काठमाडौं । अर्थमन्त्री वर्षमान पुन र विश्व बैंकका तीनजना उपाध्यक्षबीच नेपालका ठूला पूर्वाधार आयोजनाबारे छलफल भएको छ । अर्थमन्त्री पुन र विश्व बैंकका उपाध्यक्षत्रय मार्टिन रेजर, आकिहिको निसिओ र ग्वान्झे चेनबीच भर्चुअलमाध्यमबाट बैठक भएको अर्थमन्त्री पुनको सचिवालयले जनाएको छ ।
बैठकमा एसियाली विकास बैंक (एडीबी)का नेपाल निर्देशक आर्नो कोस्वा र अन्तर्राष्ट्रिय वित्त निगम (आईएफसी)का प्रतिनिधि समेत सहभागी थिए ।
बैठकमा नेपाल र विश्व बैंकबीचको आगामी पाँच वर्षका लागि साझेदारी खाका निर्माण तथा माथिल्लो अरुण जलविद्युत् आयोजना र दूधकोसी जलाशययुक्त आयोजना अगाडि बढाउने विषयमा छलफल भएको अर्थमन्त्री पुनको सचिवालयले जनाएको छ ।
रुपान्तरणकारी परियोजनाका रुपमा संखुवासभाको भोटखोला गाउँपालिकामा निर्माण हुने एक हजार ६१ मेगावाटको अर्धजलाशययुक्त माथिल्लो अरुण जलविद्युत् आयोजनाबारे छलफल भएको जनाइएको छ । उक्त आयोजनामा विश्व बैंकको सहुलियतपूर्ण ऋण तथा नागरिक लगानी कोष, विभिन्न स्वदेशी बैंक र सर्वसाधारणसमेतको मिश्रित लगानीमा नेपाल विद्युत् प्राधिकरणको सहायक कम्पनीमार्फत निर्माण कार्य अघि बढ्ने जनाइएको छ ।
आयोजना निर्माणका लागि प्राधिकरणले अपर अरुण जलविद्युत् लिमिटेड स्थापना गरेको छ । आयोजनाको विस्तृत आयोजना प्रतिवेदन (डीपीआर) निर्माण भई परामर्शदाता समेत छनोट भइसकेको छ । उक्त आयोजनाका लागि विश्व बैंकको नेतृत्वमा वित्तीय व्यवस्थापनको टुंगो आगामी असारभित्रै लगाउने तयारी छ ।
हिउँदमा दैनिक ६ घण्टा पूर्ण क्षमतामा सञ्चालन गर्नेगरी उक्त आयोजनाको डिजाइन तयार भएको छ । आयोजनाको अनुमानित लागत एक अर्ब ३८ करोड अमेरिकी डलर (हालको सटही दरअनुसार करिब रु एक खर्ब ६१ अर्ब बराबर) छ । सोमध्ये ७० प्रतिशत विदेशी र ३० प्रतिशत स्वदेशी लगानी रहने ढाँचा तयार गरिएको छ । आयोजनाबाट वार्षिक चार अर्ब ५३ करोड युनिट ऊर्जा उत्पादन हुने अपेक्षा गरिएको छ ।
दूधकोसी नदीमा जलाशय निर्माण गरी खोटाङको रावाबेंसी गाउँपालिका–३ लामीडाँडा र ओखलढुंगाको चिसङ्खुगढी गाउँपालिका–६ भदौरेस्थित रँबुवाघाटमा ६३५ मेगावाट जलविद्युत् उत्पादन गर्ने योजना छ । रासस