site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
निर्वाचन आयोगको विवरण ढाँटेर गण्डकीमा एमाले–माओवादीको नयाँ सरकार
मुख्यमन्त्री खगराज अधिकारी ।

पोखरा । गण्डकी प्रदेशमा आइतबार विवादास्पद तरिकाले नयाँ सरकार बन्यो । तत्कालीन मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले अल्पमतमा परेसँगै चैत २१ गते राजीनामा दिएका थिए । त्यही दिन प्रदेश प्रमुख डिल्लीराज भट्टले चैत २७ गतेसम्म नयाँ सरकार गठनका निम्ति दाबी गर्न दलहरूलाई आह्वान गरे ।

नेकपा (एमाले) र नेकपा (माओवादी केन्द्र)को गठबन्धनले आइतबार बिहान सरकारमा दाबी गर्‍यो । त्यसको केही बेरपछि प्रदेश प्रमुखले गण्डकी प्रदेशसभामा एमाले संसदीय दलका नेता रहेका खगराज अधिकारीलाई मुख्यमन्त्री नियुक्त गरे । आइतबारै शपथग्रहणपछि उनले काम थालिसकेका छन् ।

उनीहरूले दाबी पेस गरेको निवेदनमा एमालेका २२, माओवादीका आठ र दीपक मनाङे (राजीव गुरुङ)सहित ३१ जनाको बहुमत पुर्‍याइएको उल्लेख छ । जबकि, माओवादीले सभामुख कृष्ण धिताललाई समेत प्रदेशसभा सदस्यको हैसियतमा प्रयोग गरेको छ ।

सभामुख भइसकेपछि धितालले माओवादीको साधारण सदस्य पनि नरहने गरी राजीनामा दिएका थिए । तर, माओवादीले उनलाई आफ्नो सांसदका रूपमा प्रयोग गर्‍यो ।

संविधानको धारा १६८ (२) अनुसार सरकार बनाउँदा दलले दाबी गर्ने र धिताल पनि दलकै सदस्य रहेको प्रदेश प्रमुखसमक्ष ‘ब्रिफिङ’ गरियो । निर्वाचन आयोगले दिएको विवरणानुसार दाबी गरिएको तर्क माओवादी संसदीय दलका नेता हरिबहादुर चुमानले गरे । यो विषय सर्वोच्च अदालतमा लैजाने विपक्षीको तयारी छ ।

तर, जसरी माओवादीले निर्वाचन आयोगको विवरण भनेर आठ सांसद आफ्नो रहेको दाबी गरेको छ, यो गलत छ । आयोगकै वेबसाइट हेर्ने हो भने गण्डकीमा माओवादीका सात सांसद छन् । माओवादीले आफ्नो सांसदमा गणना गरेको गोरखा–२ (१) बाट निर्वाचित प्रदेशसभा सदस्य फणिन्द्र देवकोटालाई आयोगले नेपाल समाजवादी पार्टीको सांसदका रूपमा अभिलेख कायम गरेको छ । गोलाकारभित्रको हँसिया हथौडा चुनाव चिह्नबाट विजयी भए पनि उनको दल भने नेसपा रहेको आयोगको वेबसाइटमा उल्लेख छ ।

स्वयं देवकोटाले आफूलाई नेसपाकै सांसद बताइरहेका छन । नेसपाको सांसद भएकाले उनी पछिल्लो समय माओवादी संसदीय दलको बैठकमा सहभागी भएका थिएनन् । आइतबारको सरकार गठन प्रक्रियामा पनि आफ्नो कुनै भूमिका नरहेको उनले बताउँदै आएका छन् ।

“मेरो दल नेसपा हो । पार्टीले मलाई अहिलेसम्म कुनै निर्देशन दिएको छैन । अहिलेको सरकार गठन प्रक्रियाको बारेमा मैले मिडियाबाट थाहा पाएको हुँ । म काठमाडौं छु,” बाह्रखरीसँगको फोन सम्पर्कमा उनले भने ।

सभामुखलाई समेत गणना गरेर गण्डकीमा आइतबार गठित नयाँ सरकारविरुद्ध पूर्वमुख्यमन्त्री पाण्डे सर्वोच्च जाने तयारीमा छन् । कानुनी परामर्शका निम्ति उनी आइतबारै साँझ काठमाडौंतर्फ लागिसकेका छन् । मुख्य न्यायाधिवक्ता चिरञ्जीवी शर्मा पौडेल पनि उनीसँगै गएका छन । पौडेलले पनि आयोगको विवरणलाई आफूहरूले ‘मार्किङ’ गरेको बताए ।

कोसी प्रदेशको नजिरसहित आयोगको अभिलेखका आधारमा मंगलबार (भोलि) सर्वोच्च जाने गण्डकी प्रदेशसभामा नेपाली कांग्रेस संसदीय दलका नेता रहेका पाण्डेको तयारी छ ।

प्रकाशित मिति: सोमबार, चैत २६, २०८०  ११:४४
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
MPG Admark South Asian UniversityMPG Admark South Asian University
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro