site stats
बाह्रखरी :: Baahrakhari
देश
स्वास्थ्यमन्त्रीको निर्देशन– उपचारबिना नै घर फर्कनुपर्ने अवस्थाको अन्त्य गर्नू

काठमाडौं । उपप्रधान एवं स्वास्थ्य तथा जनसंख्यामन्त्री उपेन्द्र यादवले आज कान्ति बाल अस्पतालको आकस्मिक अनुगमन गरेका छन् । अनुगमनका क्रममा उपचारका लागि कान्ति बाल अस्पताल आएका कोही पनि बिरामी शैय्या नपाएर उपचारविना नै घर फर्कनुपर्ने अवस्थामा अन्त्य गर्न निर्देशन दिए ।  

“अस्पतालमा आएका बिरामी शैय्या नपाएर अन्त्यै निजी अस्पतालमा उपचारमा जाने गरेको गुनासो सुन्नमा आएको छ”, मन्त्री यादवले भने, “अस्पतालले शैय्या थपेर हुन्छ के के गरेर हुन्छ अस्पताल आएका बिरामी उपचारबाट वञ्चित हुन परेको खबर सुन्न नपरोस् । उपचार गर्न आएका सबैको उपचारको व्यवस्था मिलाउनुहोस् ।”

Argakhachi Cement Island Ad

उनले अस्पतालको शैय्या, सघन उपचार कक्ष (आइसियू) थपेर बिरामीको उपचार गर्नुपर्ने भन्दै मन्त्रालयले अस्पताललाई के सहयोग गर्नुपर्दछ त्यो दिन तयार रहेको बताए । अनुगमनका क्रममा स्वास्थ्यमन्त्री यादवले सिटी स्क्यान, एमआरआई, एक्स रे जस्ता बिग्रेको अवस्थामा रहेका कुनै पनि मेसिन तत्काल बनाएर सेवा सुचारु गर्न अस्पताललाई निर्देशन दिएका छन् । 

त्यस्तै, अस्पतालले सञ्चालन गरेको औषधि पसलमा पर्याप्त मात्रामा औषधि नभएको पाइएको भन्दै आवश्यक मात्रामा औषधि राख्न निर्देशन दिए । बिरामीले टिकट र रिर्पोट लिनको लागि घन्टौ लाइनमा बस्नु पर्ने अवस्थाको अन्त्य गर्न अनलाइन टिकट काट्न मिल्ने र अनलाइनमै रिर्पोट हेर्न वा डाउनलोड गर्न मिल्ने व्यवस्था तत्काल मिलाउने आग्रह गरे । 

प्रकाशित मिति: बुधबार, चैत १४, २०८०  १९:३४
प्रतिक्रिया दिनुहोस्