site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
काठमाडौंको वायु अझै ‘अस्वस्थकर’, आँखा र श्वासप्रश्वासमा समस्या निम्तिँदै 
फाइल तस्बिर ।

काठमाडौं । पछिल्लो तीन सातायता काठमाडौंसहित देशका केही सहरमा वायु प्रदूषण उच्च छ । विशेषगरी काठमाडौंका विभिन्न स्थानका सूचकांकले अझै पनि वायु अस्वस्थकर रहेको देखाएका छन् । वातावरण विभागको प्रदूषण मापक सूचकांकले बुधबार २४ घण्टामा काठमाडौंको एयू क्वालिटी इन्डेक्स एक्यूआई १५५ देखि १६० सम्म रहेको देखाएको छ । 

बिहीबार मध्याह्न १२ बजेबाट भने एक्यूआई केही घटेको देखिन्छ । यो सूचकांक कीर्तिपुर, भैँसेपाटी, खुमलटार लगायतका स्थानमा १३० भन्दा कम ११० सम्म देखिएको छ । काठमाडौंको वायु प्रदूषण बुधबारको भन्दा बिहीबार बढेको देखाएको छ ।

बिहीबार मध्याह्न १२ बजे देशकै प्रदूषित सहर भरतपुर देखिएको छ । भरतपुरको एक्यूआई १८३ पुगेको छ । वायुको गुणस्तर हेर्ने अन्तर्राष्ट्रिय सूचकांक आईक्यू एयरको सूचकांकमा भने काठमाडौंमा बिहीबार बिहान ११ः४५ बजे १५७ यूएस एक्यूआई मापन भएको छ । 

आईक्यू एयरका अनुसार विश्वका १२२ सहरमध्ये काठमाडौं बिहीबार मध्याह्न चौथो प्रदूषित सहरमा सूचीकृत छ । पहिलो प्रदूषित सहरको रूपमा दक्षिण कोरियाको बुसन छ, त्यहाँ प्रदूषणको मात्रा १९७ यूएस एक्यूआई पुगेको आईक्यू एयरको रेकर्डमा उल्लेख छ ।  एक्यूआई शून्यदेखि ५० सम्मको (हरियो) रहेको वायु स्वस्थकर हुन्छ । ५१ देखि १०० सम्मको (पहेँला) भए होसियार रहनुपर्ने र १०१ देखि १५० एक्यूआईसम्म (खैरो) रहेको वायुले श्वासप्रश्वास र मुटु रोगीका बिरामीलाई असर गर्छ ।

यस्तै, १५१ देखि २०० सम्म एक्यूआई (रातो) पुगेमा सबैका लागि अस्वस्थकर हुने र सोभन्दामाथि जति बढ्दै गयो उति वायु अति हानिकारक बन्दै जान्छ । 

प्रदूषणले निम्त्याउँछ आँखाको समस्या 
काठमाडौंको वायु प्रदूषणको अवस्थाका आधारमा आँखा सधैँ जोखिममा रहन्छ ।  डढेलोबाट निस्किएको धुवाँले गराएको प्रदूषण होस् या सवारी साधनबाट निस्कने खराब धुवाँका कारण हुने प्रदूषण दुवै आँखाका निम्ति अति हानिकारक हुन्छन् । 

पीएम (पर्टीकुलेट म्याटर, जसको आधारमा हावाको गुणस्तर मापन गरिन्छ)  १०, २.५ को मात्रा अधिक भएको प्रदूषणले आँखामा पनि एलर्जीक कन्जन्टीभाइटीस निम्त्याउने तिलगंगा आँखा प्रतिष्ठानका नेत्ररोग विशेषज्ञ डा. कौशल पोख्रेल बताउँछन् । 

प्रदूषणले सुक्खा र सामान्य दुवै आँखालाई असर पुर्‍याउँछ । खराब हावामा रहेका तत्वहरू लामो समयसम्म आँखामा रहँदा तिनले आँखा सफा गर्ने प्राकृतिक तत्वहरू कम उत्पादन हुन्छन् र आँखामा विभिन्न समस्याहरू देखिन्छन् । प्रदूषणले आँशु उत्पादन हुन नदिँदा आँखा थप सुक्खा बन्दैजान्छ । त्यतिमात्रै नभइ आँखा चिलाउने, पाक्ने, रातो हुनेजस्ता समस्याहरू देखिन्छन् । 

आँखाको नानीमात्रै नभइ ढकनी र बाहिरी छालामा समेत सुन्निने, चिलाउनेजस्ता समस्या वायु प्रदूषणबाट नै निम्तिन्छन् ।  वायु प्रदूषणको असरबाट आँखालाई जोगाउन घर बाहिर निस्कँदा ठूलो फ्रेम भएको चस्माको प्रयोग गर्न, चिउँडो छोप्नेगरी फुल हेल्मेट र भाइजर अनिवार्य लगाउन डा. पोख्रेलको सुझाव छ । 

उनका अनुसार आँखामा समस्या देखिए पानी छ्याप्नु हुँदैन सामान्य धुलो परेको वा केही बिझेको भए हल्का ढंगले मुन्टो निहुराएर सफा पानीमा आँखा चोपल्न सकिन्छ । चिकित्सकको सल्लाहबिना पनि प्रयोग गर्नमिल्ने औषधिहरू टियर सप्लिमेन्ट मात्रै हुन् । यीबाहेक आँखामा के कारणले कस्तोखाले संक्रमण भयो भन्ने थाहा नपाइ औषधि लगाउँदा त्यसले दीर्घकालीन असर पुर्‍याउनसक्छ । यस्तो अवस्थामा नजिकैको आँखा स्वास्थ्य केन्द्रमा पुगेर चिकित्सकको सल्लाहअनुसार औषधि प्रयोग गर्न डा.पोख्रेलको सुझाव छ । 

प्रकाशित मिति: बिहीबार, वैशाख ६, २०८१  १२:५८
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
MPG Admark South Asian UniversityMPG Admark South Asian University
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro