site stats
बाह्रखरी :: Baahrakhari
कला
हरिवंश भन्छन्– सिनेमा हिट हुन हरेक सिनमा क्लाइमेक्स चाहिन्छ

काठमाडौं । कलाकार हरिवंश आचार्यले चलचित्र राम्रो हुन हरेक सिनमा क्लाइमेक्स हुनुपर्ने बताएका छन् । तलचित्रमा एउटामात्रै क्लाइमेक्स भएर नहुने उनको भनाइ छ । 

चलचित्र ‘महाजात्रा’ले काठमाडौंमा आज आयोजना गरेको पत्रकार सम्मेलनमा उनले भने “सिनेमाको अन्तिममा एउटा क्लाइमेक्स त हुन्छ नै त्यसबाहेक हरेक सिनमा नै क्लाइमेक्स हुनुपर्छ ।” 

हरिवंशले ‘महाजात्रा’का हरेक सिनमा क्लाइमेक्स भएको दाबी गरेका छन् । “म सेटमा बसेर विपीन कार्कीको सिन पनि हेरिरहेको हुन्थेँ । रवीन्द्र बानियाँ र रवीन्द्र झाको सिन पनि हेरिरहेको हुन्थेँ,” हरिवंशले भने, “म प्रत्येक कलाकारको प्रत्येक सिनमा क्लाइमेक्स देखिरहेको हुन्थेँ ।” 

Argakhachi Cement Island Ad

‘जात्रा’को टिम आफ्नो घर भएको भन्दै यो टिमसँग काम गर्न कहिल्यै पनि डर नलाग्ने बताए । आफूले ‘महाजात्रा’को स्क्रिप्ट पनि नहेरी काम गर्ने वचन दिएको उनको भनाइ छ । “यो सिनेमामा मलाई खेलाउँछन् कि खेलाउँदैनन् भन्ने मात्रै थियो । राम्रो नभएको भए खेलाउँदै खेलाउँदैन थिए,” हरिवंश भन्छन्, “यो टिमले गरेको काम राम्रो भएको प्रमाणित भइसकेको छ ।” 

महसञ्चारमा लामो समय काम गरेर नेपाली चलचित्रमा आएका निर्देशक प्रदीप भट्टराईप्रति टिप्पणी गर्दै उनले भने, “उमेरमा हिसाबले म परिपक्व हुँला तर चलचित्रको कामका हिसाबले प्रदीप परिपक्व हो । रवीन्द्र सिंह बानियाँ, दीपेश खत्री ‘म्याक्स’सहित उहाँहरूको टिम परिपक्व छ ।” उनले प्रदीप महसञ्चारमा बिरालो भएर प्रवेश गरेर बाघ बनेर निस्किएको टिप्पणी गरे ।

नेपाली चलचित्रले विश्वबजारमा प्रवेश गर्न थालिसकेको भन्दै विश्वका धेरै देशमा ‘महाजात्रा’को पोस्टर आफूले देखिरहेको उनले बताए । “हाम्रा नेपाली चलचित्र आज विश्वबजारमा नेपालीले मात्रै हेर्लान् । तर भोलि विदेशीले पनि हेर्नेछन् । त्यो दिन टाढा छैन । हामीले अन्तर्राष्ट्रिय चलचित्रसँग प्रतिस्पर्धा गर्नसक्ने चलचित्र हामीले बनाइसकेका छौँ, डब गर्न मात्रै बाँकी छ । शबटाइटल गरेर विदेशीलाई देखाउन सक्ने दिन चाँडै आउँदै छ ।” 

‘महाजात्रा’ निर्देशक प्रदीप भट्टराईले ‘जात्रा’ र ‘जात्रैजात्रा’भन्दा ‘महाजात्रा’ धेरै फरक रहेको बताउँछन् । नाम जे राख्दा पनि हुने अवस्थामा स्ट्याब्लिस क्यारेक्टर आफैँसँग रहेकाले ‘महाजात्रा’ नाम राखेको उनको भनाइ छ । “अघिल्ला दुईजस्तै यो पनि त्यस्तै छ भनेर आंकलन गरियो भने त्यो गलत हुन्छ । सिक्वेल भएकाले कलर त आउँछ, त्यो संसारभरका सिक्वेलमा देखिन्छ,” उनी भन्छन्, “सिक्वेल हुँदाहुँदै पनि यो सिनेमामा नयाँ कुरा छ । हामीले पनि डराइडराइ नयाँ कुरा गर्नुपर्छ भनेर यसमा नयाँ काम गरेका छौँ ।” 

उनले ‘महाजात्रा’ पोलिटिकल सिनेमा भने नभएको स्पष्ट पारे । “पोलिटिकल सिनेमा यो हुँदै होइन । हेर्दा कतै पनि पोलिटिकल सिनेमा हो भनेर देखिनु हुँदैन भनेर हामी सचेत थियौँ,” उनले भने, “पोलिटिकल सिनेमा नेपालमा चल्दैन । निर्मातासमेत रहनु भएका रवीन्द्रजी र दीपेश खत्री बजार क्यालकुलेट गरेर कस्तो सिनेमा चल्छ र कस्तो चल्दैन भनेर सिनेमा बनाउनु हुन्छ । उहाँहरूलाई अहिले नेपालमा पोलिटिकल सिनेमा चल्दैन भन्ने राम्रोसँग थाहा छ ।” 

पछिल्लो समय चौथो सिक्वेल बनाउने योजनामा तेस्रो चलचित्र नै बिगार्ने चलन हाबी भएको निर्माता तथा कलाकार रवीन्द्रसिंह बानियाँले बताए । त्यसैले आफूहरूले कहिले पनि अर्को सिक्वेलको तयारी सुरुमै नगर्ने उनको भनाइ छ । “अर्को सिक्वेल बनाउनुपर्छ भन्ने प्रेसरमा हामी कहिल्यै पनि परेनौँ । जात्रा बनाउँदा पनि यो सोचेका थिएनौँ । अहिले पनि सोचेका छैनौँ,” रवीन्द्र भन्छन्, “यसको मतलब हामी अब सिक्वेल नै बनाउँदैनौँ भन्ने प्रतिबद्धता अहिले नै जनाउन चाहँदैनौँ । बनाउन पनि सकिएला । त्यो भोलिको कुरा भयो । तर अहिले त्यसबारे हामीले सोचेका छैनौँ । अहिले हाम्रो सोचाइ एउटै जानरामा काम भयो अब बाहिर निष्किनुपर्छ भन्ने हो ।” 

आफूहरू सर्जकमात्रै नभएर व्यापारी पनि भएको तर दर्शकलाई केन्द्रमा राखेर चलचित्र बनाइरहेको उनले बताएका छन् । अर्को सिनेमा बनाउन अहिलेको चलचित्रबाट पैसा कमाउनु पर्ने भएकाले आफूहरू व्यापारी पनि भएको उनको स्पष्टोक्ति छ । “हामी एउटै बक्सभित्र बसिरहेका छौँ । नयाँ चरित्र खोजेर नयाँ संसार क्रिएट गर्न एउटै बक्सभित्र बसेर सम्भव छैन । त्यसैले अब अरु नयाँ काम गर्ने सोचमा छौँ । यति चाहिँ म अहिले नै भन्नसक्छु, अब महाजात्रा चाहिँ बन्दैन ।” 

निर्दयी बजारले बिक्ने चिज बनाउनुपर्छ भनेर दबाब दिने गरेको । तर त्यसको आसपास नै बसेर टिक्ने सिनेमा बनाइरहेको र आउँदा दिनमा पनि यसको वरिपरि बसेर काम गर्ने उनको भनाइ छ । 

निर्देशक भट्टराई आफ्नो टिमले ‘जात्रा’कै ब्याज खाइरहेको स्वीकार गर्छन् । “हामीले जात्राकै ब्याज खाइरहेका छौँ भन्न मिल्छ । मिटरब्याज चाहिँ खान पाइएन तर नियमभित्र बसेर सस्तो ब्याज लिन पाइन्छ होला,” उनले भने, “त्यही ब्याज हामी खाइरहेका छौँ । यसबाट चाँडै बाहिर आउने योजनामा छौँ ।”  

प्रकाशित मिति: सोमबार, चैत ५, २०८०  १६:१५
प्रतिक्रिया दिनुहोस्