site stats
बाह्रखरी :: Baahrakhari
विदेश
Global Ime bankGlobal Ime bank
रुसी कन्सर्ट हलमा गरिएको आक्रमणको विश्वभरबाट निन्दा

मस्को । मस्कोस्थित कन्सर्ट हल (क्रोकस सिटी हल)मा बन्दुकधारीले अन्धाधुन्ध गोली चलाउँदा ६० जनाभन्दा बढीको मृत्यु हुनुका साथै १०० भन्दा बढी घाइते भएको घटनाप्रति विश्वभरका नेताहरूले दुःख व्यक्त गरेका छन् । 

शुक्रबार मस्कोको क्रोकस सिटी हलमा भएको आतंकवादी हमलामा ६० जनाभन्दा बढीको मृत्यु भएको रुसको अनुसन्धान समिति (आईसीआर)ले पुष्टि गरेको छ । घाइतेको अवस्था गम्भीर रहेकाले मृतकको संख्या बढ्न सक्ने आईसीआरले शनिबार जनाएको छ ।

रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले घाइतेको शीघ्र स्वास्थ्यलाभको कामना गर्नुका साथै उपचारमा संलग्न चिकित्सकलाई धन्यवाद दिएको रुसी उपप्रधानमन्त्री तात्याना गोलिकोवालाई उद्धृत गरी त्यहाँका सञ्चारमाध्यमले समाचार सम्प्रेषण गरेका छन् ।

संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेर्रेसले शुक्रबार एक विज्ञप्ति जारी गरी मस्कोको आतंकवादी आक्रमणको कडा शब्दमा निन्दा गरेका छन् । गुटेर्रेसले रुसको आधिकारिक नाम उल्लेख गर्दै शोक सन्तप्त परिवार, जनता र रुसी सरकारप्रति भावपूर्ण समवेदना व्यक्त गरेका छन् ।

संयुक्त राष्ट्रसंघीय सुरक्षा परिषद्ले पनि शोक व्यक्त गर्दै निन्दनीय कार्यका दोषी र समर्थकलाई जवाफदेही बनाउन र उनीहरूलाई न्यायको कठघरामा ल्याउन सक्रिय सहयोग गर्न सबै राष्ट्रलाई आग्रह गरेको छ । “सुरक्षा परिषद्का सदस्यहरूले जघन्य र कायरतापूर्ण आतंकवादी आक्रमणको कडा शब्दमा निन्दा गरेका छन्,” विज्ञप्तिमा भनिएको छ ।

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले यस जघन्य आतंकवादी आक्रमणको भर्त्सना गर्दै भनेका छन्, “दुःखको यस घडीमा भारत सरकार रुसी महासंघका जनतासँग ऐक्यबद्धताका साथ उभिएको छ ।”

जापानको विदेश मन्त्रालयका प्रेस सचिव कोबायाशी माकीले आक्रमणको निन्दा गर्दै शोक सन्तप्त रुसी नागरिकप्रति समवेदना प्रकट गरेका छन् ।

यस्तै, चिनियाँ राष्ट्रपति सी चिनफिङले आक्रमणको कडा शब्दमा निन्दा गर्दै रुसी जनता र राष्ट्रपति पुटिनप्रति समवेदना प्रकट गरेका छन् ।

चिनियाँ राष्ट्रपति सीले चीनले सबै प्रकारका आतंकवादको विरोध गर्ने, आतंकवादी आक्रमणको कडा निन्दा र आफ्नो राष्ट्रिय सुरक्षा र स्थायित्वको रक्षाका निम्ति रुसी सरकारको प्रयासलाई दृढतापूर्वक समर्थन गर्ने विषयमा जोड दिएका छन् ।

विगत दुई वर्षदेखि रुसी सैन्य आक्रमणको सामना गरिरहेको युक्रेनका राष्ट्रपतिका सहयोगी माइखाइलो पोडोल्याकले टेलिग्राममा लेखेका छन्, “युक्रेनको यस आक्रमणसँग कुनै सम्बन्ध छैन ।”

युक्रेनी रक्षा मन्त्रालयको मुख्य गुप्तचर निर्देशनालयले ‘मस्कोको आतंकवादी हमला पुटिनको आदेशमा रुसी विशेष सेवाको योजनाबद्ध र सुनियोजित उक्साहट भएकोे’ भन्दै युक्रेनसँगको युद्धलाई थप चर्काउने र विस्तार गर्ने उद्देश्य रहेको आरोप लगाएको छ ।

अमेरिकाले ‘भयानक’ गोलीकाण्डका पीडितप्रति समवेदना व्यक्त गर्दै थप जानकारी लिने प्रयास गरिरहेको जनाएको छ । राष्ट्रिय सुरक्षा परिषद्का प्रवक्ता जोन किर्बीले पत्रकारसँग भने, “यस भयानक गोलीकाण्डका पीडितप्रति हाम्रो समवेदना छ । घटनास्थल र वरपरका तस्बिरहरू भयानक छन् र हेर्न गाह्रो छ ।”

ह्वाइट हाउसका अनुसार, अमेरिकाले मार्चको सुरुमा रुसका अधिकारीहरूलाई मस्कोमा हुने ठूला जमघटलाई लक्षित गरी योजनाबद्ध आतंकवादी हमला हुन सक्ने चेतावनी दिएको थियो ।

युरोपियन युनियन (ईयू)ले मस्को आक्रमणले विश्वलाई स्तब्ध बनाएको जनाएको छ । “ईयूले नागरिकमाथि हुने कुनै पनि आक्रमणको निन्दा गर्छ । प्रभावित सबै रुसी नागरिकप्रति हाम्रो समवेदना छ,” ईयूका प्रवक्ताले भने ।

फ्रान्सका राष्ट्रपति इमानुएल म्याक्रोँले इस्लामिक स्टेट (आईएस)ले रुसमा गरेको आतंककारी आक्रमणको कडा शब्दमा निन्दा गरिएको बताएका छन् । “फ्रान्सले पीडित, उनीहरूका प्रियजन र सम्पूर्ण रुसी जनताप्रति ऐक्यबद्धता प्रकट गर्छ,” फ्रान्सको राष्ट्रपतिको कार्यालयले उल्लेख गरेको छ ।

“मस्कोनजिकैको क्रोकस सिटी हलमा निर्दोष मानिसमाथि भएको भयानक आक्रमणका चित्रहरू भयानक छन् । घटनास्थल र पृष्ठभूमिको छिट्टै अनुसन्धान हुनुपर्छ,” जर्मनीको विदेश मन्त्रालयद्वारा एक्स (ट्विटरमा)मा जारी विज्ञप्तिमा भनिएको छ ।

इटालीका प्रधानमन्त्री जियोर्जिया मेलोनीले उक्त आक्रमणलाई आतंकवादी कार्य भनेका छन् । “मस्कोमा निर्दोष नागरिकको नरसंहारको भयावहता अस्वीकार्य छ,” मेलोनीले एक विज्ञप्ति जारी गर्दै भनेका छन्, “प्रभावित जनता र पीडित परिवारप्रति इटाली पूर्ण ऐक्यबद्धता जाहेर गर्छ ।”

मेक्सिकोको विदेश मन्त्रालयले नागरिकको जीवनविरुद्ध हुने कुनै पनि हिंसात्मक गतिविधिलाई अस्वीकार गर्ने जनाएको छ । रासस/एएफपी

प्रकाशित मिति: शनिबार, चैत १०, २०८०  १६:५४
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
MPG Admark South Asian UniversityMPG Admark South Asian University
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro