काठमाडौं । जनता समाजवादी पार्टी, नेपालका प्रमुख सचेतक प्रदीप यादवले किसानलाई मलको अभाव हुन नदिने योजनाबारे सरकारसँग प्रश्न गरेका छन् । सरकारसँग किसानको मागअनुसार मल छ कि छैन भन्दै उनले प्रश्न गरेका छन् ।
बुधबार प्रतिनिधिसभा बैठकमा आगामी आर्थिक वर्षको बजेटको सिद्धान्त र प्राथमिकतामाथिको छलफलमा यादवले मधेसमा सबैभन्दा ठूलो समस्याको रूपमा रहेको रासायनिक मलको अभाव हुन नदिने स्पष्ट योजनाबारे संसदलाई जानकारी गराउन सरकारसँग माग गरे ।
उनले यसअघिका अर्थमन्त्रीहरूले मलको अभाव नहुन नदिने भनेर चर्को भाषण गरेको स्मरण गराउँदै अब मलको अभाव हुने अवस्था आउन नदिन सरकारलाई सचेत गराए ।
प्रमुख सचेतक यादवले जनकपुर चुरोट कारखाना पुनः सञ्चालनमा ल्याउन पनि सरकारलाई आग्रह गरे । उनले धनीलाई सामाजिक सुरक्षा भत्ता नदिने व्यवस्था गर्न पनि सरकारको ध्यानाकर्षण गराए ।
यादवले बजेट वितरणमुखिभन्दा पनि परिणाममुखि हुनुपर्ने सुझाव दिए ।