site stats
बाह्रखरी :: Baahrakhari
कला
Global Ime bankGlobal Ime bank
नेपाली क्रिकेटलाई बुस्टअप गर्दै यी कलाकार

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) आजदेखि सुरु हुँदै छ । लिगमा आठ टिमले प्रतिस्पर्धा गर्दै छन् । सात प्रदेशका र काठमाडौंको एकसहित आठ टिम सहभागी हुन लागेका हुन् ।

विराटनगर किंग्स, जनकपुर बोल्ट्स, काठमाडौं गुर्खाज, चितवन राइनोज, पोखरा एभेन्जर्स, कर्णाली याक्स, लुम्बिनी लायन्स र सुदूरपश्चिम रोयल्स लिगमा सहभागी छन् । 

लिगको घोषणा भएदेखि नै खेलप्रेमीको ठूलो चासो छ । खेलप्रेमी र शुभेच्छुकको चासो बढ्दै जाँदा लिगमा सहभागी टिमले आमसर्वसाधारणको ध्यान आफूतर्फ खिच्न कलाकार अनुबन्ध गरेका छन् । स्टारडम भएका कलाकारलाई टिमले आफूसँग जोडेका छन् ।

Dabur Nepal
NIC Asia

कतिपय कलाकारलाई ब्रान्ड एम्बास्डर र केहीलाई फेस अफ किङ तथा भ्वाइस अफ टिमका रूपमा टिमले कलाकारलाई अनुबन्ध गरेका छन् । 

कर्णाली याक्सले स्वस्तिमा खड्कालाई ब्रान्ड एम्बास्डरमा अनुबन्ध गरेको छ । स्वस्तिमा हाल नेपाली चलचित्र उद्योगमा पहिलाे रोजाइकी नायिका हुन् । ‘बुलबुल’बाट आफूलाई अब्बल नायिकामा दर्ज गरेकी उनले ‘चिसो मान्छे’बाट थप उचाइ लिएकी थिइन् ।

‘बुलबुल’बाट उनले राष्ट्रिय अवार्ड प्राप्त गरेकी थिइन् । उनले केही दिनअगाडि मात्र दोस्रोपटक राष्ट्रिय अवार्ड उचालेकी छन् । ‘दिमाग खराब’बाट उनले उत्कृष्ट अभिनेत्रीको अवार्ड हात पारेकी हुन् ।

लुम्बिनी लायन्सले नायक राजेश हमाललाई ब्रान्ड एम्बास्डर बनाएको छ । राजेश हमाल नेपाली चलचित्र उद्योगका निम्ति एक गर्विलो नाम हो । ठूलो संख्यामा फ्यान फलोइङ रहेका उनी जहाँ उपस्थित हुन्छन्, त्यहाँ आकर्षणको केन्द्र बन्छन् ।

चलचित्रमा काम नगरे पनि राजेश थुप्रै प्रोडक्टको ब्रान्ड एम्बास्डर हुँदै आएका छन् । आधा दशकभन्दा लामो समयदेखि उनले फिचर फिल्ममा काम गरेका छैनन् । यद्यपि, उनले केही समयअगाडि ‘नरसिंहा अवतार’को छायांकन सकाएका छन् । लामो अन्तरालपछि राजेशको यो चलचित्र अबको केही महिनापछि रिलिज हुनेछ ।

विराटनगर किंग्सले अभिनेता दयाहाङ राईलाई ब्रान्ड एम्बास्सडर नियुक्त गरेको छ । भोजपुरमा जन्मिएका दयाहाङ हालका पहिलो रोजाइका अभिनेता हुन् ।

राम्रो फ्यान फलोइङ भएका दयाहाङको ‘लुट’ र ‘कबड्डी’ सिरिज हिट छ । चरित्रको गहिराइमा गएर अभिनय गर्ने अभिनेताको छवि बनाएका उनका चलचित्रको दर्शकमा राम्रो प्रतीक्षा हुने गरेको छ ।

विराटनगर किंग्सले नै रचना रिमाललाई पनि अनुबन्ध गरेको छ । रचना यो टिमको फेस अफ किंग्स हुन् । सुगम संगीतको विधामा पछिल्लो पुस्तामा पहिलो रोजाइमा रहेकी उनी सामाजिक सञ्जालमा राम्रो रेस्पोन्स पाउने गायिका हुन् ।

खेलप्रति विशेष रुचि राख्ने रचना काठमाडौंमा हुँदा क्रिकेटका अधिकांश म्याच छुटाउँदिनन् । क्रिकेटरलाई प्रोत्साहन गर्न उनी म्याचका तस्बिर सामाजिक सञ्जालमा पोस्ट गरिरहन्छिन् ।

कलाकारलाई विराटनगर किंग्सले निकै महत्त्व दिएको छ । कलाकारलाई दिएको स्थान र अनुबन्ध हेर्दा त्यो प्रस्ट हुन्छ ।

र्‍यापर कुशल पोखरेललाई विराटनगर किंग्सले भ्वाइस अफ विराटनगर भनेर अनुबन्ध गरेको छ । विराटनगर किंग्सको एन्थम सङ पनि कुशलले गाएका हुन् । सामाजिक सञ्जालमा यो गीतले चर्चा पाइरहेको छ ।

कुशलको र्‍याप ‘पैसा’ लोकप्रिय छ । ‘पैसा’ भारतको वेबसिरिज ‘ताजा खबर’ले टाइटल सङको गीतमा प्रयोग गरेको छ ।

पोखरा एभेन्जर्सले कलाकार सन्दीप क्षेत्रीलाई अनुबन्ध गरेको छ । सन्दीपलाई ब्रान्ड एम्बास्डरका रूपमा विराटनगर किंग्सले अनुबन्ध गरेको हो ।

सन्दीप टेलिभिजन प्रस्तोतासँगै कलाकार पनि हुन् । उनले थुप्रै चलचित्रमा काम गरेका छन् । गएको दसैँमा रिलिज भएको चलचित्र ‘ज्वाइँ साब’मा पनि उनले अभिनय गरेका छन् । उनले कमेडियनका रूपमा स्टेज प्रोगाममा पनि राम्रो स्थान पाउँदै आएका छन् ।

नेपाली क्रिकेट टिमले ट्वान्टी–२० विश्वकप खेल्न थालेयता नेपालमा यसको क्रेज बढ्दै गएको छ । 

विराटनगर किंग्सको मार्की खेलाडीमा सन्दीप लामिछाने छन् । जनकपुर बोल्ट्सको मार्की खेलाडी आसिफ शेख, काठमाडौं गुर्खाजको करण केसी, चितवन राइनोजको मार्की खेलाडी कुशल मल्ल हुन् । पोखरा एभेन्जर्सको मार्की खेलाडी कुशल भुर्तेल, कर्णाली याक्सको सोमपाल कामी, लुम्बिनी लायन्समा रोहित पौडेल मार्की खेलाडी छन् । सुदूरपश्चिम रोयल्सको मार्की खेलाडी दीपेन्द्रसिंह ऐरी हुन् ।

लिगका खेल, टिम र खेलाडीलाई कलाकारले हौसला प्रदान गर्नेछन् । सामाजिक सञ्जाल र खेलस्थलमा पुगेर कलाकारले आफ्नो टिमलाई बुस्टअप गर्नेछन् ।

Laminar Tiles Banner adLaminar Tiles Banner ad
NIBLNIBL
प्रकाशित मिति: शनिबार, मंसिर १५, २०८१  ०८:५०
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
Hamro patroHamro patro