रदेशका पूर्व उद्योग, पर्यटन, वन तथा वातारणमन्त्री दिपेन्द्रबहादुर थापा, मन्त्रालयका सचिव कुमानसिंह गुरुङ, पर्यटन निर्देशनालयका पदाधिकारी, ट्रेकिङ एजेन्सिज एसाेसिएसन अफ नेपाल (टान) गण्डकीका अध्यक्ष धर्मराज पन्थीलगायत पर्यटन व्यवसायीले निर्माण कार्यको अवलोकन गरे ।

पाेखरा पर्यटकीय राजधानी घोषणा भइसकेको अवस्थामा पर्यटकको बसाइ लम्ब्याउने किसिमका पर्यटकीय पूर्वाधार आवश्यक रहेका अवस्थामा बन्न लागेको यस पदमार्ग बहुउपयोगी बन्ने टान गण्डकीका अध्यक्ष धर्मराज पन्थीले बताए ।  “पोखरामा पर्यटकको बसाइ लम्ब्याउने किसिमका पूर्वाधार बन्नु अपरिहार्य छ,” उनले भने, “भ्यु फेवा, राउन्ड फेवा पदमार्ग पोखराको पर्यटनमा महत्वपूर्ण हुने हामीले विश्वास लिएका छाैँ । ”

पदमार्ग निर्माणसँगै पोखरामा आएका जो कोही पर्यटकले छोटो समयमा हिमाल, ताल, र पोखराबजारको दृश्यावलोकन गर्दै पदयात्रा गर्न पाउने छन् । पोखरालाई आधार बनाएर आसपासका अन्नपूर्ण आधार शिविर पदमार्ग, मर्दी हिमाल पदमार्ग, घोरेपानी, पुनहिल आदि पदमार्गमा यात्रा गर्न जाने पदयात्रीका लागि पनि पूर्वअभ्यासका लागि यो पदमार्ग उपयोगी बन्ने विश्वास लिइएको छ । यस पदमार्गलाई ड्याम साइडदेखि रानीवन, मेवाखोला हुँदै मार्गीसम्म पुर्‍याउने लक्ष्य लिइएको छ । रासस

प्रकाशित मिति: सोमबार, वैशाख २४, २०८१  १५:३७
प्रतिक्रिया दिनुहोस्