काठमाडौं । काठमाडौंमा भाषा दिवस मनाइएको छ । नेवाः र तामाङ समुदायले र्यालीसहित कार्यक्रमको आयोजना गरेर दिवस मनाएको हो । सो अवसर पारेर वाग्मती प्रदेश सरकारको संस्कृति, पर्यटन तथा सहकारी मन्त्रालयले सरकारी कामकाजी भाषा ऐन, २०८० कार्यान्वयन गरेको छ ।
आज बिहान काठमाडौंको वसन्तपुरमा एक औपचारिक कार्यक्रम गरी ऐन कार्यान्वयनको घोषणा गरेको हो । ऐन कार्यान्वयनको घोषणासँगै नेपाल र तामाङ भाषा सरकारी कामकाजको भाषाका रूपमा प्रयोग गर्ने व्यवस्था गरेको हो ।
गत असोज २२ मा वाग्मती प्रदेशसभाबाट ‘प्रदेश सरकारी कामकाजको भाषा सम्बन्धमा व्यवस्था गर्न बनेको ऐन, २०८०’ पारित गरिएको थियो भने कात्तिक २३ गतेका दिन प्रदेश राजपत्रमा प्रकाशित भएको थियो ।
भाषा ऐन कार्यान्वयन घोषणापश्चात् वाग्मती प्रदेश सरकार मातहत र प्रदेशका ११९ स्थानीय तहको नाम चार भाषामा लेखिने प्रदेशका संस्कृति पर्यटन तथा सहकारीमन्त्री शैलेन्द्रमान बज्राचार्यले जानकारी दिए । उनका अनुसार कार्यालयको बोर्ड र ‘लेटर हेड’मा नेपाली, अंग्रेजी, तामाङ र नेपाल भाषामा नाम रहनेछ ।
तस्बिरहरू हेर्नोस्