site stats
बाह्रखरी :: Baahrakhari
साहित्य
Global Ime bankGlobal Ime bank
विशुद्ध पञ्चस्कन्ध नै पञ्चबुद्ध

विशुद्ध पञ्चस्कन्ध नै पञ्चबुद्ध
(बुद्ध दर्शन: ले./अनुवादक सुमति वज्राचार्य)
बुद्ध दर्शनको अनेक पुस्तक तथा कृतिहरूका लेखक र सम्पादक सुमति वज्राचार्यको अर्को प्रकाशित कृति हो, ‘विशुद्ध पञ्चस्कन्ध नै पञ्चबुद्ध’ । उनका यसअघि पाँच कृति प्रकाशित छन् । यो पुस्तक ‘विशुद्धगु पञ्चस्कन्ध हे पञ्चबुद्ध ख’को अनुवाद हो ।

पुस्तकको प्राक्कथनमा लेखक तथा अनुवादक सुमति वज्राचार्यले लेखेकी छन्, “...समन्तभद्रको सदाकांक्षाबाट प्रभावित भई हाम्रो समस्त नेपालीहरूले बुझ्ने भाषा नेपालीमा अनुवाद गरी प्रकाशनमा ल्याउन पाए हुन्थ्यो भनी सोची रहेकै थिएँ । ठिक त्यसै बेला कल्याणमित्र श्री वसन्तराम नकर्मीज्यूले यो पुस्तक समस्त बौद्ध धर्मावलम्बी तथा कलेज, क्याम्पस, विश्वविद्यालयमा पढिरहेका विद्यार्थीहरूको लागि नेपालीमा अनुवाद गर्नैपर्छ भन्ने सुझाव दिनुभयो ।...।”

यो पुस्तकमा तीन परिच्छेदभित्र ११ शीर्षकमा बौद्ध दर्शनका विविध पाटा तथा आलेख समावेश छ ।

Dabur Nepal
NIC Asia

खबर मिडिया प्रालिद्वारा प्रकाशित १५४ पृष्ठको यो पुस्तकको मूल्य ३००/– रुपैयाँ राखिएको छ ।

०००

पौराणिक सूक्तिहरू
(सूक्तिसंग्रह: बद्रीप्रसाद ढकाल)
साहित्यकार बद्रीप्रसाद ढकालका अनेक पुस्तक प्रकाशित छन् । केही समयअघि प्रकाशित ढकालको अर्को पुस्तक हो, ‘पौराणिक सूक्तिहरू’ ।

लेखक ढकालले ‘आफ्नै कुरा’मा उल्लेख गरेका छन्, “...भौतिक, आध्यात्मिक र नैतिक शिक्षा प्राप्त गर्न यिनै शास्त्रका विषयहरूले हामीलाई मार्गनिर्देशन गर्दछन् भन्ने उद्देश्य लिएको छु । सनातन धर्म र दर्शनका चुरो नैतिक शिक्षा सबैको मूल स्रोतको रूपमा रहेका ती प्रसंगसहित समावेश गरिएको छ, यस पुस्तकमा ।”

पुस्तकभित्र १६ अध्याय छन् । तिनमा हितोपदेशका सूक्तिहरू, मनुस्मृतिका सूक्तिहरू, विदुर नीतिका सूक्तिहरू, चारवेदका सूक्तिहरू, चाणक्य नीतिका सूक्तिहरू, अष्टावक्र गीताका सूक्तिहरूलगायत सूक्तिहरू प्रस्तुत छन् ।

भुँडीपुराण प्रकाशनद्वारा प्रकाशित १३२ पृष्ठको यो पुस्तकको मूल्य २९०/– रुपैयाँ राखिएको छ ।

०००

नेपाली लोकगीतको परिचय
(विश्लेषण: डा. भक्त राई)
लेखक, अन्वेषक तथा संस्कृति विषयका जानकार डा. भक्त राईको केही समयअगाडि बजारमा आएको पुस्तक हो, ‘नेपाली लोकगीतको परिचय’ । यो कृतिको आवरणमै उल्लेख छ– पूर्वी नेपालमा प्रचलित २८ प्रकारका लोकगीतहरूको विश्लेषण ।

पुस्तकको लेखकीयमा डा. राईले लेखेका छन्, “मेरो विद्यावारिधि (पीएचडी) पूर्वी नेपालमा बसोबास गर्ने किरात राई जातिमा प्रचलित लोकगीतको अध्ययनमा केन्द्रित थियो । प्रस्तुत पुस्तकमा ती गीतहरूका अतिरिक्त अन्य गीतहरू पनि थप गरिएका छन् ।...।”

पुस्तकमा संगीतकार बुलु मुकारुङले लेखेका छन्, “आफ्नो अनुहार अर्कैको ऐनाबाट हेर्ने प्रचलन आबाल, वृद्धा वा वनिता सबैको आनीबानीमा विलेपित बन्दै गइरहेको देखिन्छ । यसले हाम्रो लोकसंस्कृति, परम्परा र पहिचान कुनै दिन शून्यको पिरामिडभित्र दफन हुने चिन्ता र चासो डा. राईको सञ्चेतनाले पर्गेल्यो र लोककृति सुकीर्तिका रूपमा धारिलो भएर अर्जापियो ।”

प्रा. डा. चूडामणि बन्धुले भूमिकामा लेखेका छन्, “नेपाली लोकगीतको अध्ययन परम्पराको चर्चाले यस क्षेत्रमा अहिलेसम्म भएको प्रगति देखाएको छ । नेपाली तथा विदेशी अनुसन्धाता र विद्यार्थीहरूले नेपालका विभिन्न जातिले परम्परादेखि वहन गरेका लोकगीतका गेडाहरूलाई संकलन गरी तिनको परिचय र विश्लेषणका साथ प्रकाशमा ल्याएको तथ्यलाई डा. राईले स्पष्ट गरेका छन् ।...।”

कृतिभित्र डा. कपिल लामिछानेको भूमिका र प्रकाशकीय पनि प्रस्तुत छ । यो पुस्तकभित्र ६ अध्याय — सिद्धान्त खण्ड, विश्लेषण खण्ड, पर्व गीतहरू, बाह्रमासे गीत, संस्कार गीत र कर्म गीत–मा गरेर ४३ सांस्कृतिक आलेख एवम् दृष्टिकोण प्रस्तुत छ ।

सोनु श्रेष्ठ राईद्वारा प्रकाशित २९६ पृष्ठको यो पुस्तकको मूल्य ७००/– रुपैयाँ राखिएको छ ।

०००

श्रद्देय गुणदेव भट्टराई स्मृतिपुष्प
(स्मृतिग्रन्थ: सम्पादक— जयदेव भट्टराई)
नेपालको शैक्षिक क्षेत्रका एक प्रतिष्ठित व्यक्तित्व हुन्, गुणदेव भट्टराई । अनगिन्ती विद्यार्थीहरूलाई पढाएका उनै शिक्षक भट्टराईको स्मृतिमा प्रकाशित स्मृतिग्रन्थ हो, ‘श्रद्देय गुणदेव भट्टराई स्मृतिपुष्प’ । यसको सम्पादन गरेका छन्, उनका छोरा साहित्यिक पत्रकार जयदेव भट्टराईले ।

ग्रन्थको सम्पादकीयमा जयदेव भट्टराईले लेखेका छन्, “वि.सं. १९८० सालमा जन्मिनुभएका बुवा गुणदेव भट्टराईको वि.सं. २०८० जन्मशताब्दी वर्ष भएकोले ग्रन्थ प्रकाशनमा अलि हतारिएर अघि बढ्दा कतिपय त्रुटि भएका हुन सक्छन्, पक्कै भएको छ । कतिपय महानुभावलाई यसमा समेट्न सकिएन त्यो पनि सम्पादकको नाताले मैले गल्ती भयो भन्नैपर्छ ।...।”

यस स्मृतिपुष्पभित्र समाजका विशिष्ट व्यक्तित्वहरूद्वारा लेखिएका स्मृति आलेखहरू छन् । ग्रन्थमा अच्युतबहादुर राजभण्डारी, केदारभक्त माथेमा, गोरक्षबहादुर न्हुच्छे प्रधान, डा. तीर्थबहादुर श्रेष्ठ, डा. धु्रवचन्द्र गौतम, पी. खरेल, डा. भेषबहादुर थापा, रमा शर्मा, डा. साफल्य अमात्य, तेजेश्वरबाबु ग्वंग, प्रा. डा. वीरेन्द्रप्रसाद मिश्र, डा. राजेश गौतमलगायत व्यक्तित्वका संस्मरणहरू छन् ।

गुणदेव भट्टराईसँग सम्बन्ध भएका व्यक्ति, विद्यार्थी, परिवारका सदस्य गरेर यसभित्र ८१ रचना समाविष्ट छ ।

उदयदेव, सुरेशदेव, उज्ज्वलदेव, विजयदेव भट्टराईद्वारा प्रकाशित ३२० पृष्ठको यो स्मृतिपुष्पको मूल्य ५००/– रुपैयाँ राखिएको छ ।

०००

नग्न स्वप्न
(लघुकथासंग्रह: कृष्ण बजगाईं)
साहित्यको लघुकथा र नियात्रा विधामा निरन्तर कलम चलाउँदै आएका सर्जक हुन्, कृष्ण बजगाईं । केही समयअगाडि प्रकाशनमा आएको उनको लघुकथाकृति हो, ‘नग्न स्वप्न’ । उनका यसअघि ६ लघुकथाकृति प्रकाशित छन् । कथाकृति, नियात्रा, हाइकु, बालकथाका पुस्तकहरू पनि प्रकाशित छन् ।

बेलायत बस्दै आएका बजगाईंले आत्मकथ्यमा लेखेका छन्, “...लघुकथा लेखनको औपचारिक यात्रापश्चात् पाँचवटा लघुकथासंग्रह प्रकाशित भइसकेपछि फेरि छैटौँ लघुकथासंग्रह ‘नग्न स्वप्न’ लिएर आएको छु । यस लघुकथासंग्रहमा स्वदेश र विदेशका सन्दर्भहरू लघुकथा बनेर आएका छन् ।’

यो संग्रहभित्र बजगाईंका ६१ लघुकथा समेटिएको छ ।

भुँडीपुराण प्रकाशनद्वारा प्रकाशित १२४ पृष्ठको यो पुस्तकको मूल्य २५०/– रुपैयाँ राखिएको छ ।

०००

वन, समुदाय र म 
(संघर्ष गाथा: डा. जगदीशचन्द्र बराल)
सरकारी सेवामा रहेर वनक्षेत्रमा लामो समय काम गरेका डा. जगदीशचन्द्र बरालले जब सेवाबाट अवकाश लिए, त्यसपछि उनमा आफ्नो जीवनको संघर्षगाथा लेख्ने हुटहुटी जाग्यो । त्यही हुटहुटीले कालान्तरमा पुस्तकको स्वरूप धारण ग¥यो, ‘वन, समुदाय र म’ ।

डा. बरालले पुस्तकको प्रारम्भमा ‘प्रसव वेदना’ (लेवरपेन)मा लेखेका छन्, “कुन्नि कहाँबाट आयो थाहा छैन । विगत एकडेढ दशकदेखि मेरो दिमागमा एक कुराले सवार गरेकै छ । मैले भन्ने गरेको छु, हामी यस जगत्मा जन्मेपछि आफ्ना अनुभव र भोगाइलाई सांकेतिक रूपमै भए पनि भावी पिँढीका लागि कोसेली छोडेर जानुपर्छ ।...।”

प्रकाशकीयमा लेखनकुन्जका अध्यक्ष कमल ढकालले लेखेका छन्, “...आफू धुवाँ हुनुअघि आफ्नो जीवनको कर्मका कथा माटोमा नमिलून् भनेर उहाँले यो लेख्नुभयो । हामीले प्रकाशन गर्न पायौँ र यहाँहरूको हातमा आइपुगेको यो अप्रतिम क्षण बनेको छ ।”

अग्रज पत्रकार भैरव रिसालले आफ्नो मन्तव्यमा लेखेका छन्, “पहाडको सफलताबाट हौसिएका जगदीशले कालान्तरमा तराईका सिरहा र मोरङमा समेत तराई सुहाउँदो वन सम्वद्र्धन प्रणाली विकास गर्न खोजेकै हुन् । सरकारी तवरबाट जिम्मेवारी नदिँदा त्यसतर्फ सोचेअनुसारको प्रगति नहुनुचाहिँ दुःखद पक्ष हो ।”

डा. द्वारिकानाथ ढुंगेलले भूमिकामा लेखेका छन्, “किताबका पाना पल्टाउँदै जाँदा लेखकमा केही गरूँ भन्ने हुटहुटीले निरन्तरता पाइरहेको, दीनदुःखीप्रति दया भाव रहेको, मानवीय संवेदना, ध्यान, योग र आध्यात्मप्रति अभिरुचि रहेको तथा आफ्नो जन्मथलोप्रतिको दायित्वबोध रहेछ भन्ने कुरा पढन पाइन्छ वा ज्ञात हुन्छ ।...।”

वनविज्ञ डा. बरालको यो कृतिभित्र १५ अध्यायमा उनको जीवनका कथा, उनले गरेका संघर्षका गाथाहरू समेटिएका छन् ।

सिमल बुक पब्लिकेसन्सद्वारा प्रकाशित ३५२ पृष्ठको यो पुस्तकको मूल्य ५००/– रुपैयाँ राखिएको छ ।

०००

आगोको बीउ
(निबन्धसंग्रह: युवराज नयाँघरे)
निबन्धकार युवराज नयाँघरे नेपाली निबन्ध र नियात्रा साहित्यमा चर्चित नाम हो । उनको एउटा निबन्धकृतिले प्रतिष्ठित मदन पुरस्कार समेत प्राप्त गरिसकेको छ । १८ निबन्ध र नियात्राका पुस्तकहरू प्रकाशित भइसकेका छन् । केही समयअगाडि सार्वजनिक उनको निबन्धकृति हो, ‘आगोको बीउ’ ।

निबन्धकृतिको प्रकाशकीयमा लेखिएको छ, “पछिल्लो समय कम लेखिने भनिएको निबन्धको प्रकाशन र पाठकीय रुझान अलिक बेग्लै, भिन्नै र अलग्गै भएको हाम्रो ठहर छ । भाषिक चमत्कार, वैचारिक सघनता, शैल्पिक उद्भट्पन र उम्दा कलाको अथाह प्रयोग गरिने निबन्धलाई साहित्यको प्राण विधा पनि मानिन्छ ।...।”

समालोचक तथा निबन्धकार कुमारी लामाले कृतिभित्र ‘बिब्ल्याँटो समयमा चाल्नी चिन्तन’ शीर्षकको मन्तव्यमा लेखेकी छन्, “काव्यिक तर सटीक टुंग्याइले यस निबन्धको ओजलाई बढाएको छ । हुन त यही निबन्ध कतिपयलाई एकदमै सामान्य पनि लाग्न सक्ला । त्यो पाठकको बुझाइ र विश्लेषणको भिन्न क्षेत्र हो । यस संग्रहमा समेटिएका विविध विषय र बान्कीका निबन्धहरू पक्कै विभिन्न खाले पाठकका निम्ति सुस्वाद्य हुन्छन् ।”

यो कृतिभित्र नयाँघरेका २६ निबन्ध समावेश छ ।

रत्न पुस्तक भण्डारद्वारा प्रकाशित २७० पृष्ठको यो निबन्धकृतिको मूल्य ५९५/– रुपैयाँ राखिएको छ ।
 

NIBLNIBL
प्रकाशित मिति: शनिबार, मंसिर १५, २०८१  ०८:४६
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Everest BankEverest Bank
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
SubisuSubisu
Hamro patroHamro patro