काठमाडौं । नेपाल नेत्रज्योति संघ मंगलबारदेखि ४६ वर्षमा प्रवेश गरेको छ । ४५ वर्ष पूरा गर्दासम्म संघले चार करोड ३६ लाख नागरिकको नि:शुल्क आँखाको उपचार गरेको छ ।
सन् २०२३ मा संघले ३३ लाख ६ हजार २६ जनाको आँखाको उपचार र दुई लाख ६५ हजार ८८५ जनाको आँखाको शल्यक्रिया गरेको थियो । त्यसमध्ये आठ लाख पाँच हजार ३१६ जना विदेशी नागरिक रहेको संघले जनाएको छ ।
सन् २०२३ मा संघ मातहत रहेका २८ वटा आँखा अस्पताल र १५६ आँखा उपचार केन्द्रबाट आठ लाख पाँच हजार विदेशी नागरिकले उपचार सेवा लिएको संघका महासचिव भरतबहादुर चन्दले जानकारी दिए ।
विदेशमा रहेका नेपालीहरूलाई समेत सेवा दिन संघले ओमान, भुटान थाइल्यान्ड, मलेसियालगायतका मुलुकमा स्वास्थ्य शिविरको तयारी गरिरहेको चन्दले बताए ।
'पाँच वर्षभित्र अन्धोपन निवारण सम्भव'
संघको पछिल्लो सर्वेक्षणबाट नेपालमा कुल जनसंख्याको ०.२८ प्रतिशतमा अन्धोपन रहेको पाइएको छ । अधिकांश व्यक्तिमा शल्यक्रियामार्फत दृष्टि फर्काउन सक्ने अवस्था भए पनि जनचेतनाको कमीका कारण उपचार नगराइरहेको सर्वेक्षणमा पाइएको थियो ।
अन्धोपन भएका झन्डै ५० प्रतिशतमा दृष्टि फर्काउन सकिन्छ भन्ने चेतना नहुनु नै निवारणको चुनौती रहेको संघका अध्यक्ष डा. चेतराज पन्त बताउँछन् ।
“सबैको सहकार्यबाट जनचेतना फैलाउनसके पाँच वर्षभित्र नेपालबाट अन्धोपन निवारण गर्न सकिन्छ,” अध्यक्ष डा. पन्त भन्छन् । त्यसका निम्ति निजी क्षेत्रले पनि आफ्नो सामाजिक उत्तरदायित्व निभाउनुपर्ने डा. पन्तको जोड छ ।