site stats
बाह्रखरी :: Baahrakhari
देश
प्रहरीलाई नै हैरान पारेकी सन्जु यसरी परिन् फन्दामा, अनि खुल्यो 'परिवारकै' अपराध कर्म

काठमाडौं । तीन महिनाअघि प्रहरीको उपत्यका अपराध अनुसन्धान कार्यालयमा एक महिलाविरुद्ध उजुरी आयो । प्रहरीले उक्त उजुरीबारे आन्तरिकरूपमा अनुसन्धान थालिसकेको थियो ।

तर, पछिल्ला दिनहरूमा फेरि तिनै महिलाको नाममा ठगीका अन्य उजुरी धमाधम आउन थाले । प्रहरीले ती महिलाले ठगी धन्दा नै चलाएको आशंकापछि अनुसन्धान तीव्र पार्‍यो । उजुरीकर्ताहरूले रश्मि विश्वकर्माको नाममा खोलिएका बैंक खातामा रकम पठाएका प्रमाण नै पेस गरेका थिए ।

रश्मिको नाममा उजुरी गर्नेको संख्या बढेपछि कार्यालयले अनुसन्धानका लागि प्रहरी नायव उपरीक्षक (डीएसपी) अनिल घिमिरेको नेतृत्वमा टोली खटायो ।

पीडितले बैंक खातामा रकम पठाइएका कारण अनुसन्धान जटिल नहुने अनुमानका साथ डीएसपी घिमेरेले अनुसन्धान थाले । बैंक खाता खोल्दा प्रयोग भएको रश्मि विश्वकर्माको नागरिकताको फोटोकपी बैंकबाट झिकाए ।

रश्मिको ठेगाना झापा मेचीनगर–९ उल्लेख थियो ।

Global Ime bank

फोटोसहितको नागरिकताको फोटोकपी लिएर झापा प्रहरीको सहयोगमा कार्यालयको टोली झापा पुग्यो । प्रहरीले रश्मि नाम गरेका तीनजना भेटायो तर नागरिकतामा फोटो भएको रश्मि फेला पार्न सकेन । अर्की एकजना रश्मि भने भारत पुगेको खुल्यो ।

प्रहरीले भारत पुगेकै रश्मि भएको ठान्यो । भारतीय प्रहरीको सहयोगमा भारत पुगेकी रश्मिलाई झापा झिकाइयो । तर, ती रश्मिको फोटो पनि ठगी गर्ने रश्मिको नागरिकताको फोटोसँग मेल खाएन ।

प्रहरी रश्मिको खोजीले हैरान परेको थियो । भारतबाट नेपाल झिकाइएकी रश्मिको नागरिकता नम्बर र ठगी धन्दामा संलग्न रश्मिको मोबाइल नम्बर भने एउटै देखियो । प्रहरीले त्यही नम्बरबाट अनुसन्धान केन्द्रित गर्‍यो ।

भारतबाट झापा झिकाइएकी रश्मिले सात महिनाअघि काठमाडौंमा आफ्नो नागरिकता हराएको जानकारी अनुसन्धानमा खटिएका प्रहरीलाई गराइन् । डीसएपी घिमिरेको टोलीले नागरिकता दुरुपयोग भएको निष्कर्ष निकाल्यो ।

तर, कसले दुरुपयोग गर्‍यो भन्नेबारे प्रहरीलाई अनुसन्धान गर्न जटिल थियो । प्रहरीले त्यही नागरिकता दुरुपयोग गरेर मोबाइलको सिमकार्ड प्रयोग गरेको हुन सक्ने भन्दै नेपाल टेलिकम र एनसेलसँग विवरण माग्यो । जब प्रहरीले विवरण पायो, त्यही नागरिकताबाट एनसेलको मात्रै १४ वटा सिम निकालेको खुल्यो ।

प्रहरीको टोलीले प्राविधिक विश्लेषणपछि झापाकै ३५ वर्षीय निश्चल पोर्तेलको केही खातामा समेत शंकास्पद रकम ट्रान्सफर भएको तथ्य फेला पार्‍यो ।

'रश्मि'कै खाताबाट निश्चलको खातामा रकम पुगेको थियो । प्रहरीले काठमाडौं कागेश्वरी मनोहराबाट निश्चल पोर्तेललाई नियन्त्रणमा लिएर सोधपुछ थाल्यो ।

अनि खुल्यो अपराध कर्म

प्रहरीले  निश्चललाई नियन्त्रणमा लिएर सोधपुछ गर्दै गएपछि भने वास्तविक अपराध कर्म खुल्यो । झापा अर्जुनधारा–९ की सन्जु पौडेलले रश्मि विश्वर्कमाको भेटाएको नागरिकतामा आफ्नो फोटो टाँसेर विभिन्न बैंकमा खाता खोलेर ठगी धन्दा चलाएको खुलेको हो ।

सन्जुलाई पक्राउ गरेर प्रहरीले अनुसन्धान थालेको छ । निश्चल सन्जुको श्रीमान् भएको समेत प्रहरीको अनुसन्धानमा देखिएको छ । उनको साथबाट निशान्त शर्माको नाम रहेको भारतीय आधार कार्डसमेत फेला परेको छ ।

त्यस्तै, ठगी धन्दामै संलग्न इलामका धनबहादुर बिकलाई समेत प्रहरीले पक्राउ गरेको छ ।

ठगी धन्दाका मुख्य नाइके सन्जु भएको उपत्यका प्रहरी कार्यालयका एसपी रविन्द्र रेग्मीले बताए । निश्चल र धनबहादुर उनका सहयोगी भएको खुलेको छ ।

प्रहरीको अनुसन्धानका क्रममा सन्जुले विभिन्न व्यक्तिहरूमा पार्सलका नाममा ६० लाख ५५ हजार रुपैयाँ ठगी गरेको खुलेको छ । उनीमाथि अनुसन्धान गर्दै जाँदा सन्जुको परिवार नै ठगी धन्दामा लागेको खुलेको छ ।

सन्जुका भाइ सन्तोष भनिने पंकज पौडेलसमेत ठगीकै आरोपमा पक्राउ परेर हाल डिल्लीबजार कारागार चलान भएको खुलेको छ । त्यस्तै, उनकी दिदी मन्जु पनि भारतमा ठगीको आरोपमा पक्राउ परेर हाल तिहाड जेलमा रहेको खुलेको छ ।

सन्जुको परिवार नै गठी धन्दामा लागेको प्रहरीको दाबी छ । उनीहरूको समूहले अन्य धेरैलाई ठगी गरेको आशंका प्रहरीको छ ।

सन्जुको साथबाट प्रहरीले विभिन्न व्यक्तिको नागरिकता ६ थान, एनसेलका प्रयोग भएका १४ थान, प्रयोग नभएका १२ थान, भारतीय सिमकार्ड एक थान, विभिन्न बैंकका एटीएम ८ थान, बैकका ११ थान चेकबुक विभिन्न सुनका ६ थान गहना र ६ थान मोबाइल बरामद गरेको छ ।

उनीमाथि थप अनुसन्धानका लागि उपत्यका प्रहरी कार्यालयले काठमाडौं प्रहरीलाई बुझाएको छ । 

NIBLNIBL
प्रकाशित मिति: आइतबार, वैशाख २, २०८१  १९:१८
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Dish homeDish home
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
अब त रोम विधान अनुमोदन गर !
अब त रोम विधान अनुमोदन गर !
SubisuSubisu