सुरेश राई
आज तिमी यस्तो याद आयौ कि
मैले घर बस्नु भएन
झ्यालको पर्दा हावामा लहराउनु भएन
भान्छाबाट डाडुपन्युको आवाज आउनु भएन
तामे पित्ले गाग्रीका पानी छचल्किनु भएन
भित्तेघडीको अनुहारभरि घाम पोतिनु भएन
पाठापाठीले च्याँच्याँ म्याँम्याँ
केही गर्नु भएन
आज तिमी यस्तो याद आयौ कि
घरले आफू घर भएको प्रमाण दिनु भएन ।
आज तिमी यस्तो याद आयौ कि
मैले जंगल पस्नु भएन
सल्लाघारी हुँ हुँ गरेर सुसाइदिनु भएन
रुखबाट खुत्रुक्क कटुसको दाना खस्नु भएन
सोतरहरूले झाडीबीच उभिएर हावा हम्किनु भएन
को हौ को हौ चराले पाखा घन्किनु भएन
आज तिमी यस्तो याद आयौ कि
वनले आफू वन भएको आभास दिलाउनु भएन ।
आज तिमी यस्तो याद आयौ कि
मैले सहर जानु भएन
सहर जाने बसले थर्थरथर्थर काँप्नु भएन
झ्यालबाट हेर्दा
बोटबिरुवाहरू पछाडि छुट्नु भएन
झिलिमिली बैँसालु सहर उन्मुक्त हाँस्नु भएन
आज तिमी यस्तो याद आयौ कि
सहरले आफू सहर भएको भव्यता देखाउनु भएन ।
आज तिमी यस्तो याद आयौ कि
मैले विदेश लाग्नु भएन
हवाईअड्डामा हवाईजहाज चम्किनु भएन
आकाशका बादल र पहाडका थुम्काहरू
समीप देखिनु भएन
नीलो सागर, गगनचुम्बी महल केही देख्नै भएन
चिल्ला गाडी र सडकपेटीका फूल केही हेर्नै भएन
आज तिमी यस्तो याद आयौ कि
विदेशले समेत दूर भएको यथार्थ देखाउनु भएन ।
आज तिमी यस्तो याद आयौ कि मेरी ज्यान,
मैले बाँचेर यहाँ ठिकसँग सास फेर्नु भएन !