site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Global Ime bankGlobal Ime bank
नेपालले अघि बढाएको ‘नेपाल–तिब्बत–सिचुवान डेभलपमेन्ट कोरिडोर’ के हो ? 

काठमाडौं । उपप्रधान तथा परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठको चीन भ्रमणमा एउटा नयाँ विषयले प्रवेश पाएको छ । त्यो हो– ‘नेपाल–तिब्बत–छोङछिङ्ग–सिचुवान डेभलपमेन्ट कोरिडोर ।’

आफ्नो नौ दिने चीन भ्रमणबाट फर्केपछि उनले नेपाल–तिब्बत–छोङछिङ्ग–सिचुवान डेभलपमेन्ट कोरिडोरका विषयमा गहन र सकारात्मक छलफल भएको दाबी गरेका छन् ।   उनले जारी गरेको नोटमा भनिएको थियो, “नेपाल–तिब्बत–छोङछिङ्ग–सिचुवानबीच डेभलपमेन्ट कोरिडोर बनाउने विषयमा हामीबीच सकारात्मक छलफल भयो ।” 

नेपाल र चीनबीच किन चाहियो त डेपलपमेन्ट कोरिडोर ? भन्ने बाह्रखरीको जिज्ञासामा परराष्ट्रमन्त्री श्रेष्ठले भने, “नेपाल र चीनको आर्थिक पारस्परिक अन्तरक्रिया निम्ति नेपाल–चीन इकोनोमिक डेभलेपमेन्ट कोरिडोरको रूपमा नेपाल, तिब्बत, छोङछिङ्ग र सिचुवानलाई ध्यान दिँदा नेपालले धेरै लाभ पाउन सकिन्छ भन्ने मेरो निष्कर्ष हो ।” 

Dabur Nepal
NIC Asia

पराष्ट्रमन्त्री श्रेष्ठको शब्दमा, ‘नेपालको राष्ट्रिय कार्यभार आर्थिक विकास र समृद्धि हो ।’ 

यसैलाई केन्द्रमा राखेर सरकारले काम गरिरहेको उनी बताउँछन् । सुशासन, समृद्धि र सामाजिक न्यायलाई सरकारले मूल कार्यदिशा बनाएको छ ।

“राजनीतिक परिवर्तन पछाडि काम त भएका छन् तर हामीले तीव्रता प्रदान गरेर अर्को बिन्दूमा पु¥याउनु छ । त्यसका निम्ति हामीले आर्थिक कूटनीति माध्यम बनाएर धेरै काम गर्नुछ । यसैअनुरुप नेपाल–तिब्बत–छोङछिङ्ग–सिचुवान डेभलपमेन्ट कोरिडोरको अवधारण अघि बढाएको हुँ,” उनले भने । 

कसरी देशभित्र रोजगारी बढाउने र आर्थिक गतिविधि बढाउने भन्नेमा ध्यान केन्द्रित गर्नुपर्ने धारणा उनको छ । यसका लागि बाह्य आर्थिक अन्तक्र्रियामा जोड दिन आवश्यक छ ।

नेपालभित्र आर्थिक गतिविधि बढाउन सबै छिमेकी मित्र राष्ट्रहरू, अरु राष्ट्रहरू, विकास साझेदारसँग आर्थिक सहयोगात्मक र आर्थिक अन्तक्र्रियात्मक सम्बन्धलाई तीव्रता दिनुपर्ने उनी बताउँछन् । 

चीनले नेपाललाई निरन्तर आर्थिक सहयोग गर्दै आएको छ । त्यो सहयोगलाई अझ गुणात्मक वृद्धि गरी अगाडि बढाउन नेपाल–तिब्बत–छोङछिङ्ग–सिचुवान डेभलपमेन्ट कोरिडोरको अवधारणा अघि बढाईको दाबी परराष्ट्रमन्त्री श्रेष्ठको छ । 

आर्थिक सहयोग भनेको अनुदान र ऋण सहयोग दिने मात्र होइन, आर्थिक लाभ प्राप्त गर्ने वातावरण, आर्थिक क्रियाकलाप बढाउनु पनि हो । 

“यसपटकको चीन भ्रमणमा बेइजिङमा आर्थिक मुद्दामा केन्द्रित भएर मुख्य छलफल गरेको छु । तिब्बत, छोङछिङ्ग र सिचुवान तीन वटा प्रदेशका सरकार प्रमुख र पार्टीका प्रमुखहरूसँग मैले ठोस रुपमा आर्थिक विषयमा केन्द्रित भई छलफल गरेको छु । यसले नेपाल र चीनबीचको आर्थिक पारस्परिक अन्तक्र्रिया बढाउँछ भन्ने लाग्छ,” परराष्ट्रमन्त्री श्रेष्ठले भने ।

तिब्बत, छोङछिङ्ग र सिचुवानको भ्रमण गर्दा आर्थिक विषयमा केन्द्रित भएर ठोस छलफल गरेको उनले जनाए । आर्थिक सहयोग, लगानी, व्यापार, पर्यटन, टेक्नोलोजी ट्रान्सफरमा नेपाल र तिब्बत, छोङछिङ्ग तथा सिचुवानबीच के–के गर्न सकिन्छ भन्नेबारेमा ठोस छलफल गरेर अघि बढ्ने सहमति बनेको दाबी उनको छ । 

“तिब्बत, छोङछिङ्ग र सिचुवानसँग नेपालले आर्थिक अन्तक्र्रिया गर्ने एउटा कोरिडोरको रुपमा विकास गर्न सके यसले नेपालको विकास प्रक्रियालाई धेरै लाभ पुर्याउँछ,” परराष्ट्रमन्त्री श्रेष्ठले भने ।

चैत ११ देखि १९ गतेसम्म गरेको चीन भ्रमणका बेला उनले चिनियाँ समकक्षी वाङ यी, चिनियाँ कम्युनिष्ट पार्टी, छोङछिङ्ग नगर समितिका सचिव युआन जियाजुन, चिनियाँ कम्युनिष्ट पार्टी, तिब्बतका स्वायत्त क्षेत्रका सचिव वाङ जुनछेङ, सिचुवान प्रान्तका गभर्नर हुवाङ्ग छियाङ्गसँग भेटी नेपाल–तिब्बत–छोङछिङ्ग–सिचुवान डेभलपमेन्ट कोरिडोरका विषयमा छलफल गरेका थिए ।
 
आफूले भेटेका सबै चिनियाँ नेताहरू नेपाल–तिब्बत–छोङछिङ्ग–सिचुवान डेभलपमेन्ट कोरिडोरलाई अगाडि बढाउन सकारात्मक रहेको उनले बताए । 

“डेभलपमेन्ट कोरिडोरले व्यापार, पर्यटन, लगानी, टोक्नोलोजी ट्रान्सफरमा फाइदा पुग्छ नै अझ बढी यसले दुई देशबीच कनेक्टिभिटी बढाउन भूमिका खेल्छ,” परराष्ट्रमन्त्री श्रेष्ठले भने, “सबै प्रकारका कनेक्टिभिटी– रोड, एयर, रेल, विद्युत तथा इनर्जी अहिलेको भन्दा बढाउँछ । चीनका ती प्रदेशसँग सबै प्रकारका कनेक्टिभिटिबाट हामी जोडिन्छौं ।”
 
परराष्ट्र मन्त्रालयका प्रवक्ता अमृत राईका अनुसार, चीनका तिब्बत, सिचुवान र छोङछिङ्गसँग नेपालको विशेष सम्बन्ध रहेको छ । यी तीन प्रदेश तथा महानगरहरू नेपालसँग जोडिएका छन् या नेपालबाट सबैभन्दा निकट छन् । यसैकारण ‘नेपाल–तिब्बत–छोङछिङ्ग–सिचुवान डेभलपमेन्ट कोरिडोर’ विशेष हुने भनाई उनको छ ।

“नेपाल–तिब्बत–छोङछिङ्ग–सिचुवान डेभलपमेन्ट कोरिडोरको मुख्य उद्देश्य नेपालले आर्थिक गतिविधि गर्दा चीनका ती प्रदेशलाई लक्षित गरी गर्नुपर्यो भन्ने हो । पयर्टन तथा लगानी आकर्षण गर्न मात्र होइन नेपालको निर्यात प्रवद्र्धन गर्दा पनि ती प्रदेशलाई लक्षित गरी गर्नसके नेपालले धेरै फाइदा लिनसक्छ,” परराष्ट्र मन्त्रालयका प्रवक्ता राईले भने ।

नेपाल–तिब्बत–छोङछिङ्ग–सिचुवान डेभलपमेन्ट कोरिडोरलाई अघि बढाउन नेपाल–चीन जोड्ने सडक सञ्जाल स्तरोन्नति गर्नुपर्ने भनाई राईको छ ।  चीनसँग सरल र सहज सडको पहुँच बनाएर डेभलपमेन्ट कोरिडोर अघि बढाउन सहज हुने उनले जनाए ।

Laminar Tiles Banner adLaminar Tiles Banner ad
NIBLNIBL
प्रकाशित मिति: बुधबार, चैत २१, २०८०  ०९:५५
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
Hamro patroHamro patro