site stats
बाह्रखरी :: Baahrakhari
देश
बिस्केट जात्रा चैत २७ देखि 
फाइल तस्बिर ।

भक्तपुर । प्रत्येक नयाँ वर्षमा भक्तपुरवासीले नौ दिन आठ रातसम्म परम्परागत तान्त्रिक विधिअनुसार मनाउने प्रसिद्ध बिस्केट जात्रा यस वर्ष चैत २७ गतेदेखि सुरु हुने भएको छ । 

नयाँ वर्ष सुरु हुनुभन्दा चार दिन अगाडि भैरवको रथ तानेर सुरु हुने यो जात्रा मुख्य गरी चैत मसान्तमा इन्द्रध्वजासहितको लिंगो उठाइन्छ । साथै वैशाख १ गते दिनभर ल्यासिङखेलमा लिंगो जात्रा मनाएर साँझ लिंगो ढाल्ने प्रचलन छ । जात्राका लागि अत्यावश्यक मानिने भैरव र भद्रकालीको रथ निर्माण तीव्र गतिमा भइरहेको जनाइएको छ । 

Argakhachi Cement Island Ad

टौमढीस्थित पाँचतले मन्दिर प्रांगणमा एक महिना अगाडिदेखि प्यागोडा शैलीको तीन तले रथ निर्माण कार्य तीव्र गतिमा भइरहेको र भैरवको रथको आजदेखि छाना राख्ने काम सुरु भएको गुठी संस्थान भक्तपुरको प्रमुख खिमा वलीले जानकारी दिए ।

उनले आजैबाट भद्र्कालीको रथ निर्माण पनि सुरु भएको जानकारी दिँदै अहिलेसम्म भैरव रथ निर्माणका क्रममा विभिन्न आकारका काठ तयार गर्ने, पाङ्ग्रा जोड्ने, बिग्रिएका सामानको मर्मत गर्ने, भाँचिएका धुरा मर्मत गर्ने, चुकुल फेर्ने, बुट्टा बनाउने कार्य भइरहेको बताए ।

आगामी चैत २६ गतेसम्म रथमा रङगरोगन एवं सजाउने काम गरिने र चैत २७ गते सरकारी पूजा ११ बजे, सर्वसाधारणको पूजा दिउँसो ३ बजेसम्म सकेर दिउँसो ३ बजेदेखि रथ तान्न सुरु गरिने उनले जानकारी दिए ।

“रथ तान्न ठेकेदारलाई ९० हात लामो कसिलो र बलियो डोरी ल्याउन निर्देशन दिएका छौँ । जात्रा व्यवस्थापन समितिसमेतको टोलीले डोरीको परीक्षण गर्नेछ”, उनले भने, “५५ हात लामो, नाङ्लो जस्तो फराकिलो फेद भएको दुई वटा लिंगो यस वर्ष दाताले ल्याइएदिएका छन्, यसवर्ष चैत २७ गते भैरवको रथ दिउँसो ३ बजे तानेर अपरान्ह ५ बजे सम्पन्न गर्ने निर्णय गरेका छौँ ।”

यस वर्ष बिस्केट जात्राका लागि पूजा खर्चबाहेक रथ निर्माण, डोरी, बेत, विभिन्न साइजका काठ खरिद एवं ज्याला, रथ मर्मतलगायत जात्रा सप्म्पन्न गर्न सरकारले ४० लाखको बजेट विनियोजन गरेपनि जात्रामा भएको खर्चअनुसार मात्रै निकासा हुने बताए ।

चैत २६ गते हनुमान ढोकाबाट खड्ग ल्याएर गुठीका एक कर्मचारीलाई राजाको प्रतीक बनाएर बाजागाजासहित च्याङ्ग्रा गणेश मन्दिरको जंगलमा रुखलाई पूजा गरेर खड्ग भित्र्याएपछि जात्रा सुरु हुने परम्परा रहेको छ । रासस

प्रकाशित मिति: बुधबार, चैत २१, २०८०  १२:२५
प्रतिक्रिया दिनुहोस्