
काठमाडौं । प्रमुख प्रतिपक्षी दलका नेता पुष्पकमल दाहाल 'प्रचण्ड'ले संसद्को अवरोध हटाउन गृहमन्त्रीको राजीनामा प्राथमिक विषय नरहेको संकेत गरेका छन् ।
संसद् भवन नयाँ बानेश्वरमा विपक्षी दलहरूको बैठकपछि माओवादी अध्यक्षसमेत रहेका प्रचण्डले विश्वासिलो छानबिनको वातावरण बने संसद्को अवरोध खुल्ने बताए ।
“हामी प्रतिपक्षीहरू बस्यौँ । प्रतिपक्षीहरूबीच छानबिन महत्त्वपूर्ण कुरा हो । विश्वासिलो छानबिनको वातावरण बन्यो भने यो विषय अघि बढाउन सकिन्छ भन्ने भएको छ,” प्रचण्डले भने, “प्रतिपक्षीहरूबाट शेरबहादुर देउवासँगै छलफल गर्नुपर्छ कि भन्ने भएको छ ।”
यसअघि सत्तारुढ नेपाली कांग्रेसका नेताहरूले प्रतिपक्षी दलका नेताहरूसँग छलफल गरेका थिए । उपसभापति पूर्णबहादुर खड्का, ज्ञानेन्द्रबहादुर कार्की, प्रमुख सचेतक श्याम घिमिरेलगायत र प्रतिपक्षीबीच छलफलपछि शुक्रबारको बैठक सूचना टाँसेर स्थगित गर्ने सहमति भएको थियो ।
प्रचण्डले एक–दुई दिनभित्र सकारात्मक रूपमा समस्या टुंगिने विश्वास व्यक्त गरे । सत्तापक्षले अख्तियारको छानबिन जारी रहँदा अन्य छानबिन नबनाउने कि भन्ने आशय राखेको उनले बताए । यद्यपि, छानबिन गर्ने विषयमा सहमत भएको उनको भनाइ छ ।