site stats
बाह्रखरी :: Baahrakhari
खेल
Global Ime bankGlobal Ime bank
नेपाली क्रिकेटलाई सहयोगबारे आईसीसी अध्यक्ष र सदस्यसचिवबीच छलफल

काठमाडौं । राष्ट्रिय खेलकुद परिषद् (राखेप)का सदस्यसचिव टंकलाल घिसिङ र अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी)का अध्यक्ष ग्रेग बारक्लेबीच मंगलबार भेटवार्ता भएको छ । त्यसक्रममा दुई पक्षबीच नेपाली क्रिकेटको अवस्था, सम्भावना र आईसीसीले गर्न सक्ने सहयोगलगायत विषयमा छलफल गरिएको थियो ।

भेटमा सदस्यसचिव घिसिङले एसोसिएट राष्ट्रमा ट्वान्टी–२० क्रिकेटमा नेपालले विगतमा कायम गरेको शीर्ष स्थानलाई आउँदा दिनमा कायम राख्न प्रयासरत रहेको बताए । पूर्वाधार विकासमा राज्यले चासो दिएर लगानी गरिरहेको उनले उल्लेख गरे ।

सदस्यसचिव घिसिङले नेपाल सरकारले मूलपानी क्रिकेट रंगशाला, चितवनको गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला र मोरङको बैजनाथपुरस्थित गिरिजाप्रसाद कोइराला क्रिकेट रंगशालालाई राष्ट्रिय गौरवको आयोजनामा समावेश गरेको जानकारी गराए ।

नेपाल र बंगलादेशले सन् २०२७ मा संयुक्त रूपमा आयोजना गर्ने यू–१९ महिला ट्वान्टी–२० विश्वकपका निम्ति आईसीसीबाट पनि सहयोगका लागि उनले आग्रह गरे । विश्वकप आयोजनाका निम्ति स्वीकृति दिएकामा उनले आईसीसीलाई धन्यवाद दिए ।

“अमेरिका र वेस्ट इन्डिजले संयुक्त रूपमा आयोजना गर्ने विश्वकप पुरुष ट्वान्टी–२० प्रतियोगिताका लागि आईसीसीले राम्रै सहयोग गरेको मैले जानकारी पाएको छु । हामीले पनि आईसीसीबाट यू–१९ विश्वकपका लागि त्यस्तै सहयोगको अपेक्षा गरेका छौँ । हाम्रो तर्फबाट पनि तयारीमा कुनै कसर बाँकी राख्दैनौँ,” सदस्यसचिव घिसिङले भने, “विश्वकप आयोजनाका लागि स्वीकृति दिएकोमा आईसीसीलाई धन्यवाद ।”

नेपालमा क्रिकेटको अन्तर्राष्ट्रिय प्रतियोगिता हुँदा दर्शकको उपस्थिति उत्साहजनक रहेको उनले स्मरण गराए । उनले धेरैभन्दा धेरै अन्तर्राष्ट्रिय प्रतियोगिता नेपालमा आयोजना गर्ने वातारण बनाइदिन आग्रह गरे । नेपाललाई प्राविधिक पक्ष, खेल सामग्री, हाई पर्फमेन्स तालिम केन्द्र स्थापनालगायत विषयमा सहयोगका निम्ति पनि उनले आग्रह गरे ।

अध्यक्ष बारक्लेले एसोसिएट राष्ट्रमा नेपाल फेरि नम्बर एक बन्ने सम्भावना रहेको बताए । सीमित साधनस्रोतका बाबजुद नेपाली क्रिकेटले गरेको प्रगति प्रशंसनीय रहेको उनले उल्लेख गरे । अध्यक्ष बारक्लेले पूर्वाधारका विषयमा चासो व्यक्त गर्दै नेपाली क्रिकेटको विकास र विस्तारमा सक्दो सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरे ।

आईसीसीका अध्यक्ष नेपाल आएको यो पहिलोपटक हो । भेटमा राखेपका सदस्य प्रकाशकुमार कुसारी, नेपाल क्रिकेट संघ (क्यान)का अध्यक्ष चतुरबहादुर चन्द, उपाध्यक्ष रोशन सिंह, सचिव पारस खड्कालगायत अधिकारीको उपस्थिति थियो ।

प्रकाशित मिति: मंगलबार, चैत ६, २०८०  १७:०९
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
MPG Admark South Asian UniversityMPG Admark South Asian University
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro