
काठमाडौं । युवा तथा खेलकुदमन्त्री विराजभक्त श्रेष्ठले नेपाली खेलकुद २०औँ वर्ष राजनीतिमा जकडिँदा क्रिकेट बीचमै छक्का हानेर उम्किएको खेल भएको बताएका छन् । भारतका दुई राज्य टिमसँगको फ्रेन्डसिप कप खेल्न जाने टोलीको बिदाइ कार्यक्रममा बिहीबार उनले यस्तो बताएका हुन् ।
कार्यक्रममा नेपाली टिमका कप्तान रोहितकुमार पौडेलले सरकारले घोषणा गरेको पुरस्कार पूरा नपाएको गुनासो गरेका थिए । त्यसबारे आफूहरूले प्रक्रिया अघि बढाएको समेत उनले बताए ।
“पुरस्कार रकम क्रिकेट मात्र हैन, अरू खेलको पनि रोकिएको छ । हिजो मात्र हामीले त्यो प्रक्रियालाई अघि बढाएका थियौँ । नीतिगत कुराहरूमा सुधार गर्नुपर्ने धेरै छ । त्यसमा हामी लागिरहेका छौँ । नेपालको प्रतिनिधित्व गरेर जाँदै हुनुहुने तपाईंहरूलाई शुभकामना छ,” मन्त्री श्रेष्ठले भने, “खेलले राष्ट्रलाई एकतामा बाँध्ने हुँदा जिम्मेवारी तपाईंहरूमा छ । क्रिकेटमा के पनि देख्छु भने नेपाली खेलकुद २०औँ वर्ष राजनीतिमा जकडिएकोमा क्रिकेट बीचमै छक्का हानेर उम्किएको खेलजस्तो लाग्छ मलाई । यो सबै नेपाली जनताको प्रिय खेल भएकाले यो अझ सकारात्मक रूपमा आउन सक्नेछ ।”
भारतमा नेपालले गुजरात र बरोडासँग त्रिकोणात्मक ट्वान्टी–२० शृंखला खेल्नेछ । तालिकाअनुसार, नेपालले बरोडा र गुजरातका टिमसँग मार्च ३१ देखि अप्रिल ७ सम्म शृंखला खेल्नेछ । नेपालले मार्च ३१ मा गुजरातसँग खेल्दै शृंखलाको सुरुआत गर्नेछ ।
नेपालले अप्रिल २ मा बरोडासँग, अप्रिल ३ मा गुजरातसँग र अप्रिल ५ मा पुनः बरोडासँग खेल्नेछ ।
शृंखलाका शीर्ष दुई टिम उपाधिका निम्ति अप्रिल ७ मा भिड्नेछन् । शृंखलाका सबै खेल भारतको वापीमा हुनेछ । भारत भ्रमणअघि नेपालले घरेलु मैदानमा आयरल्यान्ड वुल्भ्सँग दुई ट्वान्टी–२० क्रिकेट खेलेको थियो ।