site stats
बाह्रखरी :: Baahrakhari
विदेश
Nabil BankNabil Bank
किन मेक्सिकोले अमेरिकी बन्दुक निर्माता कम्पनीविरुद्ध मुद्दा हाल्यो ?
Sarbottam CementSarbottam Cement

काठमाडौं । जनवरी २०२४ मा अमेरिकाको बोस्टन सहरको एक अदालतले एउटा मुद्दाको सुनुवाइ गर्‍यो । जसका कारण यतिखेर अमेरिकाका केही पुराना बन्दुक कम्पनीहरू तर्सिएका छन् ।

यस सुनुवाइले भविष्यमा अमेरिकी बन्दुक कम्पनीलाई ठूलो असर गर्ने अनुमान गरिएको छ । यो मुद्दा सात हतियार उत्पादन कम्पनी र एक वितरकविरुद्ध छ ।

चाखलाग्दो कुरा के छ भने हतियार उत्पादक कम्पनीहरू विरुद्धको यो मुद्दा हतियार पीडित वा उनीहरूका आफन्तहरूमध्ये कसैले पनि दिएका होइनन् । मुद्दा मेक्सिको सरकारले दायर गरेको हो ।

Prabhu Bank
Agni Group
NIC Asia

मेक्सिको सरकारले यी कम्पनीहरूबाट १० अर्ब डलर क्षतिपूर्ति माग गरेको छ ।

मेक्सिको सरकारका अनुसार, यी कम्पनीहरूलाई आफूले उत्पादन गरेका हतियारहरू मेक्सिकोका आपराधिक समूह वा गिरोहहरूलाई आपूर्ति गरिन्छ भन्ने कुरा राम्ररी थाह छ । तिनै हतियारका कारण मेक्सिकोका धेरै क्षेत्रहरू नियन्त्रण गर्न यस्ता समूह तथा गिरोह एक–अर्कासँग हिंसात्मक द्वन्द्वमा संलग्न हुँदै आएका छन् ।
 
'कोल्ट्स स्मिथ एन्ड वेसन'जस्ता ठूला हतियार निर्माण कम्पनीहरूले यी आरोपहरूलाई अस्वीकार गरेका छन् । यी कम्पनीहरूको तर्क छ– आफूहरूले बनाएका उत्पादनहरू अपराध गर्न प्रयोग गरिन्छ भने त्यसप्रति कम्पनी उत्तरदायी हुँदैन । तर, प्रतिरक्षाका लागि यो तर्क पर्याप्त छैन ।

Global Ime bank

आयन ग्रिलो मेक्सिकोमा लामो समयदेखि कार्यरत पत्रकार हुन्, जसले त्यहाँको संगठित अपराधका विषयमा धेरै पुस्तक लेखेका छन् । मेक्सिकोमा आपराधिक समूहहरूबीचको लडाइँले सामान्य हिंसात्मक मात्र नभई युद्धको रूप लिइसकेको उनको भनाइ छ ।

उनको एउटा पुस्तक, ‘ब्लड गन मनीः हाऊ अमेरिका अर्न्स ग्याङ्ग्स एन्ड कार्टेल्स’ मा मेक्सिकोमा हुने गरेको आपराधिक समूहबीचको लडाइँलाई विस्तृत रूपमा उल्लेख गरिएको छ ।

पुस्तकमा भनिएको छ, “सन् २००६ देखि हालसम्म मेक्सिकोमा ४ लाख मानिसको हत्या भएको छ, जसमध्ये ७० प्रतिशत बन्दुकका कारण भएको छ । कुनै कुनै लडाइँ भयानक हुने गरेका छन् । ५०० बन्दुकधारी र दुई हजार प्रहरीहरू बीच लामो समयसम्म लडाइँ चल्ने गर्छ । हरेक दिन लगभग १०० हत्या हुन्छन् ।”

करिब १२ करोड ९० लाख जनसङ्ख्या भएको यो विशाल देशमा जताततै यस्तो हुँदैन । तर जहाँ यस्तो हुन्छ, त्यहाँ सशस्त्र समूहको कारबाही अत्यन्तै क्रूर र हिंसात्मक हुन्छ । यस द्वन्द्वको सिकार कयौँपटक आमजनता हुने गरेका छन् ।

आयन ग्रिलोका अनुसार, बन्दुक बोकेका मानिसहरू अचानक आएर एक–अर्कालाई गोली बर्साउँछन् । कहिलेकाहीँ कारभित्र बसेका वा सडक छेउको ठेलामा खाना खाने सर्वसाधारण पनि त्यसको सिकार हुने गरेका छन् ।

पछिल्ला केही वर्षहरूमा यी माफिया समूहहरूले आफ्नै निजी सेनाहरू बनाएका छन् । उनीहरूले एके–४७ तथा एआर–१५ जस्ता बन्दुकहरू लिएर आक्रमण गर्ने गर्छन् ।

यस्ता घातक अवैध हतियार मेक्सिकोमा कसरी पुगे त ? भन्ने जिज्ञासा उठ्न सक्छ । यो थाहा पाउन त्यो गाह्रो छैन ।

आयन ग्रिलोका अनुसार, जब प्रहरीले अपराधीबाट हतियारहरू बरामद गर्छ वा अपराध स्थलबाट बरामद गर्छ, तब प्रहरीले ती सिरियल नम्बरहरू अमेरिकी प्रशासनलाई दिन्छ । अमेरिकी अधिकारीले हतियारमा भएको सिरियल नम्बरको आधारमा हतियार कुन कम्पनीले कहिले उत्पादन गरेको हो भन्ने पत्ता लगाउँछन् । 

यस्ता हतियारमध्ये ७० प्रतिशत हतियार अमेरिकी बन्दुक पसल र कारखानाबाट मेक्सिको पुगेको अध्ययनले खुलासा गरेको छ । 

हरेक वर्ष करिब दुई लाख बन्दुक अमेरिकाबाट तस्करी हुँदै मेक्सिको पुग्ने गरेको मेक्सिको सरकारको अनुमान छ । जसबाट मेक्सिकोमा हिंसा फैलिने गरेको छ ।

“सेनाले प्रयोग गर्ने स्तरका राइफलहरू मेक्सिको पुग्छन् । धेरै राइफलहरू यति शक्तिशाली छन् कि तिनीहरूले ५० क्यालिबरको गोली प्रयोग गर्छन्, जसले प्रहरीका बख्तरबन्द गाडीलाई पनि छेड्न सक्छ,” आयन ग्रिलोले भने ।

मेक्सिकोमा आमसर्वसाधरणले बन्दुक किन्न सक्छन् । त्यहाँ एउटा मात्र बन्दुक पसल छ जुन सेनाद्वारा सञ्चालित छ । बन्दुक खरिद गर्ने प्रक्रियालाई कडारूपमा नियन्त्रण गरिएको छ ।

आयन ग्रिलो भन्छन्, “बन्दुक पसलमा कडा सुरक्षा व्यवस्था छ । त्यहाँ हतियारको मूल्य धेरै महँगो छ । अझ महत्त्वपूर्ण कुरा, हतियार खरिद गर्ने व्यक्तिको आपराधिक अभिलेख नभएको प्रमाणित गर्ने प्रहरी विभागको एक परिचयपत्रसहित विभिन्न सात प्रकारका कागजातहरू पेस गर्नुपर्छ ।”

तर, आपराधिक समूह तथा गिरोहमा संलग्न व्यक्तिहरूले अमेरिकाबाट यस्ता हतियार सजिलै पाउन सक्छन् ।

आधिकारिक रूपमा मेक्सिकोमा वार्षिक १६ हजार हतियार बिक्री हुने गरेको छ । तर, अमेरिकाबाट दुई लाखभन्दा बढी हतियार यहाँ आइपुग्ने गर्छ । 

आयन ग्रिर्लोका अनुसार धेरैपटक हतियारहरू कुनै अपराधमा संलग्न नभएका ‘क्लिन’ मानिसहरूलाई बेचिन्छ । यस्ता व्यक्तिहरूले दर्जनौँ एके–४७ राइफलहरू किन्छन् । तर, उनीहरूले यस्ता हतियार ‘कार्टेल’लाई हस्तान्तरण गर्छन्, बदलामा कमिसन पाउँछन् ।

अर्को तरिका भनेको अमेरिकामा निजी बिक्रेताहरूबाट बन्दुकहरू किन्नु हो, जसले रेकर्ड र कागजातहरूको बारेमा धेरै सोधीखोजी गरिँदैन ।
 
आयन ग्रिलोले मेक्सिकोका जेलमा रहेका यस्ता कैयौँ अपराधीहरूको अन्तर्वार्ता लिएका छन्, जसले अमेरिकाबाट सयौँ बन्दुक किनेर मेक्सिको ल्याएर हप्तामा १५–२० हजार डलर कमाउने गरेको बताउने गरेका छन् ।

यो व्यापार रोक्न धेरै वर्षदेखि मेक्सिकोले अमेरिकालाई आग्रह गर्‍यो । तर, नियन्त्रण नभएपछि अहिले मेक्सिको सरकारले यसविरुद्ध कानुनी लडाइको बाटो रोजेको हो ।

यूसीएलए स्कुल अफ ल, क्यालिफोर्निया विश्वविद्यालयमा कानुनका प्रोफेसर एडम विंकलरका अनुसार, हतियार तस्करीको प्रमुख मार्ग मेक्सिको जाने राजमार्ग हुन् । ती राजमार्गमा गुड्ने सवारी साधनमा हतियार लग्ने गरिन्छ ।

यस्तो तस्करीको अनुगमन गर्ने अमेरिकी निकाय– ब्युरो अफ अल्कोहल, टोब्याको एन्ड फायर आर्म्स एक्सप्लोसिभ (एटीएफ) भनिन्छ ।

“एटीएफ धेरै प्रभावकारी छैन । अमेरिकामा रहेका ४० करोड हतियारको आवागमनको ट्रयाक राख्न गाह्रो छ । यो एजेन्सीसँग यो कामका लागि पर्याप्त पैसा छैन,” प्रोफेसर एडम विंकलर बताउँछन् ।

अमेरिकाबाट मेक्सिकोमा हुने हतियारको तस्करी रोक्न मेक्सिकोको सीमा प्रहरीको पनि उत्तिकै ठूलो जिम्मेवारी हुन्छ । मेक्सिको सीमा प्रहरीले त्यहाँ आउने सवारी साधनलाई कडाइँका साथ जाँच नगर्ने प्रोफेसर एडम विंकलरको भनाइ छ ।

मेक्सिको सरकारले २०२१ मा अमेरिकी हतियार कम्पनीहरूविरुद्ध म्यासाचुसेट्समा मुद्दा दायर गरेको थियो । एक वर्षपछि अदालतले उन्मुक्ति कानुनलाई उद्धृत गर्दै यसलाई खारेज गरेको थियो ।

त्यसपछि मेक्सिकोले एक सार्वभौम देश भएको र अमेरिकाको प्रतिरक्षा कानुनको दायरा बाहिर रहेको तर्क गर्दै यसको विरुद्धमा अपिल गर्‍यो । मेक्सिकोको अपिल सफल भयो ।

मेक्सिकोले अमेरिकी हतियार कम्पनीहरूले जानाजानी आफ्नो फाइदाका लागि अवैध व्यापारलाई बढावा दिने नीति अपनाएको आरोप लगाएको छ । सन् २००५ मा अमेरिकामा ‘प्रोटेक्सन फर ल फुल कमर्स इन आर्म्स एक्ट’ लागु गरिएको थियो । सोही ऐनले अमेरिकी हतियार कम्पनीहरूलाई संरक्षण गर्दै आएको भनाइ मेक्सिकोको छ । 

द हेगको एसर इन्स्टिच्युट फर इन्टरनेसनल एन्ड युरोपियन लका वरिष्ठ अनुसन्धानकर्ता लियोन कास्टेलानोस जान्कीविज भन्छन्, “मेक्सिको सरकारले दायर गरेको मुद्दाले ठूलो परिवर्तन ल्याउन सक्छ । किनभने यी कम्पनीहरू पीडितहरूप्रतिको कानुनी जवाफदेहिताबाट जोगिँदै आएका छन् । अब अन्य देशले पनि यसतर्फ सोचिरहेका छन् ।”

उनी थप्छन्, “ल्याटिन अमेरिकी देशहरूमा बन्दुकका कारण हुने ७० देखि ९० जनाको मृत्युमा प्रयोग हुने हतियार अवैधरूपमा अमेरिकाबाट आउने गर्छ । यस्तै, प्रवृत्तिमध्ये अमेरिकी देशहरू जस्तै ग्वाटेमाला, होन्डुरस र इक्वेडरमा देखिन्छ ।” 

जमैकाजस्ता क्यारेबियन देशहरूमा पनि यस्तै भइरहेको छ । एन्टिगुवा र बार्बाडोसले अदालतमा मेक्सिकोको दाबीलाई समर्थन गरेका छन् । यदि मेक्सिकोले यो मुद्दा जित्यो भने, यीमध्ये केही देशहरूले ती अमेरिकी बन्दुक कम्पनीहरूमाथि मुद्दा हाल्न सक्ने सम्भावना प्रवल छ ।

(बीबीसीबाट साभार)

NIBLNIBL
प्रकाशित मिति: सोमबार, चैत १२, २०८०  ०७:००
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
बढ्दो आगलागीको बेवास्ता नगरौँ !
बढ्दो आगलागीको बेवास्ता नगरौँ !
ICACICAC