site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
मन्त्री बनेको ९ दिन भयो, मन्त्रालयमा हाजिर तीन दिनमात्रै !
फाइल तस्बिर ।

काठमाडौं । उपेन्द्र यादवले स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको जिम्मेवारी पाएको ९ दिन भयो । तर, उनी तीन दिनमात्रै मन्त्रालयमा हाजिर भएका छन् । गएको फागुन २७ गते उपप्रधान तथा स्वास्थ्यमन्त्री नियुक्त भएका यादवले अहिलेसम्म सचिवालयसमेत गठन गरेका छैनन् ।

उनी बाहिरै व्यस्त भएपछि हालसम्म मन्त्रालय तथा मातहतका निकायहरूबाट मन्त्रीसमक्ष औपचारिक ब्रिफिङ नभएको एक अधिकारीले बताए ।

जनता समाजवादी पार्टी (जसपा)का अध्यक्षसमेत रहेका मन्त्री यादव प्रदेशस्तरीय प्रशिक्षक प्रशिक्षणमा सहभागी भएर सोमबारमात्र काठमाडौं फर्किएका छन् । चैत २ गते मधेस प्रदेश गएका यादव फागुन २९, ३० र चैत १ गतेमात्र मन्त्रालयमा उपस्थित भएका थिए ।

जसपाको प्रशिक्षण कार्यक्रम चैत ३ देखि ५ गतेसम्म राखिएको थियो । चैत २ गते भने मन्त्री यादव प्रादेशिक अस्पताल कलैयामा सम्मान थाप्न बारा पुगेका थिए । सोही दिन उनी बाराको महागढीमाइमा एक महायज्ञको उद्घाटनमा प्रमुख अतिथि बनेर पुगे ।

त्यसपछिको तीनदिने प्रशिक्षण कार्यक्रम भने दुई महिनाअघि नै तय भएकाले अध्यक्षको हैसियतले यादव बारा पुगेको उनका स्वकीय सचिव महेश चौरासिया बताउँछन् ।

upendra-1710781111.jpg
 

पद बहालीको दिनबाहेक मन्त्रीसँग कर्मचारीहरूको औपचारिक भेटघाट नै भएको छैन । बधाइ तथा विभिन्न काम लिएर मन्त्रालय पुग्ने सेवाग्राहीका लागि सम्पर्क व्यक्तिसमेत नभएको देखिन्छ । कर्मचारीको तर्फबाट मन्त्रीको सचिवालयमा सहसचिव भवनाथ खतिवडालाई जिम्मेवारी दिइएको छ । 

तर, मन्त्रीले निजी सचिवालय गठन गरेका छैनन् । राज्यमन्त्रीसमेत आफ्नै पार्टीबाट नियुक्त हुने निश्चित भएपछि दुवैको सिफारिसमा सचिवालय गठन गर्ने मुडमा मन्त्री रहेको मन्त्रालयका अधिकारीहरू बताउँछन् ।

यता मन्त्रालयमा भने यतिखेर आर्थिक वर्ष २०८१/०८२ को बजेटका निम्ति छलफल जारी छ । सबै निकायले गृहकार्य गरी बजेट सिलिङको खाका तयार पारेको तर अर्थ मन्त्रालयसम्म छलफलका लागि पुग्न बाँकी रहेको मन्त्रालयका एक उच्च अधिकारीले बताए । 

स्वास्थ्य सेवामा रहेको जनशक्ति अभाव परिपूर्ति स्वास्थ्यमन्त्रीका निम्ति पहिलो चुनौती बनेको छ । यसअघिका स्वास्थ्यमन्त्री मोहनबहादुर बस्नेतले आफ्नो कार्यकालमा १० हजार जनशक्ति थप गर्ने अडान लिए पनि अर्थ मन्त्रालयबाट सो प्रस्ताव फिर्ता गरिएको थियो । 

यस्तै, आधारभूत अस्पतालहरूको सुस्त निर्माणकार्य र तिनको सञ्चालनमा देखिएका समस्याको सम्बोधन पनि मन्त्रालयको अर्को चुनौतीको रूपमा छ । 

राष्ट्रिय स्वास्थ्य वित्त रणनीति २०८०/२०९० मा स्वास्थ्यमा कुल बजेटको कम्तीमा १० प्रतिशत छुट्याउनुपर्ने उल्लेख छ । तर, चालु आर्थिक वर्ष पनि मुस्किलले स्वास्थ्यको बजेट सात प्रतिशत मात्रै पुगेको थियो । 

upendra-3-1710781110.jpg
 

यादव दोस्रोपटक स्वास्थ्य तथा जनसंख्यामन्त्रीको जिम्मेवारीमा फर्किएका हुन् । यसअघि २०७५ जेठ १८ देखि २०७६ मंसिर ४ गतेसम्म उनले सो मन्त्रालयको जिम्मेवारी सम्हालेका थिए ।

तर, यसअघिको डेढ वर्षे कार्यकालमा अपेक्षाकृत काम गर्न नसकेका मन्त्रीमाथि स्वास्थ्य क्षेत्रका विभिन्न चुनौतीको चाङ छ । स्वास्थ्यमा संघीयता अनुरूपको स्वास्थ्य सेवा प्रणाली विस्तार नभएको, केन्द्रीय अस्पतालहरूको सेवा खुम्चिँदै गएको जस्ता आम नागरिकसँग जोडिएका समस्या खड्किएका छन् । 

यस्तो संक्रमणकालीन अवस्थामा बनेका स्वास्थ्यमन्त्रीको आगामी कदमलाई सरोकारवालाहरूबाट समेत नजिकबाट नियालिएको छ ।

प्रकाशित मिति: मंगलबार, चैत ६, २०८०  ०६:५४
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
MPG Admark South Asian UniversityMPG Admark South Asian University
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro