site stats
बाह्रखरी :: Baahrakhari
देश
शरीरमा देखिने सानातिना लक्षणदेखि धेरै डर लाग्छ ? मानसिक समस्या हुन सक्छ

काठमाडौं । कतिपय व्यक्ति आफ्नो शरीरमा सामान्य लक्षण देखिए पनि त्यसलाई ठूलो रोगसँग जोडेर हेर्ने गर्छन् । सानातिना लक्षणकै आधारमा आफूलाई गम्भीर रोग लागेको शंका गर्ने, यसबारे खोज्न थाल्ने, फरकफरक चिकित्सककहाँ परीक्षण गराउने, चिकित्सकको सल्लाहविना नै विभिन्न परीक्षण गराउनेजस्ता बानी व्यक्तिमा बढ्दै जान्छन् । 

व्यक्तिले सामान्य लक्षणलाई ठूलो रोगसँग जोडेर हेर्ने र मर्छु कि भन्ने डरले भौँतारिने बानी मात्रै नभएर एक प्रकारको मानसिक समस्या हो । यो मस्तिष्कसँग जोडिएको हाइपोकोन्ड्रियासिस नामक समस्या भएको बताउँछन्, नसा तथा मानसिक रोग विशेषज्ञ डा. प्रदीप पाण्डे । 

NIC Asia Banner ad
Argakhachi Cement Island Ad

उनका अनुसार यो समस्यामा व्यक्तिले टाउको दुःख्ने, हातखुट्टा झमझम गर्ने तात्ने, घाँटीमा केही अड्किएजस्तो हुने, ग्यास्ट्रिक बढ्नेजस्ता लक्षणलाई पनि मुटुरोग, क्यान्सरजस्ता रोगहरूसँग जोडेर हेर्ने गर्छ । 

हाइपोकोन्ड्रियासिस यस्तो समस्या हो, जसमा व्यक्तिलाई मानसिक रोगका लक्षण नदेखिने तर शारीरिक लक्षणहरू महसुस गर्ने अवस्था हुन्छ । यो समस्यामा बिरामीले सबै परीक्षण रिपोर्ट नर्मल आए पनि चित्त नबुझ्ने, विभिन्न परीक्षण गराउन पुग्नेजस्ता रिपोर्ट व्यवहार देखाउँछन् । 

पछिल्लो समय आफूकहाँ हाइपोकोन्ड्रियासिसको समस्या लिएर आउने बिरामीको संख्या बढिरहेको डा. पाण्डे बताउँछन् । बिरामीलाई आफूमा मानसिक रोग भएको थाहा नहुने खाली शारीरिक लक्षण मात्रै महसुस गर्ने गरेको उनको अनुभव छ ।

अधिकांश बिरामीले गुगल, युट्युबबाट आफैँले आफ्नो रोग पत्ता लगाउन खोज्दा समस्या झन जटिल बनाइरहेको उनको अनुभव छ । सबै परीक्षण रिपोर्ट नर्मल भए पनि व्यक्तिमा ठूलो रोग छ भन्ने डर महसुस भएमा वा माथिकामध्ये कुनै पनि लक्षण देखिएमा मानसिक रोग विशेषज्ञबाट परामर्श लिन डा. पाण्डेको सुझाव छ । 

यस्ता बिरामीलाई विशेषज्ञले विभिन्न थेरापीको माध्यमबाट उपचार गर्दछन् ।

प्रकाशित मिति: मंगलबार, चैत २०, २०८०  ०७:२५
प्रतिक्रिया दिनुहोस्